२०८१, १५ बैशाख शनिबार

‘कि खाना र पानी देउ नभए गोली हानी मारिदेऊ’


सुर्खेत ।
वीरेन्द्रनगर वडा नं. ४ का नागरिक तीन दिन लगाएर भारतको गुजरात देखि वीरेन्द्रनगर आएको आज दोश्रो दिन भयो । वीरेन्द्रनगर नगरपालिकाले भारतबाट आएका सबै नागरिकको आरडिटी जाँच गर्ने र पोजेटिभ आएको खण्डमा प्रदेश सरकारले खुलामञ्चमा नेपाली सेनाको सहयोगमा निर्माण गरेको क्वारेन्टाईनमा ल्याएर मंगलबार राती एघार बजे ६ जनालाई थन्कायो । उनीहरुलाई हिजो राती एक बजे ६ जनाका लागि एक बोत्तल पानी दिइयो भने प्रति व्यक्ति एक पोका चाउचाउ दिइयो ।

‘आरडिटी जाँच नगरपालिका अगाडी भएको थियो । हामी मध्येका ६ जनामा आरडिटी पोजेटिभ आयो । नगरपालिका अगाडी जाँच गरिएको उक्त आरडिटी पोजेटिभ देखिएपछि बाँकी जनालाई नगरपालिकाले आफूले बनाएको क्वारेन्टाईनमा लगेर गयो । हामीलाई भने प्रदेश सरकारले बनाएको क्वारेन्टाईनमा राखियो ।’ क्वारेन्टाईनमा बसिरहेकी वीरेन्द्रनगर ४ की एक महिलाले रुँदै  भनिन्, ‘आरडिटी जाँच भएको ६ घण्टा पछि क्वारेन्टाईनमा राखियो, न खाना दिइयो न त पानी नै दिइयो ।’

क्वारेन्टाईनमै बसेका अर्का एक युवकले पनि सरकारले आफूहरुमाथि अन्याय गरेको बताए । ‘हाम्रो रगतमा पोजेटिभ देखिएको हो । त्यो हामीले जानी जानी ल्याएका होइनौं ।’ उनले भने, ‘कम्तिमा सुत्केरी महिला छन्, उनीहरुलाई आवश्यक पर्ने पानी र खाना देउ भन्दा नेपाली सेनाले उल्टै थर्काउने गरेको छ ।’ मार्ने नै हो भने भोक र तिर्खाले भन्दा पनि गोली हानेर मारिदिन उनले सरकारलाई आग्रह गरे । ‘विहान दिशा गर्न जाने पानी देउ भन्दा आर्मीले खाल्डो खनेर दिशा गर्न भन्यो । पालमुनि बस्दा चर्को घामले उकुसमुकुस भइरहेको छ ।’

उनले भने, ‘खाना देउ भन्दा वडा पालिकालाई भन भनेर सेनाले थर्काइरहेको छ । मार्ने नै हो भने गोली हानेर मारिदिन सरकारलाई मेरो आग्रह छ । होइन भने पानी र खानाको उचित व्यवस्थापन गरियोस ।’ क्वारेन्टाईनमा बसेकाहरुलाई खाना खुवाउने जिम्मा पाएको प्रदेश सरकारको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले भने केहि समयमा नै खाना र पानीको व्यवस्था गर्ने बताएको छ । मन्त्री नन्दसिंह बुढाले आफूलाई नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सो बारेमा जानकारी दिएको बताए । ‘मैले अहिले जानकारी पाएको छु । तत्काल खाना र पानीको व्यवस्था गर्न निर्देशन दिएको छु ।’ मन्त्री बुढाले भने, ‘नेपाली सेना र क्यान्टीनवाला बीच अनबन भएका कारण त्यस्तो भएको सुनेको छु । उहाँहरुलाई तत्काल खाना र पानीको उचित प्रबन्ध हुन्छ ।’