कर्णालीमा थप दुइ जनामा कोरोना पुष्टि, कर्णालीमा कोरोना संक्रमित संख्या ११ पुग्यो
सुर्खेत, १२ जेठ ।
कर्णाली प्रदेशमा दुइ जना कोरोना संक्रमित थपिएका छन् । भारतबाट आएका दुइ जनामा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि प्रदेश अस्पताल सुर्खेत पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा गुराँस गाउँपालिका दैलेखका २४ र ३५ वर्षीया दुइ जना पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भने गुराँस गाउँपालिकाका दुइ जना २४ वर्ष २५ वर्षका दुइ जनामा कोरोना पुष्टि भएको उल्लेख गरिएको छ ।
डा. तिवारीका अनुसार जेठ सात गते कर्णाली भित्रिएका सत्र सय नागरिकसँगै भारतबाट उनीहरु पनि आएका थिए । हाल दुवै जना संक्रमितलाई दैलेख अस्पतालले निर्माण गरेको सरस्वति माध्यमिक विद्यालयको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । डा. तिवारीका अनुसार कर्णालीमा कोरोना संक्रमण देखिएका एघार जना मध्ये चार जनाको कन्ट्याक्ट ट्रेसिंग गरिसकिएको छ ।
आइतबार साँझ मात्रै कर्णाली प्रदेशको पहिलो संक्रमित फेला परेको दैलेख जिल्लामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कर्णाली प्रदेश प्रयोगशालामा कोरोना पोजेटिभ देखिएपछि नेपालगञ्ज पठाएर पाँचै जनाको पुनर्पुष्टि भएको थियो ।
सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसंगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु सबै भारतबाट आएका हुन् । यो सँगै दैलेखमा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने सुर्खेतमा तीन जनामा कोरोना पुष्टि भएको हो ।
