२०८२, ३० जेष्ठ शुक्रबार

मदिरा र सुर्तीजन्य पदार्थमा राउटेको लतः राउटे बालक पनि भन्छन्, ‘सुर्ती किन्ने पैसा दिनुस्’

सुर्खेत । सुर्खेतस्थित नयाँ सबुज गण कपासे व्यारेकका गणपति झुलेन्द्रविक्रम वस्नेत सहितको टोली दैलेखको गुराँस गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सिमानामा रहेको राउटे वस्तीमा पुग्यो । वस्ती नपुग्दै बाटोमै करिव २५ वर्षीय राउटे जवान सुरेन्द्र शाहीले बस्नेतसँग सुर्र्ती किन्ने पैसा मागे ।

उनीसँगै रहेका अर्का राउटे युवक भक्तबहादुर शाहीले मेघा श्री नामको गुट्खा किन्ने पैसा मागे । उनीहरूले सुरुमै नमस्ते गरे र पैसा मागे । ‘नमस्ते हजुर, हामीलाई दुई सय रुपियाँ दिनुस् ।’ पैसाको प्रयोग उनीहरूले हानिकारक सुर्ती र मेघाश्री जस्ता पदार्थमा प्रयोग गर्ने बताए । ‘हामी बरु रक्सी खान्नाैँ । पैसा दिनुस् ।’ उनीहरूले भने ।

‘उनीहरूले पैसा माग्दा मदिरा सेवन गर्ने भनी मागेपछि पैसा नदिने भनेपछि यस्तो जुक्ती लगाएका हुन्’, एक स्थानीयले भने । चिसोले काँपिरहेका उनीहरूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका मानविकी संकायका क्याम्पस प्रमुख तेजविक्रम बस्नेतले भने, ‘गुराँसे बजारमा जाऔँ, म ज्याकेट किनिदिन्छु ।’ तर, ती दुई राउटे युवकले आपूmहरूले कपडा नलगाउने भन्दै सुर्ती किन्न भनी उनीहरूले पैसा नै मागिरहेका थिए ।

राउटे वस्तीमै पुग्दा त झन प्रमाणित नै भयो राउटेहरू मदिरा अत्यधिक सेवन गर्छन् भनेर । वस्ती नै मदिराको गन्ध आइरहेको थियो । वस्तीमा रहेका करिब ४६ वटा घरमध्ये प्रायः घरको अगाडि मदिराका बोतलहरू फ्याँकिएका थिए । ससाना बालकहरू पनि जाँड भनिने मदिरा पिउँदै थिए । अँझै अच्चमको कुरा त एक करिव ७५ वर्षको वृद्ध राउटे मदिराले लठ्ठ भएर पल्टिएर गीत गाइरहेका थिए ।

राउटेका ससाना बालबालिकाहरू भन्दै थिए, ‘मेघा श्री किन्ने पैसा दिनुस् न हामीलाई ।’ उनीहरूलाई अन्य त्यहाँ हेर्न गएकाहरूले दिने रकमबाट कुलतमा लागेको कुरा स्पष्ट थियो । ‘राउटेहरू प्रत्येक महिना सरकारले दिने लोपोन्मुख समुदायअनतर्गतको प्रतिराउटे दुई हजार रुपियाँका दरले पाउँछन् । तर त्यो रकम केही मात्रामा चामल किन्छन् । अन्य पैसा मदिरामा नै खर्च गर्छन् ।’ गुराँस बजारस्थित देवी होटलका सञ्चालक बलबहादुर पौडेलले भने, ‘भत्ता पाए भने रक्सी किन्न राउटेहरू हतार गर्छन् । उनीहरूलाई सरकारले दिने भत्ता रक्सी किन्न दिएजस्तै भएको छ ।’

गुराँसेकै अर्का एक होटल सञ्चालकका अनुसार राउटे हेर्न भनी गएका सबैसँग राउटेहरू पैसा माग्ने गर्छन् र त्यो प्रायः रकम मदिरा किन्न, सुर्ती, पुकार र मेघा श्री जस्ता हानिकारक पदार्थहरू किन्ने गर्छन् । ‘राउटेले भत्ता र अन्य हेर्न जानेहरूबाट धेरै नै पैसा संकलन गर्ने गर्छन् । तर, त्यो रकम न कपडा किन्छन् न अन्य प्रयोजन नै गर्छन्, केही मात्रामा चामल किने पनि अन्य रकम मदिरामै खर्च गर्छन्,’ उनले भने, ‘अचम्मको कुरा त के भने महिला, पुरुष, बच्चा, वृद्ध सबैले मदिरा अत्यधिक सेवन गर्छन् ।’

नेपाली सेनाको सुर्खेतस्थित नयाँ सबुज गण कपासे ब्यारेकका गणपति झुलेन्द्रविक्रम बस्नेतले राउटेहरूलाई दिने रकमले उनीहरूलाई मदिरा सेवनमा थप प्रोत्साहन हुने भन्दे रकम दिनुको साटो सामान किनिदिनुपर्ने बताए ।