२०८०, १६ मंसिर शनिबार

नेता, गणतन्त्र र हाम्रो गन्तव्य

जितबहादुर शाह

रामायणका अनुसार, राजा दशरथका छोरा रामसहित चारै भाइको शिक्षा ऋषि बशिष्ठले पूरा गराएपछि शिक्षार्थीहरुको विदाइको दिन निश्चित गरिन्छ । राजा दशरथको तर्फबाट महामन्त्री सुमन्त रामसहितका राजकुमारहरुलाइ लिन राजकुमारहरुका लागि आवश्यक पर्ने भेषभूषाका साथै गुरुदक्षिणा स्वरुप अनेकौं बहुमूल्य बस्तुहरु लिएर गुरु बशिष्ठ ऋषिको आश्रममा जान्छन् । महामन्त्रीले गुरुदक्षिणा स्वीकार गर्न ऋषिलाई आग्रह गर्छन । गुरु बशिष्ठले उक्त दक्षिणा अस्वीकार गर्दै भन्छन् ‘मैले राजाबाट यसरी दक्षिणा लिन मिल्दैन राजाले पठाएको दक्षिणा राजालाई नै फिर्ता गरिदिनु ।’ महामन्त्री सुमन्तले नयाँ प्रस्ताव राख्दै भन्छन्, ‘ यो बहुमूल्य सामान आश्रमको कोषमा संग्रह गरी राख्नुहोस् ।’ बशिष्ठ गुरु रिसाउदै भन्छन्, ‘राजा, मन्त्री र गुरुले धन सङ्ग्रह गर्नुहुन्न । राजाले धन सङ्ग्रह गरेमा जनता गरीव हुन्छन् र राष्ट्र नै गरीव हुन्छ । मन्त्रीले धन संग्रह गरेमा भ्रष्टाचार हुन थाल्छ र अराजकता बढ्छ । गुरुले धन संग्रह गर्न थालेमा शिक्षाको मूल्य र मान्यतामा ह्रास आउछ र मुर्खहरुको साम्राज्य फैलिन्छ ।’
हाम्रा नेताहरु कहिलेकाही भावावेशमा आएर रामराज्यका कुरा गर्दछन् । सुखशान्ति र समृद्धिले भरिएको राज्यको परिकल्पना गर्ने क्रममा उपमा दिनु परयो भने विम्वको रुपमा रामराज्य शब्दको प्रयोग गर्दछन् । तथापि त्यो शब्दको प्रयोग मात्र प्रयोगमा सीमित भएको छ । देश रामराज्यमा परिणत हुने छाँट देखिदैन । छाँट देखिनका लागि बाटो त्यही हिड्नु परयो जुन बाटो रामराज्यका राजा, नेता र मन्त्रीहरु हिडेका थिए । पद्धति त्यही हुनु परयो जुन पद्धतिलाई पछयाउने काम रामराज्यमा गरिएको थियो । गुरु वशिष्ठले जे नगर्ने भनेका थिए, आज त्यही भइरहेको छ । गणतन्त्र आएपछि त्यो क्रम झन बढेको छ । नेताहरु धन थुपार्नमा ब्यस्त छन् । भ्रष्टाचार बढ्दो छ । यसको असर आम नागरिकलाई परिरहेको छ । बैदेशिक रोजगारको शरणमा नपर्ने हो भने विहानबेलुका चुलोमा आगो नबल्ने स्थिति छ । जनता र नेताहरुको पृष्ठभूमि आरम्भमा एउटै हुने गर्दछ । एउटै भएकैले जनताले आफू जस्तैबाट ‘हाम्रा कुरा बुझेको छ, हाम्रो निम्ति केही गर्ला’ भनेर एकाधजनालाई नेता बनाउछन् । तथापि नेता भइसकेपछि नेता र जनताको स्तर फरक पर्छ । नेता करोडको गाडी चढ्न थालेपछि विचरा जनता त्यहाँसम्म के गरी पुग्ने ? जनता र नेता सवैको साझा हक लाग्ने देशको ढुकुटी यस्तै यस्तै विलासितामा नेताहरुले रित्याउन थालेपछि देश रामराज्य हओस पनि कसरी ?
