अतिक्रमित जग्गा सहितको नक्सा सार्वजनिक गर्नु साहसिक निर्णय, नेकपा कर्णाली संसदीय दलद्धारा स्वागत
सुर्खेत, १२ जेठ ।
बजेट अधिवेशन सुरु भइसकेको समयमा सोमबार बसेको नेकपा संसदीय दल कर्णाली प्रदेशको बैठकले नेपाल सरकारले भारतद्धारा अतिक्रमण गरिएको जग्गा समेटेर नक्सा सार्वजनिक गर्नु साहसिक निर्णय भएको बताएको छ । नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहले संघीय सरकारले गरेको उक्त निर्णय राष्ट्रवादी र ऐतिहासिक भएको बताए ।
‘हाम्रो प्रदेश सभामा ३३ सदस्यीय संसदीय दल छ । विश्व नै कोरोना विरुद्ध लडिरहेको समयमा हामीले हाम्रो तर्फबाट भन्दै कम्तिमा आधा महिनाको तलब भत्ता कोरोना विरुद्ध लड्न सरकारलाई दिने निर्णय गरेका छौं ।’ उनले भने, ‘सरकारलाई महामारीबाट जोगिन सुझाव दिएका छौं ।’ उनले कोरोना विरुद्ध लडने सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र समाजसेवीलाई दलको बैठकले धन्यवाद दिएको बताए ।
यसैबीच प्रदेश सभा सदस्यले कर्णाली प्रदेशको आगामी बजेटमा कृषि उत्पादन बृद्धि र खाद्य संकट समाधान गर्ने गरी बजेट ल्याउन सुझाव दिइएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको सोमबार सम्पन्न बैठकमा प्रदेश सभा सदस्यहरुले उक्त सुझाव दिएका थिए ।बैठकले कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा सवै प्रदेश सदस्यहरुको तर्फबाट आधा महिनाको पारिश्रमिक जम्मा गर्ने, प्रदेश सभाको बैठकमा सरकारद्वारा प्रस्तुत गरिने आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकताका मुलभूत पक्षहरुको बारेमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले वैठकमा जानकारी दिएका थिए ।
वैठकमा सहभागी प्रदेश सदस्यहरुले सरकारको आगामी वजेट कोभिड–१९ नियन्त्रण र कर्णाली प्रदेशमा कृषि उत्पादन बृद्धि गर्नुका साथै हुनसक्ने सम्भावित खाद्यसंकट सामाधान हुनेगरी वजेट निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएका थिए । कोरोना भाईरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले प्रभावकारी कदम चालिरहेकोमा कर्णाली प्रदेश सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई धन्यवाद दिनुका साथै प्रदेश सांसद करबीर शाहीका आमाको निधनप्रति दुःख प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली एवं परिवारमा गहिरो समवेदना प्रकट गर्ने निर्णय भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा संसदीय दलको सोमबार वीरेन्द्रनगरमा बसेको थियो ।
यसैबीच आज सोमबार देखि कर्णालीमा प्रि बजेट सत्र सुरु भएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सदनमा प्रि बजेट मन्तव्य दिने भएका छन् ।
