शिक्षण सिकाइको तरिका बदल्ने कि ?

दर्शक दिर्घा अभिभावक र आमन्त्रितहरुले भरिएको थियो । अन्तीम दिनसम्म पाँच जना छात्रा र पाँच जना छात्र छनौट भएर प्रतिष्पर्धामा आएका थिए । जजहरुले ती मध्ये पनि सर्वाेत्कृष्ठ को हो त भनेर दिमाग खियाउदै थिए । यस्तैमा जजमध्येबाट पूर्व प्रधानाध्यापक गेहेन्द दाहालले प्रतिष्पर्धी किर्ती थापालाई सोध्नु भयो – ‘किर्ती, तिमीलाई विद्यालय परिवार र आफन्तहरुले के भनेर चिन्छन ? किर्ती थापाको जवाफ थियो – ‘म यो विद्यालयमा कक्षा ४ देखि पढिरहेकी छु र अहिले कक्षा ११ मा पढछु । मलाई डान्स गर्न मन पर्छ ।
मेरो डान्सको भिडियोहरु यूटुवमा हेर्न सक्नुहुन्छ । त्यसरी नै मैले ताइकान्दोमा ल्ब्याकबेल्ट सम्म हासिल गरेकी छु । त्यसैले समग्रमा यो विद्यालय र मलाई चिन्नेहरुले यो किर्ती थापालाई यौटा डान्सर र ताइकान्दो खेलाडी भनेर चिन्ने गर्छन ।’ उनले यो जवाफ दिदै गर्दा दर्शक दिर्घाबाट आएको तालिले कार्यक्रमस्थल गुञ्जायमान भएको थियो । मैले चर्चा गरेको यो दृष्टान्त सैनिक महाविद्यालय सुर्खेतले प्रतिभाशाली विद्यार्थीहरुको प्रतिभा पहिचान गर्नका लागि आयोजित कार्यक्रमको अन्तीम दिनको थियो । जहाँ यो पङ्तिकारले पनि दर्शकदिर्घामा उपस्थित हुने अवसर प्राप्त गरेको थियो ।
उक्त दिनको कार्यक्रममा प्रतिष्पर्धी विद्यार्थीहरुले गरेका क्रियाकलापहरुको सङ्क्षेपमा अवलोकन गर्ने अवसर मिल्यो । उनीहरु सवैले विभिन्न स्थानमा गएर सरसफाइ, जनचेतना र मानवसेवाको क्षेत्रमा गरेका कामको भिडियो क्लिप देखाइएको थियोे । उनीहरु मध्ये कसैले अभिनय गरेर आफ्नो प्रतिभा देखाए । कसैले बक्तृत्वकलाको प्रदर्शन गरे । कसैले नृत्य प्रदर्शन गरे भने कसैले कविता बाचन ।
यसका साथसाथै विभिन्न भेषभुषामा सजिएका प्रतिष्पर्धीहरुले आफूले कुन जातिको पोशाक लगाएको हो सोही जातिको विशेषताको बारेमा समेत आफ्ना भनाइहरु राखेर क्षमताको प्रदर्शन गरे । ‘हेड टु हेड वार’ शीर्षक दिइएको क्रियाकलाप अन्तर्गत सञ्चारकर्मीको भूमिकामा रहेकी छात्राले सोधेको बादविवाद प्रतियोगिताका निम्ति सुहाउने विभिन्न शीर्षकमा आफ्ना गतिला तर्कहरु प्रस्तुत गरेर आफ्नो प्रतियोगीको विचारलाई खण्डन गर्ने सवालमा आफ्नो गहन अध्ययन र बाचाल वाकपटुताको प्रदर्शन गरेका थिए । त्यतिमात्र नभइ उनीहरुको प्रस्तुतिमा स्वाभाविकता देखिन्थ्यो । प्रतिष्पर्धीहरुले अन्तीममा निर्धारित समयभित्र लिखित प्रश्नको जवाफ लिखित रुपमै तयार गरी सवैको सामु बाचन समेत गरेका थिए ।
