२०८३, १८ असार बिहीबार

वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन तयार

सुर्खेत ।  नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ।

प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताए। ‘एक जनालाई एउटा टेन्टमा राख्ने व्यवस्था मिलाएका छौं,’ बस्नेतले भने, ‘आवश्यकता अनुसार टेन्टहरु थप्ने तयारी छ।’ खुल्लामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ। खण्ड ‘क’ मा एक सय ५, खण्ड ‘ख’ मा एक सय ५ र खण्ड ‘ग’ मा एक सय ९० जनाका लागि टेन्ट तयार गरिएको छ। क्वारेन्टाइनमा बस्नेहरुका लागि खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ। ‘सेनाको सुपरिवेक्षणमा खाना प्याकिङ हुन्छ,’ उनले भने, ‘प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरुलाई उपलब्ध गराउनुहुन्छ।’

क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी राखिएको छ। क्वारेन्टाइनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ छ। सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ।

क्वारेन्टाइन नहुँदा प्रदेश सरकारले वीरेन्द्रनगरको अशोका होटल, अन्तरनिर्भर समाज र जन माविमा भारत र अन्य मुलुकबाट आएका कर्णालीका नागरिकहरुलाई चार दिनदेखि राखिरहेको छ। भारतबाट आएर जन माविमा राखिएका २२ जनालाई शनिबारनै दैलेख पठाउने तयारी प्रदेश सरकारले गरेको छ। सम्वन्धीत जिल्लामानै क्वारेन्टाइन निर्माण भइसकेकाले जन माविमा राखिएका दैलेखका २२ जनालाई पठाउन लागिएको प्रदेश सरकारले जनाएको छ। ‘बाँकी सुर्खेत र साविकको कर्णालीका नागरिकहरु छन्,’ प्रमुख सेनानी बस्नेतले भने, ‘उहाँहरुलाई अवको १० दिनसम्म खुल्लामञ्चको क्वारेन्टाइनमा राख्छौं।’ सेनाले प्रत्येक टेन्टभित्र दैनिक प्रयोग हुने सामाग्रीहरु राखेको छ। महिलाका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ।

कर्णाली प्रदेश सरकारको आर्थिकम सहयोगमा नेपाली सेनाले क्वारेन्टाइन निर्माण गरेको हो। अघिल्लो साता बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले वीरेन्द्रनगरमा एक हजार शैय्याको क्वारेन्टाइन निर्माण र सञ्चालनको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। नागरिकन्युजबाट