२०८३, १८ असार बिहीबार

कर्णाली प्रदेश सभाको बैठकको तयारी तीव्र, एक सय भन्दा बढिको थ्रोव स्वाव परिक्षण हुने

सुर्खेत, २९ बैशाख ।
कर्णाली प्रदेश सभाको वर्षे अबिधेशनको तयारी तीव्र रुपमा अघि बढेको छ । जेठ ११ गतेका लागि बैठकको आव्हान गर्न कर्णाली प्रदेश सरकारले प्रदेश प्रमुख गोविन्द कलौनीलाई सिफारिस गरेपछि कोरोना संकटका बीचमा बैठक बसाल्ने गरी तयारी सुरु गरिएको प्रदेश सभा सभामुख राजबहादुर शाहीले बताए ।


‘आज प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारी, कोरोना नियन्त्रणसँग सम्वन्धित डाक्टरहरुसँग व्यापक छलफल भएको छ । कसरी बैठक व्यवस्थापन गर्ने भन्ने निर्णय भएको छ ।’ सभामुख शाहीले भने, ‘सामाजिक दुरी कायम हुने गरी कुर्सीहरु मिलान गर्ने, दर्शक दिर्घामा पनि माननीयका लागि फिक्स कुर्सी राख्ने व्यवस्था गर्ने भएका छौं ।’ अहिले प्रदेश सभा सचिवालयले बैठकमा आउने सबैकालागि आचारसंहिता निर्माण गरिरहेको बताउँदै जेठ सात गते अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको सभामुख शाहीको भनाई छ । उनका अनुसार ४० जना प्रदेश सभा सदस्यहरु, सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु, मन्त्रीका ड्राइभर तथा पिएसओ तथा केहि पत्रकारको थ्रोव स्वाव जाँच गर्ने र अनिमात्र बैठक कक्षमा प्रवेश गर्न दिइने गरी तयारी अघि बढेको हो । नौ गतेसम्म सबै तयारी पुरा भइसक्ने सभामुख शाहीले जानकारी दिए ।