प्रतिष्पर्धी सुजन शाहीले अभिनय गर्दै गर्दा मेरो मुटु भक्कानिएको थियो । परेलीबाट झर्न थालेका आँशुका थोपाहरु लुकाउनका लागि खल्तीमा राखेको रुमालको सहयोग लिनु परेको थियोे । प्रतिष्पर्धी विद्या भण्डारीको अभिनयमा पनि मैले यस्तै अवस्थाको सामना गर्नु परेको थियो । आफ्नो छोटो अभिनयमै सुजनले आमाबाबा लगायत परिवारका सदस्यले जन्मदिनमा समेत आफ्नो माग पुरा नगरेको कारणले बालहठको सिमा नाघेर मम्मीलाई ‘आइ हेट यू’ भन्न समेत बाँकी राख्दैन ।
बर्थ डे कै कारणले होमवर्क गर्न नभ्याएकोले गर्दा शिक्षकले कुटेको कुरा समेत अभिनयमा प्रस्तुत गरे सुजनले । छोराको माग पूरा गर्नका लागि साइकल किन्न बजार गएको समयमा देशमा चलिरहेको युद्धमा परी आमाको मृत्यु हुन्छ । त्यतिबेला भने छोराको अभिनय गरिरहेको सुजनले ‘मम्मी, मलाई छोडेर नजानुस, आइ लभ यु मम्मी’ भनेर रुदा भने सुजन आफू मात्र रोएनन्, दर्शक दीर्घामा रहेका अधिकांशलाई रुवाए । विद्या भण्डारीले गरेको लैङ्गिक हिंशाका कारण छोरीले विभिन्न किसिमका हिंशाको सामना गर्नु परेको दृष्टान्तको अभिनय पनि कम मर्मस्पर्शी थिएन । ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने गीतमा प्रतिष्पर्धी इन्द्र थापाले गरेको अभिनयले पनि उपस्थित सवैबाट वा–वा पाएको कुरा यो पङ्तिकारले विर्सन सकेको छैन ।
विलियम स्पेडीले भनेका छन्, ‘हरेक विद्यार्थीले सिक्न सक्छन र सफलता हासिल गर्न सक्छन, फरक यत्ति हो कि सवैले एउटै तरिकाबाट र एउटै समयमा सिक्न सम्भव हुदैन ।’ यो प्रयोग सुर्खेतको सैनिक विद्यालयले गरेर देखाएको छ । एउटा कुरा के पनि सत्य हो भने बालबालिकाहरु आफै गरेर सिक्न चाहन्छन् । शिक्षक र अग्रजहरुबाट उनीहरुले आशा गरेको भनेको प्रेरणा हो । हामी अग्रज वा शिक्षकहरुले पनि उनीहरुलाई सिक्नका लागि सघाउने हो । सिक्नका लागि प्रेरणा दिने हो ।
उनीहरुलाई सहयोग गर्ने क्रममा उनीहरुका भावना र सम्भावनाहरुलाई समेत पहिचान गरेर तदनुसारको मार्ग निर्देशन गर्नु पनि शिक्षक र अग्रजहरुको भूमिका हो । यति गर्न सकियो भने उनीहरु अघि बढ्न सक्छन् र आफ्नो प्रतिभा र क्षमताको प्रष्फुटन गर्न सक्छन् । मैले केही समयदेखि हेर्दाहेर्दै उल्लिखित सैनिक विद्यालयले आफूलाई त्यो भूमिकामा उभ्याउन धेरै हदसम्म सफल भएको छ ।
हामीले विद्यार्थी अर्थात बालबालिकाप्रति गरिरहेको ब्यवहार उपयुक्त हुन नसकिरहेको अवस्था छ । कसैले अलि बढि माया गर्ने नाममा पुल्पुल्याउने काम गरिरहेका छौं । यत्तिसम्म कि उसले गर्न सक्ने काम पनि उसलाई गर्न नदिएर हामी आफैले गरिदिन्छौं ।
अर्कोथरीले विद्यार्थी अर्थात बालबालिकालाई न्यूनतम माया र स्नेह पनि दिन सकिरहेका छैनौं । यत्तिसम्म कि उसले बाँच्नका लागि आवश्यक पर्ने आधारभूत कुराहरु समेत अभिभावक र राज्य कसैबाट समेत पाउन नसकेर सडकको सहयोग लिन बाध्य देखिन्छ । यी दुवै ब्यवहार बालबालिकाको उपयुक्त विकासका लागि उचित होइनन् । उनीहरुलाई गरेर सिक्ने वातावरण दिनु पर्दछ ।