गणतन्त्र भनेको जनताहरुको इच्छा र आवश्यकता अनुसार चल्ने राजनीतिक शासन ब्यवस्था हो । तथापि हामीले ल्याएको गणतन्त्र ऋषि धमलाको जनता जान्न चाहान्छन भन्ने कार्यक्रम जस्तै भयो । कुराभरि आफ्ना, नाम मात्र जनताको । काम आफ्नो मनभरि गुम्सिएका कुण्ठा र इष्र्यालाई साम्य पार्नका लागि गर्ने, कुराभरि जनताका भावनाअनुसार गरेको भनेर दावी गर्ने । त्यसैले पनि नागरिकहरु दिक्क हुदै एउटा राजालाई फालेर धेरै राजाहरुलाई सिंहासनमा बसालिएछ भन्ने कुरा चौतारो र चिया पसलमा गर्दैछन् । स्तर फरक परेपछि जनताका आवाज पनि नसुन्दा रहेछन् नेताहरु । जनताका आवाजहरुको नक्कल समेत नेताकै अघिपछि लाग्नेहरुले गर्दा रहेछन् । विशेषज्ञहरुको भूमिका समेत तिनै अघिपछि लाग्नेहरुले नै निर्वाह गर्दा रहेछन् । वास्तविक विशेषज्ञहरु त यहाँ बस्ने अनुकूल वातावरण नभएको भन्दै विदेशतिरै हानिदा रहेछन् । रामराज्यमा रामका विरुद्धमा टिकाटिप्पणी गर्ने धोविजस्ताका कुरा सुनेर राजाले निर्णय गर्दथे । यहाँ त टिक्काटिप्पणीको नाममा एक अक्षर भेटियो भने सातपुस्तासम्म अनिष्ठ हुन्छ ।
गणतन्त्र ल्याउने क्रममा गोली खाएका शहिदका सन्तानहरुले अलिकति पनि खुशीको श्वास फेर्न पाएका छैनन् । ती मध्ये धेरै जसो त खाडी मुलुकहरुमा पसिना बगाएर विहानबेलुकाको छाक जुटाइरहेका छन् । गणतन्त्र ल्याउने क्रममा घाइते भएकाहरु अहिले पनि शरीरका विभिन्न अङ्गमा त्यत्तिबेलाकै राज्यसत्ताको गोली बोकेर अहिलेको राज्यसत्तालाई नियालिरहेका छन् । अप्रेसन गरेर गोली निकाल्ने बारेमा कुरा गरौं भन्दा करोडको गाडी चढेर हुइकिने नेताले समय दिदैनन् र हुदैन पनि भन्दैनन् । नागरिकहरु भन्दैछन्, मान्छे गतिला भए भने शासन व्यवस्था जस्तो भएपनि राम्रो हुँदोरहेछ । असल कलाकारको हातमा विग्रिएको हार्मोनियम हातमा प¥यो भनेपनि राम्रोसँग बजेजस्तै । यहाँ त गतिलो भनिएको शासन व्यवस्था अगतिलाहरुको हातमा परेजस्तै भयो । बादरको हातमा नरिवल जस्तै । जतिबेला पनि यो गुट र उ गुट भन्दै राजनीति गर्नेहरुले देश सक्लान जस्तो भइसक्यो । मलाई त कहिल्यै पनि यस्तो लाग्दैन कि दलभित्रका पनि गुट र व्यक्ति विशेषलाई जनताले जिताएका हुन् । जनताले त पार्टीका घोषणा पत्र हेरेर कुनै राजनीतिक पार्टीलाई जिताएका हुन् । तथापि उडायो सपना सवै हुरीले भने झै भइरहेको छ ।
अरुका भन्दा पनि शिक्षाकै कुरा गरौं न । शिक्षामा कुल बजेटको वीस देखि पच्चीस प्रतिसत बजेट छुटयाउने कुरा अहिले सत्तामा हुने पार्टीका चुनावी घोषणा पत्रमा उहिल्यै उल्लेख गरियो । तथापि अहिले उक्त क्षेत्रमा कवोल गरेको आधा रकम पनि छुट्याउने काम भएको छैन । विद्यालयहरुमा अहिले कोरोनाका क्वारेन्टाइनहरु राखिएका छन् । क्वारेन्टाइनमा राखिएकाहरुले विद्यालयमा टिनको छाना छ, गर्मीले बस्न सकिएन भन्दैछन् । खानेपानी र शौचालयको अभाव छ भनेर कराइरहेका छन् । वयष्क मानिसहरुलाई केही हप्ता विद्यालयमा बस्न त त्यस्तो सास्ती भयो भने त्यो विद्यालयमा वर्षौसम्म चिचिला नानीहरु कसरी बसिरहेका होलान ? त्यस्तो असहज परिवेशमा कसरी खुशी भएर पढिरहेका होलान ? सम्झदा पनि उदेग लाग्छ ।
