चामुण्डाविन्द्रासैनी ५ वडा कार्यालयमा ताला, वडाअध्यक्षले गाली गरेको भन्दै एक महिलाको उजुरी
सुर्खेत, २१ जेठ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाको वडा नं. पाँचको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । ‘चामल बाँडेका छन की भनेर सोधेको मात्रै मलाई गाली बेइज्जती गरे ।’ असिनाको राहत वितरण गर्ने भन्ने कुरा सुनेर त्यहाँ बुझ्न आएको बताउँदै स्थानीय पुष्पा कार्कीले भनिन्, ‘म माथि अध्यक्ष नारायण रेग्मीबाट हातपातको प्रयास भयो । मलाई अर्नगल गाली बेइज्जती गरियो ।’ म एक महिला भएको र त्यसमाथि बुझ्न खोज्दा उल्टै आक्रमणको प्रयास भएको उनको दुखेसो छ । ‘एक महिला देखेका कारण होला शक्तिको आडमा म माथि अभद्र व्यवहार गरिएको छ ।’ उनले भनिन, ‘कसलाई कुन किसिमको राहत बाँडन खोजिएको हो भन्ने कुरा मैले सोध्नै नपाउने कहाँको नियम होला ?’ उनले वडा अध्यक्ष विरुद्ध अस्थायी प्रहरी चौकी जबमुकाँधमा मुद्दा दिएको बताईन ।
उक्त घटना पछि स्थानीयले दिउसो तीन बजे वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा नम्बर पाँचको वडा अध्यक्ष नारायण रेग्मीले आफूले गाली नगरेको दाबी गरे । ‘म सार्वजनिक पद धारण गरेको व्यक्ति हो । मैले गाली गरेको छैन । मैले गाली गरेको प्रमाणित भएको खण्डमा कानून बमोजिम सजाय भोग्न तयार छु ।’ उनले भने, ‘प्रहरी चौकीमा मुद्दा दिएको भन्ने सुनेको छु । त्यसबाहेक मैले केहि गाली गरेको छैन ।’ उनले असिनापीडितलाई राहत वितरण गरिरहेको बताउँदै वडा कार्यालयमा तालाबन्दी भएको र प्रहरीसँगको समन्वयमा ताला काटिएको बताए ।