कर्णाली नेकपा संसदीय दलको बैठक, कृषिलाई बजेटमा प्राथमिकता दिन सांसदको सुझाव
सुर्खेत, १२ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभा संसदीय दलको बैठक सोमबार सुरु भएको छ । बैठकमा धारणा राख्ने अधिकांश सांसदले कर्णाली प्रदेश सरकारले कृषि उत्पादन बढावा दिन बजेट पर्याप्त विनियोजन गर्न सरकारलाई सुझाव दिएका छन् ।
‘कर्णालीका हजारौं नागरिक भारतबाट भित्रिएका छन् ।’ प्रदेश सभा सदस्य रातो कामीले भने, ‘अब ति सबै युवालाई उत्पादनमा जोडने खालको बजेट ल्याउन आवश्यक छ । गाउँका सबै युवालाई कृषि क्षेत्रमा जोडेर उत्पादन बढाउने खालको बजेट ल्याउन आग्रह गर्दछु ।’
कर्णाली प्रदेश सभा सदस्य गोपाल शर्माले सरकारलाई भोकमारी र महामारीबाट जोगाउने खालको बजेट ल्याउन सुझाव दिइएको बताए । ‘अहिले मुख्यतया कोरोनाको सामना गर्ने अवस्था आएको छ । यसैलाई आधार बनाई पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई दिन जरुरी छ ।’ सांसद शर्माले भने, ‘स्वास्थ्य पछि भोकमरी नियन्त्रण गर्न र महामारीबाट कर्णालीवासीलाई जोगाउने नीति, कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका छौं ।’
सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभा सदस्य सबैले क्वारेन्टाईन व्यवस्थापन देखि भोकमरीर महामारीबाट कर्णाली जोगाउने नीति ल्याउन सुझाव दिएको बताए । ‘सबै प्रदेश सभा सदस्यको ध्यान महामारी नियन्त्रण र भोकमरीको अन्त्य तिर नै केन्द्रित भएको पाइएको छ । उहाँहरुको सुझाव अनुसार स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिने र उत्पादनलाई बढावा दिने गरि हामी बजेट ल्याउँछौं ।’
कर्णाली प्रदेश सरकारले ३५ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । सोमबार दिउसो तीन बजे बस्ने प्रदेश सभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७७÷०७८ का बजेटका सिद्धान्त, प्राथमिकताका विषयमा छलफल हुने प्रदेश सभाका सभामुख राजबहादुर शाहीले बताए । यसका अलावा प्रदेश सभाका सांसदहरुले विशेष समय लिई बैठकमा सम्वोधन गर्नेछन् ।
