वीरेन्द्रनगरद्धारा स्वाव संकलन, कोरोना पत्ता लगाउन अचुक अस्त्र हुने अपेक्षा
सुर्खेत, १ जेठ ।
कर्णाली प्रदेशको एक मात्र सुगम नगरपालिका वीरेन्द्रनगर नगरपालिकाले विहीबार नगर परिसरमा एक सय ७६ जनाको थ्रोव स्वाव संकलन गरेको छ । ‘कोरोना ब्यवस्थापनको फ्रन्ट लाईनमा खटिने वीरेन्द्रनगरका जनप्रतिनिधीहरू, स्वास्थ्यकर्मीहरू, राहत र क्वारेन्टाईनमा खटिने कर्मचारीहरू, पत्रकारहरू, उद्योग बाणिज्य संघका पदाधिकारीहरू, चेम्बर अफ कमर्शका पदाधिकारीहरू, खाद्य संस्थान, बाणिज्य बैंक र सु.उ.खानेपानी सँस्थाका कर्मचारीहरू, उद्दार कार्यमा प्रयोग भएका गाडीका चालकहरू समेत गरी १७६ जनाको कोरोना भाईरस पिसिआर परिक्षणका लागि स्वाब कलेक्शन गरियो ।’ नगर उपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘अहिलेसम्म कोरोना नदेखिएका कारण सुरक्षित महसुस भएपनि कोरोना संक्रमण भएको छ कि छैन भन्ने कुरा जानकारी लिन र नियन्त्रणका उपाय अवलम्बन गर्न नमूना संकलन गरेका हौं ।’
वीरेन्द्रनगर नगरपालिकाको कार्यवाहक नगरप्रमुखको रुपमा जिम्मेवारी वहन गर्दै आइरहेकी उपप्रमुख ढकालले कोरोना नगरपालिकामा छ कि छैन भन्ने पत्ता लगाउन पिसिआर जाँच गरिएको बताईन । ‘अहिले हामी कोरोनाको त्रासमा नै रहेका छौं । जसले गर्दा नगरका विकासे कामहरु प्रभावित बनेका छन् । कृषि उत्पादनमा असर परेको हाम्रो ठहर छ ।’ उनले भनिन्, ‘विस्तारै शंकास्पद सबैको पिसिआर जाँच गर्दै जाने र विकासे गतिविधिलाई पनि बढावा दिदैं लैजाने उदेश्यका साथ हामीले यो जाँच गरेका हौं । जाँचको रिर्पोट भोली शुक्रबार आउने छ ।’ उनले कोरोना विरुद्ध लड्न नगरपालिका तयार भएर बसेको बताउँदै सकेसम्म कोरोनबाट जोगिने उपाय नगरवासीलाई दिदै आएको बताईन ।
