२०८३, १८ असार बिहीबार

बन्दाबन्दीले थला पर्दै दलित समुदाय, न घर, न कसैको भर

शेरबहादुर थापा
सुर्खेत, १ जेठ ।
बन्दाबन्दी लागु भएको नेपालमा डेढ महिना भएको छ । लामो बन्दाबन्दीले आफ्नै जग्गा जमिन नभएका, ज्याला मजदुरी गर्नेहरुको अवस्था निरन्तर दयनीय बन्दै गइरहेको छ । आर्थिक रुपमा असाध्यै कमजोर कर्णालीका दलित बस्तीको अवस्था थप दयनीय र कष्टकर बन्दै गइरहेको छ ।
लक्षीमा दमाई अहिले वीरेन्द्रनगरको वडा नं. ७ स्थित महिला प्रशिक्षण केन्द्रमा बस्दै आएकी छिन् । उनी २०७१ सालमा सुर्खेतमा आएको बाढीबाट प्रभावित एकल महिला हुन । उनको बसाई बिगत ६ बर्ष देखि पालमुनी छ । ‘सातजना परिवार छन् । उनीहरु र म एकै पालमा बस्दै आइरहेका छौं । दिउसो ज्यालादारी गर्न जान्थें । दैनिक कमाइ गरेर छोराछोरी पढाउने र घर गुजारा गर्ने गर्थें तर अहिले अवस्था फरक भएको छ ।’ उनी भन्छ्नि, ‘एक त हामीपहिले देखि नै दलित समूदायका भएका कारण हेला गरिन्थ्यो । बिभेद भोगी रहेका हाम्रो कम्तिमा बस्ने घर थियो तर २०७१ सालको बाढिले बेघर बनायो । त्यसपछि परिवारै पालमुनि बस्न बाध्य भयौं ।’ केही दिनयता निरन्तर परिरहेको पानीका कारण उनको पाल चुहिएको छ । लकडाउनका कारण पकाएर खानलाई खाद्यान्न छैन । वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकारले उनलाई राहत स्वरुप उनलाई २५ केजीको एकएक प्याक गरी दुई प्याक चामल दिएको थियो । राहतको यो चामलबाहेक उनको घरमा अन्य खाने कुरा छैन ।
पञ्चपुरी नगरपालिका १० की बाढीपिडित सुमित्रा विकको पनि यहि पीडा छ । ‘भएको घर र जग्गा २०७१ सालको बाढीले लग्यो । बालुवा बेचेर खान्थ्यौं । अहिले लक डाउनमा बालुवा किन्ने मान्छे नहुँदा भोकै बस्नु पर्ने अवस्था छ ।’ उनले भनिन् ।
ठाँटीकाँध गाउँपालिका वडा नं. एक ठाँटीकाँधमा अर्काको घरमा बस्दै आइरहेकी हरिकला वादी कहिले लकडाउन सकिएला र काम गरेर खान पाउँला भन्ने आशमा छिन् ।
‘पहिले माटाको सुल्पा विक्री गरेर भएपनि खाद्यान्नको जोहो गर्थें र पेट पाल्थें । गाउँमा कसैसँग मागेर भए पनि पेट भर्ने गरेकी थिएँ ।’ तीनवर्ष अगाडी भत्किएको घर देखाउँदै हरिकलाले भनिन्, ‘श्रीमान वितेको आठ वर्ष भन्दा बढि भएको छ । अहिले त मागेर खाना खाउँ भनेपनि कसैले सजिलै दिने अवस्था छैन ।’ लकडाउनले आफूलाई गाउँजान बन्देज लगाउँदा भोको बस्नुपरेको उनको भनाई छ ।‘एकातिर गाउँमाजान पाइएको छैन, अर्कोतिर जग्गापनि छैन । थोरै सार्वजनिक जग्गामा खेति लगाइए पनि त्यसले एक महिना पनि खानपुग्दैन । एकल महिला भत्ता पाउने गरेपनि फागुनमा पाइने भत्ता अहिलेसम्म पाइएको छैन । ऋण गरौ ंकोही पत्याउँदैनन् । कसरी बाँच्ने होला ? के खाने होला ?’ उनले लोकान्तरसँग कुराकानी गर्दै भनिन्, ‘अर्काको घरमा बस्नु परेको छ । घरको खाबो भत्किएको छ ।’ कसैले पनि अहिले सम्म सहयोग नगरेको उनको भनाई छ ।
‘दुइ लाख जति भइदिएको भए घर बनाउँथे, जे जस्तो हुन्छ आफ्नै चुलामा पकाएर खान्थें ।’ चौध वर्षको एक छोरासँगै बस्दै आएकी हरिकलाले दुइ हात जोडदै भनिन्, ‘एक एककिलो चामल उधारो ल्याएर खाएको ऋण तिर्न पाएकी छैन ।’ उनले भनिन ‘पसल खोलौं पैसा छैन, शुल्पा विक्री गरेर पनि पर्याप्त आम्दानी हुँदैन । तम्बाकु खाने व्यक्ति गाउँमा कम भएका कारण सुल्पा पनि विक्री हुन छाडेको छ । गाउँपालिकाले कोरोनाबाट जोगिन भन्दै साबुन बाँडेको सुनेकी थिएँ, मैले त त्यो साबुन पनि पाइन ।’ उनले भनिन्, ‘गरिब भनेर नाम लेख्ने धेरै आए, खाना र सहयोग गर्ने कोही आएनन् । दुखिहरुका लागि कोही हुँदा रहेनछन् ।’
सुर्खेतमा आएको बाढीले तुल्सी सुनारको पनि घर लग्यो । उनको परिवार पनि पालमुनि बस्दै आइरहेको छ । उनको श्रीमानले बजारमा अटो रिक्सा चलाएर गुजारा गरिरहेकाथिए । अहिले त्यो काम पूर्ण रुपमा ठप्प हुँदा आम्दानी शुन्य छ । ‘छोराछोरीलाई यहि बेला धेरै भोक लाग्ने रहेछ । घरमा खाने चामल छैन । विगत तीन वर्ष देखि खाद्यान्न खरिद गरेर खाने पसलले उद्यारो दिन छोडिसकेका छन् । आफू त जसो तसो गथ्र्यौं, छोराछोरीलाई बचाउन गाह्रो होला जस्तो छ ।’श्रीमान सहित सातजनाको उनको परिवार अहिले के खाउँ के लाउँ भन्ने अवस्थामा पुगेको भन्दै उनी भन्छिन्, ‘यस्तो समस्या त कहिल्यै भोगिएन । श्रीमानलाई अटो चलाउन पठाउँ, बाहिर जान मिल्दैन कोरोनाको डर छ, नजाउँ त भोकै मर्ने डर छ ।’
यस्तो अवस्थामा कहाँ जाँउ, के गरौं हुने गरेको उनको भनाई छ । ‘आफ्नै घर भइदिएको भए सजिलो हुन्थ्यो, न घर छ न खाना छ । हाम्रो माग कसले सुन्ला ?’ उनले पहुँच हुनेहरु, अन्य जातिका टाठा बाठाहरुले अरुको घर देखाएर राहत कुम्ल्याए पनि आफूहरुका न कोही आफ्न्तको घर भएको न त आफूहरुलाई साथ दिने व्यक्ति भएका कारण यो अवस्था भोग्नु परेको बताईन । घरधुरी अनुसारको सहयोग बितरण गर्ने गरिएको छ तर उनीहरुको घर छैन ।
यी त प्रतिनिधिमूलक पात्र मात्र हुन । कर्णालीमा दलित बस्तीको अवस्था निकै दयनीय छ । दैनिक ज्यालादारी गर्ने, भारत गएर कमार्ई गरी परिवार पाल्ने दलित समूदाय लकडाउनका कारण अफ्ठ्यारोमा परेको छ । न उनीहरुको आवाज कसैले बोलिदिन्छ, न कसैले उनीहरुका कुरा सुनिदिन्छन् । आठबीस नगरपालिका ६ दैलेखका दलित अगुवा दयाराम विक सबैभन्दा बढि मुस्किलमा दलित समूदाय परेको बताउँछन् । ‘दलित समूदायले उत्पादन गर्ने मादल, हातहतियार वा अन्य बस्तुको बजार ठप्प भएको छ । भाँडाकुँडाको व्यापार बन्द भएको छ ।’ भन्दै उनले भनें यस्तो अवस्थामा राज्यले दलितलाई बिशेष महत्व दिएर राहत बितरण गर्नु आवश्यक छ ।


