२०८१, ८ बैशाख शनिबार

कोरोना ब्यवस्थापनका सुर्खेती ‘सिभिल कमाण्डर’ ढकाल

सुर्खेत, १८ चैत ।

‘चार्ली वान डेल्टा टू’
‘रोजर सर’
‘टोलीको लिमा किलो कता हो ?
‘मंगलगढी चोक सर’
‘पहिले वडा नम्बर ३ का मुख्य चोक, अत्यावश्यकीय सामग्री विक्री हुने पसलहरु, स्वास्थ्य संस्था तथा अस्पतालहरुमा छर्किने, यो काममा वडाध्यक्ष सँग समन्वय गर्ने है ! त्यसपछि वडा नम्बर ८ मा’
‘रोजर सर’
यो सम्वाद सुन्दा लाग्दो हो पक्कैपनि नेपाली सेना, सशस्त्र प्रहरी वा नेपाल प्रहरीका कुनै अधिकारीले कसैलाई निर्देशन दिइरहेका होलान । तर त्यस्तो होइन, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको निवासमा आन्तरिक संचार सेट (वाकीटकी) मा दमकल टोलीसँग भएको सम्बाद हो यो । कोरोना (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारले देशैभरी ‘लक डाउन’ गरेको अाठाै दिन पनि ढकाल उस्तै व्यस्त देखिए ।


कर्णाली प्रदेशको सबैभन्दा बढी जनघनत्व भएको नगरपालिका, प्रदेशकै एकमात्र क वर्गको नगरपालिकाको रुपमा रहेको वीरेन्द्रनगर प्रदेश राजधानी पनि हो । प्रदेश राजधानी भएका कारण यहाँ लाखौं नागरिकको बसोबास त छ नै, अन्यत्रबाट आएकाहरुको संख्या पनि बाक्लै छ । झण्डै दुइ लाख भन्दा बढी जनसंख्या रहँदै आएको नगरपालिकामा कोरोना विरुद्ध लडाई जारी छ ।

समितिसँग समन्वय गरी जनप्रतिनिधि र प्रहरी सँगै टोलीमा हिँडी माईकिङ्ग गर्ने निर्णय भएको उनको भनाई छ ।
सुर्खेतकै चौकुने गाउँपालिकामा २०४१ सालमाजन्मिएका ढकाल अहिले वीरेन्द्रनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहेका छन् । आफ्नो व्याचमा सधैं प्रथम हुने ढकालले कक्षा पाँच र आठको जिल्ला स्तरीय परिक्षामा जिल्ला प्रथम भएका थिए । जन उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका ढकालले सुर्खेत जिल्लामा रहेका सरकारी विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई पछार्दै जिल्ला प्रथम बन्न सफल भए । २०६७ सालमा पहिलो पटकमा लोक सेवा आयोगबाट शाखा अधिकृतमा उत्तीर्ण भएका ढकाल विभिन्न कार्यालयमा कार्यअनुभव सम्हालिसकेका छन् ।

२०७५ श्रावणमा सालमा खुल्ला प्रतिस्पर्धाबाट एक नम्बरमा उपसचिवमा नाम निकालेका ढकाल सुर्खेतकै गुर्भाकोट नगरपालिकामा यस अघि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरिसकेका छन् । २०७६ बैशाख २ देखि वीरेन्द्रनगर नगरपालिकामा उनी हाजिर भएका हुन ।


एक छोरा र छोरीका पिताको भूमिकामा रहेका ढकालले कोरोनाको सबैभन्दा बढी जोखिममा वीरेन्द्रनगर रहेको बताए । ‘देश लक डाउन भनेको छ तर कतिपय ब्यक्तिहरुले बन्द हड्ताल र कर्फ्यु जस्तो गरी प्रहरी प्रशासन छलेर साँझ विहान बाहिर निस्कने गरेको छन् । यो अभियानमा देश, जिल्ला, स्थानीय तह, वडा , टोलटोल लक गरी अन्त्यमा प्रत्येक घर नै लक गर्नुपर्ने हुन्छ । बाहिर निसक्नुपर्ने कारण भनेको खाद्यान्न र औषधिको लागि हो । साधारण विरामी पर्दा विरामीका आफन्तले नै औषधि घरमै लगिदिने र जटिल भएमा एम्बुलेन्समा अस्पताल लैजाने । अब नगरपालिकाले लक डाउन लम्बिएमा आफै खान लाउन नपुग्नेलाई निःशुल्क र किन्न सक्नेलाई फोनबाट अर्डर गरेर होम डेलीभरी गर्ने तयारी पनि गरेको छ ।’ उनले भने, ‘यो बन्दको लागि प्रत्येक ब्यक्ति आफै प्रहरी हो । सरकारका हरेक निर्णय सघाउनु पर्छ । ईटाली जस्तो स्वास्थ्य र प्रविधिमा अग्रस्थानमा रहेको देशमा हेलचक्र्याईको कारणले यो भयावहस्थिति आएको छ । नेपालमा फैलिए पछि यो स्थिति नियन्त्रण बाहिर जान सक्छ ।’

