दैनिकरुपमा हजारौं भित्रिदै नागरिक कर्णालीमा, भोकभोकै यात्रा गर्न नागरिक बाध्य
सुर्खेत, १४ जेठ ।
कर्णाली प्रदेशमा भारतबाट आउने नागरिकको संख्या दैनिक हजारौं नागरिक भित्रिदै आइरहेका छन् । भारतको विभिन्न स्थानबाट कर्णाली आउने नागरिकको संख्या बुधबार विहान १० बजेसम्म १४ हजार ४९६ पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । उनका अनुसार आज बुधबार विहान दश बजेसम्म नौ वटा बसमा नागरिक कर्णालीको सिमा नाका बबई भएर वीरेन्द्रनगरतर्फ आइरहेको जानकारी दिए । ती गाडीमा कालिकोटका ४७, सुर्खेतका १२२, दैलेखका २१ जना, जाजरकोटका ८२ जना, मुगु ५५ जना भित्रिएका छन् ।
मंगलबार मात्रै अछामका १३८ जना, दैलेख १०४० जना, मुगु ४३ जना, सुर्खेतका १२८३ जना, कालिकोट ५३६, जुम्ला ८०, जाजरकोटका १०९ गरि जम्मा ३२२९ जना कर्णाली भित्रिएको उनको भनाई छ ।
‘बबई नाकाबाट जेठ तीन गते २३१ भारतबाट एक जना नेपालबाट, पाँच गते ५७ जना, ६ गते १५ जना, ७ गते १८ जना, ८ गते २२३४ जना, ९ गते ४८ जना, १० गते २००९ जना, ११ गते २०२४ जना भित्रिएका छन् ।’
उनले भने, ‘जेठ १२ गते ११९ वटा गाडी कर्णाली भित्रिएका छन् । जसमा २३१ महिला, ४०६६ पुरुष गरेर ४२९७ जना, दैलेखका १९२६, सुर्खेतका १६८९, जुम्लाका ५८, सल्यानका १०७, जाजरकोटका १५४, रुकुमका १४, अछाम ६७, कालिकोटका २८२ जना भित्रिए ।’
यात्रु भोकभोकै यात्रा गर्न बाध्य
झापाको पानीट्याङ्कीबाट शुक्रबार बेलुकी कालिकोटका नागरिकहरु आइतबार विहान कर्णाली प्रदेशमा प्रवेश गरेका थिए । झापामै कोरोना परीक्षण गराएर रिपोर्टसहित आएका उनीहरुलाई प्रहरीले आइतबार दिनभर बबई नाकामा राखेको थियो । बेलुका वीरेन्द्रनगरको प्रवेशद्धार धुलियाबीटमा उनीहरुले सडकमै रात विताए । सान्नीत्रिवेणी गाउँपालिकाका सुरेश बमले भने, ‘हामीले चार दिन देखी खाना खान पाएनौं । सडककै सिरानी बनाएर सुत्यौं ।’
सडकको सिरानी बनाएर सुत्ने उनीहरुमात्रै होइनन् । दैलेखको नारायण नगरपालिकाका नागरिकहरु तीन दिनअघि नेपाल प्रवेश गरे । नेपाल आएदेखि नै भोकै बस्नुपरेको नारायण नगरपालिका–४ का प्रेम विकले बताए । ‘बालबच्चा भोक लाग्यो भन्दै हैरान गर्छन,’ उनले भने, ‘होटल पनि बन्द छन, हाम्रो त बिजोग भयो ।’
चौकुने गाउँपालिका सुर्खेतका रेशम शाहीले भोकभोकै यात्रा गरेर भएपनि कर्णाली आएको बताए । ‘मर्नु परे आफ्नै जमिनमा मरौंला अर्काको जमिनमा किन मर्नु भनेर हामी आएका हौं ।’ उनले भने, ‘भोक प्यास नभनि हामी सुर्खेत आइ पुगेका छौं । बाटामा भोकै हामी आएका हौं ।’ भारतबाट आएका नागरिकलाई कसैले पनि पानी वा खाना नदिने गरेको उनको गुनासो छ ।
‘जसोतसो ज्यान जोगाएर आफ्नो भूमिमा आएका छौं । अब जे होस चिन्ता छैन ।’ उनले भने ।