उनीहरुले गर्न चाहेको काम उनीहरुकोे शारीरिक र मानसिक विकासको हिसावले हानिकारक छैन भने गर्नका लागि सहयोग एवम् प्रेरणा प्रदान गर्न सक्नुपर्दछ । हामीले कहिलेकाही त बालबालिकाले आत्मनिर्भर हुनका लागि गर्नुपर्ने काम सहर्ष किसिमबाट गर्नका निम्ति अनुमति दिने सवालमा समेत बालअधिकारको हवाला दिएर निषेध गर्छौंैं जुन बालबालिकाका विकासका निम्ति प्रत्युत्पादक भइरहेको देखिन्छ ।
विकसित देशहरुमा बालबालिकाको विकासका निम्ति अभिभावक, शिक्षक र राज्य हामी भन्दा बढि गम्भीर भएको देखिन्छ ।
जापानको कुरा गर्दा विद्यालयमा कुचिकार, माली, पाले आदिको पनि व्यवस्था गरिएको हुदैन । विद्यालय चिटिक्क बनाउने, विद्यालयमा बगैचाको ब्यवस्था गर्ने र विद्यालयका सामग्रीहरुको संरक्षण गर्ने कुरा विद्यार्थी र शिक्षकहरुले गर्दछन् । यत्तिमात्र नभइ तीनचार वर्षको उमेर देखि नै आफ्ना लुगाकपडाहरु आफैले धुने, आफैले पहिरिने र आफैले लुगामा आइरन गर्ने आदि कार्य समेत बालबालिकालाई सिकाइन्छ । दूध गाई वा भैसीले दिन्छ मात्र भनिदैन, गाईभैसी पालेको ठाउमा गएर अवलोकन गराइन्छ र गाईभैसीको दूध समेत दुहुन सिकाइन्छ । यसरी नै जर्मनीमा ३ वर्ष पुगेपछि हरेक बालबालिकालाई साइकल चलाउन सिकाइन्छ । विद्यालयको शिक्षा आरम्भ गर्ने क्रममा हरेक बालबालिकाहरु विद्यालय जाँदा साइकल चढेर जाने गर्दछन् । यसको अर्थ हो बालबालिकालाई श्रमप्रतिको श्रद्धाभाव जगाउदै श्रम गर्ने बानीको विकास गराइन्छ ।
राणशासनकाल र पञ्चायतकालदेखि चलिआएको पढ्नु लेख्नु भनेको बसीबसी अरुमाथि शासन गरेर खानको निम्ति हो भन्ने संस्कारलाई अहिले पनि बचाइरहेको स्थिति छ हामीले । नीति र कार्यक्रममा श्रमप्रति सम्मान गर्ने कुरा जतिपटक दोहो¥याए पनि काम गर्ने मानिसप्रति सम्मानभाव जाग्न र जगाउन सकिएको छैन । शारीरिक श्रमका भरमा जिन्दगी बाँच्नेलाई त हामीले नोकर र तल्लो दर्जाको नागरिक भनेर अपमान गर्न समेत पछि पर्दैनौं । श्रमजीविहरुको हवाला दिनेहरुको सरकार आउदा समेत मानिसहरुको यो चिन्तनलाई सुधार गर्नका लागि सवैले महसुस गर्ने गरी कुनै पहल गरे झै लाग्दैन ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग २०७५ को प्रारम्भिक खाकामा ‘अव उप्रान्त माध्यमिक शिक्षा उत्तीर्ण गर्ने हरेक ब्यक्तिले जीवन उपयोगी स्वावलम्बी सीपहरु जस्तै ः समुदायसँग सामाजिक सम्बाद गर्ने सीप, समूहमा बोल्ने तथा प्रस्तुतिकरणको सीप, समूहमा मिलेर काम गर्ने सीप, तनाव ब्यवस्थापन सीप, आत्म रक्षाको सीप, सामान्य