वीरेन्द्रनगरमा अहिले प्रदेश सरकारका अलावा नगरपालिकाले पनि क्वारेन्टाइनको व्यवस्थापन गरिरहेको छ ।  वीरेन्द्रनगरमा कोरोना संक्रमण नफैलियोस भन्नेमा उनी सचेत छन । नगरपालिकाको टिम नै नगरमा हुनसक्ने सम्भावित संक्रमणको स्थानलाई निरन्तर टेलीफोनमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सँग बारम्बार प्रत्यक्ष सम्पर्क समन्वयमा रहेको उनी बताउँछन् । कोरोना विरुद्ध लड्न उनी एक्लै मात्रले पुग्दैन । सबै वडाध्यक्ष र कार्यवाहाक नगर प्रमुखसँग आन्तरिक संचार सेट र मोबाईलबाट सम्पर्क गरिरहेका छन् त्यसकालागि । दमकल, विपद ब्यवस्थापन, फोहोरमैला ब्यवस्थापन र स्वास्थ्यकर्मीहरु सँग सेट,फोन र फेशबुक मार्फत संचार, व्यवस्थापन र निर्देशन दिइरहेको उनको भनाई छ ।

‘सबै ब्यक्ति घरमै बसौं । एक डेढ महिना दाल चामल मात्रै खाँदा पनि बच्न सकिन्छ । वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएकोले अन्य
धेरै जिल्लाको प्रवेश विन्दु पनि हो । नगरबासी मात्र नभएर आगन्तुक ब्यक्तिहरुलाई ब्यवस्थापन गर्न चुनौती र जोखिम छ ।’ उनी भन्छन्, ‘हेलचक्याई र लापरवाही पटक्कै नगर्न आग्रह गर्न चाहन्छु । हात धोएर, मास्क लगायर पनि हेलचक्याई गरेपछि स्थिति भयावह हुन्छ । सुरक्षा कवच लगाउँदा विदेशमा डाक्टर र स्वास्थ्यकर्मीमा त संक्रमण भएको छ । तर सर्वसाधारणमा त यो बच्न सम्भवै छैन । तरपनि चेन ब्रेक गर्ने हो । सम्पर्क पातलो गर्ने नै हो । यो भाईरस हो यसको औषधि पनि हुँदैन । सजग हुन आग्रह गर्दछु ।’

कोरोनाको त्रास बढेपछि कार्यपालिका पनि तातिएको छ । कार्यपालिकाको आपातकालिन बैठक बसेको छ । उनका अनुसार विभिन्न निर्णयहरु भएका छन् ।
नगरपालिकाले प्रत्येक वडाबाट विपन्न परिवारको लागि न्यूनतम् खाद्यान्न उपलब्ध गराउने गरी प्रति वडा ५।५ लाखको दरले उपलब्ध गराएको उनले बताए । ‘स्थानीय स्तरमा तयार भएका ६० थान एएभ् स्वास्थ्यकर्मीहरुलाई वितरण गरिएको, सेनिटाईजर, ईन्फ्रारेड थर्मो मिटर लगायतका सामग्री अर्डर गरिसकिएको छ । विदेशबाट प्लेन आएपछि आइतबार सम्म आउँछ होला । सबै स्वास्थ्य सँस्थाहरुमा करिव २ महिनालाई पुग्ने आधारभूत औषधि भण्डारण गरिएको छ ।’ कोरोना कहरको तयारी बारे उनी भन्छन्, ‘प्रत्येक वडाहरुमा क्रमशः डिस्ईन्फेक्ट छर्नेकाम सुरु गरिएको छ । प्रहरीको भ्यान र प्रहरी प्रयोग गरी बस्ती र वडाहरुमा माईकिङ् गरिएको छ । तत्काल आवश्यक पर्ने सरसामग्री जुटाउन स्वास्थ्य शाखामा ५ लाख रुपैया पेश्की दिईएको छ । हाल सम्म नगरपालिकाले तयार र समन्वय गरेका क्वारेन्टाईनमा सुर्खेत र बाहिरका समेत ब्यक्तिहरुलाई राखिएको छ । जन माबि, अन्तर्निर्भर समाजको कार्यालयमा नगरपालिकाले समन्वय र ब्यवस्थापन गरेको छ ।’

‘प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, कार्यवाहक नगर प्रमुख सहित बजार अनुगमन र जनचेतना जगाउने काम गरिरहेका छौं । यसका अलावा जिल्ला सुरक्षा समितिको बैठकमा आमन्त्रित भएर सहभागी भएका छौं । देश, जिल्ला, पालिका, वडा, टोल र प्रत्येक घर लक गर्नुपर्ने सुझाव दिई उद्योग बाणिज्य संघ सँग अत्यावश्यकीय वस्तुको तथ्यांक लिई होम डेलीभरी गर्नुपर्ने व्यवस्थ ागर्न आवश्यक छलफल भएको छ । तयारी सुरु गरेका छौं ।’