२०८३, १८ असार बिहीबार

कर्णालीको सिमामा आवतजावतमा कडाई कायमै, शिल गरिएको नाका खुकुलो

सुर्खेत, २९ बैशाख ।
कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । कर्णाली प्रदेश कोरोना नियन्त्रण, रोकथाम उच्च स्तरीय समितिको बैठकले उक्त निर्णयहरु गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । उनका अनुसार कर्णाली प्रदेश प्रवेश सिमा नाकाहरुबाट सवारी आवत जावतमा कडाई यथावत राख्ने निर्णय कायमै रहेको छ । ‘भारत र नेपालका बिभिन्न स्थानबाट प्रदेशको सीमामा आएर अलपत्र परेका नागरिकहरुलाई राख्नका लागि नाकामा क्वारेन्टाइन निर्माण गर्ने, तत्काल बाहिरबाट आएर प्रदेशको सीमामा अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा सम्बन्धित जिल्ला र पालिकामा पठाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्न लगाउने, भारत लगायत स्थानबाट घर आउने सम्भावनालाई ध्यानमा राखेर पालिकहरुले क्वारेन्टाइन निर्माण गर्ने निर्णय भएको छ ।’ मन्त्री ज्वालाले भने, ‘बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई प्रदेशमा आउन सहज गर्ने, कृषि र पशुपालनको लागि कृषि सामाग्रीहरु (बिउ, बिजन, बेर्ना, माछाका भुरा, मल, दाना र अत्यावश्यक कृषि उपकरण ओसारपसार गर्न पाउने, सुरक्षा सतर्कता र भौतिक दुरी कायम गरी स्थानीय तहको समन्वयमा कृषकहरुलाई बालि स्याहार्न र खेतीपाती गर्न सहजीकरण गर्ने र महत्वपूर्ण र रोजगारमूलक विकास निर्माणका लागि आवश्यक सामग्री (पाइप, छड, सिमेन्ट र निर्माण उपकरणहरु ढुवानी र ओसारपसार गर्न पाउने निर्णय समितिको छ ।’ उनका अनुसार सुरक्षा सतर्कता अपनाउदै परियोजनाहरुमा काम गर्ने जन शक्ति आवत जावतको व्यवस्था गर्ने, चामल, दाल, नुन, तेल, चिनी जस्ता अत्वावश्यक खाद्य सामग्री आयात गर्ने, ग्याँस र डिजेल पेट्रोलजस्ता पेट्रोलियम पदार्थ आयात गर्ने, औद्योगिक उत्पादनका लागि आवश्यक सामग्री ल्याउने व्यवस्था गर्ने, नेपाल सरकार मन्त्री परिषदले गरेका निर्णयहरु कार्यान्वयन गर्ने निर्णय पनि भएको छ ।