प्लम्बिङ, सामान्य विद्युत जडान, करेशाबारी खेती, खाना पकाउने, सामान्य सिलाइ, नक्सा बनाउने र पढ्ने, ट्राफिक नियम पालना गरेर हिड्ने र बाहन चलाउने, पौडी खेल्ने, रुख एवम् पहाड चढ्ने सीप आदि सिकिसकेको हुने गरी पाठ्यक्रम बनाइ कार्यान्वयन गरिनेछ’ भन्ने कुरा उल्लेख गरिएको थियो । तथापि त्यो प्रतिबेदन आजका मितिसम्म सार्वजनिक भएको छैन र त्यसैको आधारमा तयार गरिएको भनिएको राष्ट्रिय शिक्षा नीतिमा समेत यी कुराहरु समावेश गर्न कञ्जुस्याइ गरेको देखिन्छ ।
हाम्रो धर्म ग्रन्थमा उल्लेख गरिएका हनुमानलाई बलियो, साहसी र मालिकका आज्ञाकारी सेवकको रुपमा चिनाइएको छ । उनी बालक छँदा अति चकचके भएको कारणले तपस्वीहरुले उनलाई आफ्नै शक्ति भुल्ने र अरुले याद नदिलाउञ्जेलसम्म याद नआउने श्राप दिएका थिए । मलाई त लाग्छ, हाम्रा केही गरौं भन्ने स्वभावका बालबालिकाहरुलाई पनि हनुमानलाई जस्तै श्राप दिएर विद्यालयका कक्षाकोठामा बन्धक बनाइएको जस्तो लाग्छ । हाम्रा कक्षाहरु ब्याकरणका नियमहरु, गणितका सूत्रहरु र कसैले प्रतिपादन गरेका सयौ वर्ष पुराना सिद्धान्तहरु घोकाउने थलोको रुपमा मात्र प्रयोग गरिए । उनीहरुको अन्तरनिहित क्षमतालाई प्रष्फुटन गर्नका लागि होइन कि दवाउनकै लागि हामीले हाम्रा कक्षाकोठामा सञ्चालन हुने शिक्षणसिकाइका विधिहरुको प्रयोग गरिरहेका छौं । सैनिक विद्यालयले गरेको जस्तो पनि साहस गर्न सकेनौं हामी कसैले । भएका खेलमैदान र करेशाबारीलाई समेत कक्षाकोठाका निम्ति भवन निर्माण गरेर मास्यौं । बरु प्रकृतिबादको विरुद्धमा पर्खाल र तारवारले बारेर विद्यालयलाई बाह्य संसारबाट अलग बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्यौं ।
हाम्रो शिक्षण सिकाइको यो पाराले फेरि पनि काम नगरी बसी बसी खान रुचाउने व्यक्तिको उत्पादन हुने कुरामा कुनै सन्देह देखिदैन । हामीले अघि सारेका प्राविधिक विद्यालयहरु समेत २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजनाले अघि सारेका ब्यावसायिक विद्यालयहरु जस्तै ओझेलमा पर्ने खतरा पनि त्यत्तिकै देखिएको छ । यसका लागि सरकार, समाज, अभिभावक, शिक्षकलगायत शिक्षाका समग्र सरोकारवालाहरुले शिक्षालाई गरेर सिक्ने प्रक्रियाको रुपमा आत्मसात गर्नु आवश्यक छ र त्यसै अनुरुप विद्यार्थीका निम्ति सञ्चालन गरिने शिक्षण सिकाइ क्रियाकलापलाई बदल्न जरुरी छ । अरु केही गर्न सकिएन भने पनि कम्तिमा सैनिक विद्यालय सुर्खेतले आरम्भ गरेको विद्यार्थीको प्रतिभा पहिचान अनि प्रष्फुटनको प्रक्रियालाई मात्र भएपनि अवलम्बन गरेर शिक्षण सिकाइ क्रियाकलापलाई पुनरावलोकन गर्न अतिआवश्यक भइसकेको छ । सवैलाई चेतना भया ।
