२०८३, १८ असार बिहीबार

चौकुनेमा ‘हाइ अर्लट’, झोलुंगे पुल बन्द !

facebook sharing button
twitter sharing button
pinterest sharing button

सुदूरपश्चिम प्रदेशको कैलालीमा कोरोनाका संक्रमित बिरामी भेटिएपछि चौकुने गाउँपालिका सुर्खेतले हाइअर्लट घोषणा गरेको छ ।

कैलालीसँग सिमाना जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले अछाम, डोटी, कैलाली जिल्लासँग जोडिएका सबै झोलुंगेपुल, फेरीहरू सञ्चालन हुन नदीने निर्णय गरेको छ ।


गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले छिमेकी पञ्चपुरी नगरपालिकासँग जोडिएको भेरी झोलुंगे पुलमासमेत आवागमन गर्न पूर्ण रुपमा रोक लगाइएको बताए ।

उनका अनुसार कर्णाली नदीमाथिका कैलाली जोडने कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोला पाखा झोलुंगे पुल सञ्चालनमा रोक लगाइएको छ ।


कोलीभरा, मालुमेला, टटालीलगायतका अछाम जोड्ने झोलुंगे पुलमा पनि आवागमनमा पूर्ण रोक लगाइएको छ भने डोटी जोडने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि पूर्ण रुपमा बन्द गरिएको अध्यक्ष शाहीले लोकान्तरलाई बताए ।

‘नदीमाथिको फेरी, डुंगा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडा अध्यक्षहरुले सवंयसेवक टीम परिचालन गर्नेछन्,’ अध्यक्ष शाहीले भने, ‘यस कार्यका लागि स्वंयसेवककोरुपमा प्रतिवडा कम्तीमा १० जना खटाउन सकिने गरी आवश्यक निर्देशन दिएका छौं ।’

कैलालीसँग सिमाना जोडिएका कारण चौकुनेमा कोरोना संक्रमित सहजै प्रवेश गर्न सक्ने भएकाले त्यसलाई निषेध गर्न गाउँपालिकाले यो कदम चालेको उनको भनाइ थियो । यसका अलावा कोही कसैको सम्पर्कमा नआउन, पाहुना लाग्न नजान र पाहुनालाई आमन्त्रित नगर्न चोकुनेवासीलाई आग्रह गरिएको अध्यक्ष शाहीले लोकान्तरलाई बताए ।