२०८१, १ कार्तिक बिहीबार

कोरोना जाँच हेल्थ डेस्कमा कर्णालीका मुख्यमन्त्री ‘छापामार’ शैलिमा पुगेपछि…

शेरबहादुर थापा
सुर्खेत, १ चैत ।
विश्व्लाई नै आतंकित पारिरहेको कोरोना(कोभिड १९) भाइरसबाट बच्न गरिएको तयारीबारे बुझ्न शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘छापामार’ शैलिमा भेरीगंगा नगरपालिका वडा नं. ५ बबई र प्रदेश अस्पताल कालागाउँमा पुगे । कसैलाई सुरुमा थाहै नदिएर, विभिागिय मन्त्रालयलाई समेत विहान ढिलोमात्रै जानकारी दिएर मुख्यमन्त्री शाही हेल्थ डेस्कको अवस्था के छ भनोर बुझ्न पुगेका थिए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रिने प्रमुख नाकाको रुपमा रहेको बबई पुल नजिकै फागुन २६ गते देखि निरन्तर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा निर्देशनालयले हेल्थ डेस्क नै स्थापना गरि जाँच गर्दै आइरहेको छ । दैनिक रुपमा २५ सय देखि तीन हजार भन्दा बढी यात्रुलाई जाँच गर्ने गरिएको छ ।


‘हिजो नै मैले खबर गरेको भए थप तयारी गर्ने हुन्थ्यो होला । जाँच प्रक्रियालाई व्यवस्थि तगर्ने थिए होलान तर मलाई वास्तविकता पत्ता लगाउनु थियो । त्यसैले तपाईले भने जस्तै छापामार शैलिमा नै म त्यहाँ गएको हुँ ।’ उनले भने, ‘कहाँ के अभाव छ, कसरी डेस्कलाई व्यवस्थापन गर्न सकिन्छ र कर्णालीमा कोरोनालाई कसरी प्रवेश गर्न रोक्न सकिन्छ भन्ने कुराको जानकारी लिन र उपाय अवलम्बन गर्न म यहाँ आएको हुँ ।’

उनले बबईमा दुइ ओटा शौचालय बनाउन, चौविसै घण्टा स्वास्थ्य जाँच गर्न, ब्यारेल नै निर्माण गर्न र कर्मचारी थप गर्न निर्देशन समेत दिए । ‘विश्व नै आतंकित बनाइरहेको कोरोना विरुद्ध जोगिनु नै हाम्रो उत्तम विकल्प हो । यसलाई कर्णाली प्रदेशमा प्रवेश नै गर्न नदिने गरी अघि बढनुस् । मोटरसाइकल सवार होस या अन्य कुनै सवारमिा आवत जावत गर्ने नागरिक होउन सबैलाई कडा निगरानीका साथ जाँच गर्नुस । शंका लागेको खण्डमा तत्काल उक्त व्यक्तिको उपचारमा ध्यान दिनुस ।’ मुख्यमन्त्री शाहीले भने, ‘विकसित देश नै तनावमा भएका बेला हामीले चाहेर पनि नियन्त्रण गर्न समस्या हुनेछ । त्यसकालागि कोरोनालाई प्रवेश गर्न नदिनु नै हाम्रो लागि सबैभन्दा सजिलो उपाय हो ।’


भारतका विभिन्न स्थानमा नेपाली युवाहरु रोजगारका लागि जाने गरेको बताउँदै अब ती युवाहरुको फर्कने क्रm सुरु हुने हुँदा विशेष ख्याल गर्नुपर्ने मुख्यमन्त्री शाहीको भनाई छ । ‘हाम्रो प्रदेशमा भारतबाट नै कोरोना भित्रिने खतरा छ । हजारौं युवाहरु भारतबाट फर्किरहेका छन् । खेतीपातीको सिजन भएका कारण कतिपय आउँदै पनि छन् । भारतमा कोरोना संक्रमण तीव्र भइरहेको बेलामा कुनै पनि बेलामा कोरोना कर्णाली भित्रिन सक्छ, त्यसलाई बबई वारी आउन नदिने गरी खटिनुस । के आवश्यक पर्छ प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

यता, बबई अनुगमन पश्चात सोझै मुख्यमन्त्री शाही प्रदेश अस्पताल कालागाउँमा आइसोलेसन बेड र क्वारेन्टाईनको व्यवस्थापनको अनुगमन गर्न गए । प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्बर खड्काले अस्पतालमा पाँच ओटा आइसोलेसन बेड तयार अवस्थामा राखिएको देखाए । ‘हामीले पाँच वटा बेडहरु तयार अवस्थामा राखेका छौं । क्वारेन्टाईनका लागि पनि बेडको व्यवस्थापन अन्तिम चरणमा पुगेको छ ।’ डा. खड्काले मुख्यमन्त्री शाहीलाई भने, ‘अरु बीस वटा आइसोलेसन बेडको व्यवस्थापन गर्न हामी तयारी गरिरहेका छौं ।’

मुख्यमन्त्री शाहीले भने कम्तिमा दुइ सय जनालाई क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाई राख्न निर्देशन दिए । ‘कम्तिमा दुइ सय जनालाई क्वारेन्टाईंनमा राख्ने गरी तयारी गर्नुस । आवश्यक परे बेड पनि थप्नुस ।’ मुख्यमन्त्री शाहीले भने, ‘कोरोना आतंकबाट नागरिकलाई जोगाउन जति सकिन्छ उपाय अपनाउनुस । बजेटको कुनै पनि चिन्ता नमान्नुस ।’

कालिकोटको पचाल झरना गाउँपालिकाको वडा नं. ८ का दिपक टमट्टा बबई पुल वारी आउँदा गाडी रोकिएकोमा अलमलमा परे । खलासीले सबैलाई कोरोना जाँचकालागि भन्दै झर्न बताए । बसको सुरुकै सीटमा बसेका उनी हेल्थ डेस्क नजिक गए । उनको ज्वरो नापियो । उनलाई ज्वरो रहेनछ् । उनलाई गाडीमा जान स्वास्थ्यकर्मीले अनुमति दिए । ‘हाम्रो प्रदेशमा आउँदा मात्रै मैले जाँच गर्न पाएँ । हेटौंडाबाट आएका हौं अन्यत्र कतै यस्तो व्यवस्था रहेनछ् ।’ उनले भने, ‘प्रदेश सरकारले कम्तीमा यति गर्नु पनि ठिकै हो जस्तो लाग्छ ।’


कोहलपुरबाट फर्कदैं गरेकी सल्यानको कालिमाटी गाउँपालिका वडा नं. ७ की सपना राना पनि प्रदेश सरकारको काम देखेर खुशी नै भईन । सबैलाई जाँच गर्दो रहेछ, उनी भन्छिन्, ‘कम्तिमा अब सरकारले हामी सबैलाई एक दुइ वटा माक्स दिएको भए हुन्थ्यो ।’


स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले मास्कको प्रयोग बढाउन भन्दा पनि कोरोनबाट जोगिने उपाय महत्वपूर्ण भएकाले त्यतातिर ध्यान दिइरहेको बताईन । ‘मास्क चौवि घण्टामा फेर्नुपर्ने हुँदा सबै जनताको पहुँचमा नभएका कारण सावुन पानीले हात धुन र अन्य बच्ने उपाय अवलम्बन गर्न हामीले अनुरोध गरिरहेका छौं ।’ निर्देशक भण्डारीले भनिन्, ‘हामी सबैको तयारी भनेकै कर्णालीमा कोरोना नभित्र्याउनमा केन्द्रित छ ।’