२०८३, १७ असार बुधबार

भेरी बबईको काममा तीव्रता, चालिस प्रतिशत काम सम्पन्न

सुर्खेत ।
राष्ट्रिय गौरवको भेरी–बबई डाइर्भसन बहुउद्देश्यीय आयोजनाको कामले तीव्रता पाएको छ । हालसम्म आयोजनाको दोश्रो चरणको ४० प्रतिशत काम सम्पन्न भएको छ । भेरी नदीको पानी बबईमा खसालेर बाँके र बर्दियाका ५२ हजार हेक्टरमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ २०६१ देखि आयोजना निर्माण सुरु गरिएको हो ।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टिविएम)मार्फत १२.२ किलोमिटर सुरुङ निर्माण गरिएको आयोजनामा अहिले दोस्रो प्याकेज अन्तर्गत बाँध (ड्याम) र विद्युतगृह (पावरहाउस) निर्माणको काम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले दोस्रो प्योकज अन्तर्गत बाँध र विद्युत् गृहको मंसिर १६ गते शिलान्यास गरेका थिए ।

‘अहिले चिप्लेमा बाँध निर्माणका लागि पानीलाई डाइभर्सन गर्ने काम भइरहेको छ,’ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर कृष्ण उपाध्यायले भने, ‘सँगसँगै बबईमा विद्युत्गृह निर्माण हुँदैछ ।’ उपाध्यायले टिबिएममार्फत खटिएको सुरुङको फिनिसिङको काम पनि अन्तिम चरणमा रहेको बताए ।

‘समग्रमा अहिलेसम्म आयोजनाको ४० प्रतिशत काम निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘लक्ष्यअनुसार काम भइरहेकाले तोकिएकै समयमा आयोजना निर्माण सम्पन्न हुन्छ ।’ विद्युतगृह र बाँध निर्माणका लागि सिँचाइ विभागले २०७६ साउन १३ गते रमण–ग्वाङ्डोन जेभीसँग ६ अर्ब १६ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिनमार्फत बबईको हात्तीखालदेखि भेरीको चिप्लेसम्म १२.२ किलोमिटर सुरुङ चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी (कोभेक)ले सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सम्पन्न गरेको थियो । २०७४ कात्तिक २० गते विद्युत्गृह निर्माणस्थल हात्तीखालबाट प्रवेश गरेको टिबिएमले २०७६ चैत १५ गतेभित्र सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो ।

निर्धा्रित समयभन्दा करिब एक वर्षअघि नै टिबिएम चिप्लेस्थित भेरी नदी किनारमा निस्केको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको वैशाख ३ गते चिप्लेमा आयोजित कार्यक्रममा ब्रेक–थ्रुको घोषणा गरेका थिए ।

चिप्लेमा बाँध, बबईमा विद्युत्गृह र सर्ज साफ्ट निर्माणका लागि रमण–ग्वाङ्डोनले दुई ठाउँमा क्याम्प स्थापना गरेको छ । बाँध निर्माणका लागि एक लाख क्युबिक मिटर र विद्युत्गृह निर्माणका लागि ५० हजार क्युबिक मिटर कंक्रिट आवश्यक पर्छ ।

निर्माण कम्पनीले चिप्लेमा क्रसर उद्योग स्थापना गरेर कंक्रिट उत्पादन सुरु गरेको छ । रमण–ग्वाङ्डोन जेभीका फिल्ड प्रमुख राम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएकै समयमा निर्माण सम्पन्न गरिने प्रतिबद्धता जनाए ।
आयोजना प्रमुख सञ्जीव बरालले बाँध, विद्युत् गृहसँगै हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल अन्तर्गतका कामहरु पनि सँगसँगै सम्पन्न गर्ने गरेर काम भइरहेको बताए । भेरी नदीको चिप्लेमा ११४ मिटर लामो, ६ ब्यारेजसहितको १५ मिटर अग्लो बाँध निर्माण हुने छ । ३३ अर्ब १९ करोड रुपैयाँमा २०८० भित्र निर्माण सम्पन्न हुने आयोजनाबाट वार्षिक कृषिबाट ३.१० अर्ब र विद्युत्बाट चार अर्ब रुपैयाँ फाइदा हुने छ ।

भेरीको पानी १२.२ किलोमिटर सुरुङमार्फत बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादनका साथै प्रदेश ५ का बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु(याउने लक्ष्य आयोजनाको छ । लक्ष्यभन्दा एक वर्षअघि नै सुरुङमार्ग निर्माण सम्पन्न गरेको आयोजनाले अहिले चिप्लेमा बाँध निर्माणको काम गरिरहेको छ । बाँधसँगै बबईमा विद्युत्गृह निर्माण पनि सुरु गरिने आयोजना प्रमुख बरालले जानकारी दिए । बाँध र विद्युत् गृह निर्माणको ठेक्का रमण–ग्याम्डोङ जेभीले पाएको छ ।