कर्णाली प्रदेश सभा सदस्य एवं संविधान सभा सदस्य सीता नेपालीले राज्यले विपन्न त्यसमाथि दलित समुदायलाई लकडाउनको समयमा विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिईन । ‘राज्यले यो बेलामा विपन्न परिवारको अभिलेख बनाएर खान नपुग्नेलाई राहत दिनुपर्छ । कर्णालीमा दलित समुदाय नै बढि छन् । एक चरण राहत दिएर मात्रै हुँदैन, लक डाउन थपिए संगै राहत दिने चरण पनि थप्दै जानुपर्छ । दुइचार किलो राहतले विपन्न तथा दलित समुदायको पेट भरिदैन । सरकारले हरेक नागरिकलाई खान पाउने मौलिक अधिकारको रक्षा गर्न आवश्यक छ ।’
उनले पालमा बसेका दलित समूदायको घरमा वर्षामा पानी चुहिने स्थिति रहेको बताईन । खरका छाना भएका दलित तथा विपन्न समूदायको घरमा आगजनी हुने अवस्था पनि आउन सक्ने बताउँदै विपद बाट जोगिन अहिले नै तयारी गर्नुपर्ने बताईन । जनताले चुनेर पठाएको सरकार छ है भन्ने देखाउन उनले सरकारलाई आग्रह गरिन ।
बि सं २०७१ को बाढीबाट पीडित दलितको परिवार संख्या १०५७ छ । ति मध्ये अधिकांश बर्षौं देखि खुल्ला आकाशमुनी पाल टाँगेर बसि रहेका छन । दैनिक ज्यालादारी गरेर परिवार चलाउँदै आएको दलित बस्तीका मानिसहरु लक डाउनका मजदुरी गर्न नसक्दा आर्थिक रुपले कठिन अवस्थामा पुगेका छन । कतिले घर नभएका कारण राहत पाएका छैनन भनें कतिले नागरिकता नभएका कारण राहत पाएका छैनन । खानै नपाउने अवस्थाबाट गुज्रिनु पर्ने बिडम्बना एकातिर छ भनें एउटै पालभित्र कोचिएर बस्नु पर्दा भौतिक दुरी कायम गर्न सक्ने अवस्था पनि छैन । यसरी बिभेदपूर्ण अवस्थाबाट गुज्रिरहेका दलित परिवारलाई कोरोनाको कहरले थप जोखिमपूर्ण अवस्थामा पु¥याएको छ । यो बिषम परिस्थितिलाई सहज बनाउन दलित बस्तीमा बिशेष सहयोगको आवश्यक्ता छ ।