यस्ता विषयहरुमा कहिले सोच्दैनन् नेताहरुं । अहिले कोरोनाले हायलकायल बनाएका मुलुकहरुमा समेत विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने कामको थालनी भइरहेको छ् । उनीहरुको दावी छ कि पन्ध्र वर्ष मुनिका बालबालिकाहरुमा कोरोनाको असर नगण्य छ । यति नगण्य कि जीरो दशमलव जीरो जीरो एक भन्दा पनि कम । हाम्रो देशमा पनि अनलाइन र टेलिफोनबाटै विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर उनिहरुको घरघरमा सजिलरी पाठ्यपुस्तक उपलब्ध गराउन सकिन्थ्यो । तथापि, त्यो काम पनि हुन सकेको छैन । नगर्ने आदेश छ । सम्भवत गति लिन थालेको शिक्षा क्षेत्र सवैभन्दा बढी ओझेल परेको यत्तिबेलै होला शायद । यसपालीको बजेटमा समेत शिक्षा क्षेत्र सम्मानित हुन सकेन । उल्टै सरकारी विद्यालयलाई निजी विद्यालयको सहयोगापेक्षी बनाउने कुराहरु पो आए बजेट तथा कार्यक्रममा । शिक्षा क्षेत्र मात्र होइन देशमा नयाँ व्यवस्था आइसकेपछि एकाधबाहेक अधिकांश क्षेत्रको हालत यस्तै हो, कुहिरोमा हराएको कागजस्तै । संविधान जारी भएको पाँच वर्ष पुग्न लाग्दा समेत मुख्य ऐनहरु त जारी हुन सकेका छैनन् भने अरुका के कुरा ।

कहिलेकाही त यस्तो लाग्छ, देश कसैको सनकको भरमा चलिरहेको छ । ऐन कानून, नीति, नियम र घोषणा पत्रमा जे लेखेको भए तापनि ती त लोक सेवा, शिक्षक सेवा लगायतका परीक्षाहरु पास गर्नका लागि बनाइएका दस्तावेजहरु जस्ता मात्र भए । गणतान्त्रिक मुलुकमा आफू बाहेक सवै बेवकुफ भन्नेहरु सत्तामा सवार भए भने स्थिति यस्तै हुँदो रहेछ । राजा भएका कतिपय मुलुकहरुमा समेत नागरिकको हरेक कुराको ग्यारेन्टी गरिएको देखिन्छ । गणतान्त्रिक भनिएको हाम्रो मुलुकमा भने जनताको कुनै कुराको ग्यारेन्टी छैन । सत्तामा पुगेका नेताहरुको भने सवै कुराको ग्यारेन्टी । लोकतान्त्रिक गणतन्त्रमा यस्तै हुँदोरहेछ क्या रे । जुन गोरुको सिङ छैन उसैको नाम तिखे भने जस्तै ।
यस्तो लाग्छ, हामीले पढेको गणतन्त्रको परिभाषा नै गलत थियो । यस्ता कुरामा मुलभूत रुपमा सत्तामा सवारहरुको प्रवृत्तिले असर पार्दोरहेछ । यस्तो प्रबृत्तिमा आफ्नो चाकरी गर्ने, आफन्त पर्ने, नाता लाग्ने, जे भने पनि खुरुखुरु मान्ने जस्ता नागरिकलाई मात्र नागरिक सम्झेर तिनैको निम्ति आफूले उपयोग गरी बचेखुचेको सरकारी ढुकुटी अलि अलि बाँडेजस्तो गरिदो रहेछ । यस्तै भएर होला, मुटु र मिर्गौला रोगीहरु बाटोघाटो र सामाजिक सञ्जालहरुमा यो मुलुकका अनागरिक सरह सहयोगका लागि दुनियासँग हारगुहार गर्दारहेछन् । जीवन बचाउ भनेर प्राणको भीख माग्दा रहेछन् । सरकार भने सहयोगापेक्षी मानव मुक्त मुलुक भनेर आफूलाई सिंहदरबारबाट घोषणा गर्दोरहेछ । सरकारी ढुकुटीबाट करोडौंको रकम लकडाउनको अवधिमा राहत भनेर बाडिरहँदा समेत कतिपय परिवारहरु साँझविहानको छाक जुटाउन नसकेर सपरिवार आत्महत्याको बाटो रोजेका घटनाहरु अनायासै सुन्न विवश छन् यी अभागी कानहरु ।
नेतृत्वको बारेमा स्वामी विवेकानन्दले भनेको यो भनाइ कतै पढेको थिएँ, ‘नेतृत्व गरिरहँदा तिमीले परिवेश हेरी सामान्य नोकरले गर्ने कामका लागि समेत तयार हुनुपर्छ, निस्वार्थी भएर काम गर्नुपर्छ र तिमीसँग असीमित धैर्यता पनि हुनपर्दछ । यति भयो भने सफलता तिम्रै हातमा हुनेछ ।’ हाम्रो देशका नेताहरुको निम्ति स्वामी विवेकानन्दको भनाइ ठ्याक्कै नमिल्दो रहेछ । कतै कार्यक्रम उद्घाटन गरेको र भवन शिलान्यास गरेको कर्मलाई सामान्य नोकरले गरेको कामसँग तुलना गर्ने हो भने आफ्नो ठाउमा छ । अन्यथा सत्तामा सवार नेताहरु गाडीमा चढ्ने, भाषण गर्ने, बैठकमा उपस्थित भएर दुई शब्द बोलेर निस्कने र आफन्तहरुसँग भेटघाट एवम् कानेखुशी गर्ने बाहेक अरु काम गरेको देखेको छैन । निस्वार्थीका त झन कुरा नगरौं । कसैले सामान्य ज्ञानमा सवैभन्दा स्वार्थी को हुन्छ भन्ने प्रश्नको जवाफमा नेपालका नेता हुन्छन भन्यो भने अन्यथा नहुने स्थिति भइसक्यो । हाम्रा देशका नेताहरुका निम्ति असीमिति धैर्यता भनेको पनि एकादेशको कथा हो । आफूले रगतपसिना बगाएको पार्टीले साँसदको टिकट र मन्त्रीको पद दिएन भने रातारात अर्को पार्टीको सिन्दुर पहिरिएका घटनाहरु हाम्रो देशको राजनीतिमा सामान्य स्थिति भइसक्यो ।
हाम्रा नेताहरुलाई नेता हुनका लागि धनसम्पत्ति चाहिने भएको छ । नेता बनाउने हामी नागरिक पनि त्यस्तै छौं । उनीहरु के कस्ता लक्ष्य र उद्देश्यहरु बोकेर निर्वाचनमा होमिएका छन् र के गर्नका लागि नेता हुन खोजेका छन् भन्ने कुरालाई नपर्गेली जसले आफ्ना निम्ति धनसम्पत्ति खर्च गर्न सक्छ त्यसैलाई जिताउने हाम्रो प्रबृत्ति धेरै हदसम्म अगतिला नेताहरु अघि बढ्ने सवालमा जिम्मेवार छ । त्यसकारण पनि देश विना कुनै गन्तव्य वर्षौसम्म कुहिरोको काग भएर अलमलिरहेको छ । त्यसैले त कुनै भिजन र मिसन विना कुनै नेता विशेषको भावावेश र सनकको भरमा देश चलिरहेको देखिन्छ । म्याक्सवेलका अनुसार ‘नेता त्यस्तो व्यक्ति हो जसले गन्तव्यको बारेमा थाहा पाउछ, गन्तब्यमा जाने बाटो देखाउछ र उक्त बाटो उ स्वयम हिड्छ ।’ अफशोच, हामीलाई त्यस्तो नेता पाउन कठिन भएको छ । पाइए पनि एक त त्यस्ता नेताले चुनावमै हारिहाल्छन् । जिते भने पनि महत्वपूर्ण जिम्मेवारी पाउदैनन् । यो हाम्रो देशको दुखद विडम्बना हो । सारमा हामी गतिला नभएका कारण नेता पनि गतिला हुन सकेनन् । देशको शासन व्यवस्थालाई गतिलो बनाउने हो भने नेता पनि गतिलै छान्ने साहस हामीले गर्नुपर्दछ र गरौं । गणतन्त्र दिवसको पावन अवसरमा सवै सवैलाई मेरो यही हार्दिक शुभकामना ।
मिति २०७७ साल जेठ १५ गते विहीबार