अपाङ्गता भएकाले बोले माननीयले बुझेनन्

सुर्खेत ।
बुधबार वीरेन्द्रनगरमा राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले एक कार्यक्रमको आयोजना ग¥यो । अतिथिका रुपमा कर्णाली प्रदेश सभाका सदस्य तथा विधायन समितिका अध्यक्ष पदमबहादुर रोकाया र कर्णाली योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाको सहभागिता थियो । कार्यक्रममा सुरुमा सिद्ध बहिरा बालकको स्कुलमा अध्ययन गर्ने विद्यार्थीले गणितको शिक्षक बन्ने रहर गरे हातले संकेत गरेर । उनीहरुले हातले संकेत गरेको हेरेर दुवै जना अतिथिहरु दंग परे । उनीहरुले इशारा गरिरहँदा बडो चाखपूर्वक उनीहरु हेर्दै थिए तर केहि कुरा पनि बुझ्न भने सकेनन् । यो दृष्य थियो २८ औ अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशद्घारा बुधवार वीरेन्द्रनगरमा आयोजित अपाङ्गता भएका व्याक्ति र प्रदेशका सरोकारवाला विच सम्वाद कार्यक्रमको ।
करिब १ घण्टा १५ मिनेटको अन्र्तक्रियामा दृष्टिविहिन, बहिरा, बौद्विक अपाङ्गता भएका विद्यार्थी सहभागी थिए । दृष्टिविहिनले बालेर आफ्नो गुनासो सुनाए, बौद्घिक अपाङ्गताले पनि जेनतेन लेखेर सुनाए । सामान्य अपाङ्गता भएकाहरुले आ–आफ्ना गुनासा पोखे । तर त्यही बिचमा जव सुनुवाई सम्वन्धि अपाङ्गता भएका छात्रछात्राले साङ्केतीक भाषामा प्रयोग गरे ।
विद्यार्थी मिना विकले आफूहरु पनि राज्यको नागरिक भएको बताउँदै राज्यले उचित जिम्मेवारी बहन गर्न नसकेको आरोप लगाईन । ‘हामीले हाम्रो कुरा कहाँ राख्ने, कसले बुझिदिने र हाम्रो चाहना के हो भन्ने कुराको बोध कसले गर्ने ?’ प्रश्न गर्दै उनले भनिन, ‘कतै पनि हाम्रा कुरा राख्ने ठाउँ नै छैन । हातले संकेत गरे कसैले हाम्रो कुरा बुझ्दैनन् ।’ उनले कम्तीमा राज्यले आफूलाई अरु सरहको सेवा सुविधा दिनुपर्ने, हरेक मन्त्रालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने माग गरिन । ‘अहिले हामी पढने विद्यालयमा कर्णालीका ८९ जना विद्यार्थी छौं ।’ उनी भन्छिन, ‘राज्यले दिएको सेवा सुविधा कम भएको छ । खेलकुद सामाग्री, शिक्षक, अन्य आवश्यक पर्ने बस्तुहरुको सहज पहुँच छैन । हाम्रा लागि राज्यले अरु सरहको मात्रै व्यवहार गरे हुन्छ र ? कि हामी राज्यको नागरिक होइनौं ?’
अर्का बहिरा विद्यार्थी प्रविण थापा पनि सरकार प्रति गुनासो नै गर्छन । ‘हामीलाई राम्रो पाठ्यक्रम बनाई दिनु पथ्र्यों । हामी पनि पढेर डाक्टर बन्न चाहन्छौं, अरु जस्तै शिक्षक बन्न चाहन्छौं ।’ उनले भने, ‘राज्यले हामीलाई उपयुक्त शिक्षा दिक्षा दिन कञ्जुस्याई गरिरहेको हामीलाई लागेको छ । केहि भत्ताले मात्रै हामी ठूलो मान्छे बन्न सक्दैनौं जस्तो लाग्छ ।’ उनले लेखन सहयोगी पाएको खण्डमा पढ्न सजिलो हुने बताए । ‘छात्रावास पनि छैन, कम्प्युटर चलाउने रहर छ, प्रदेशमा सुविधा युक्त अपाङ्ग मैत्रि विद्यालय भईदिए मेरो सपना पुराहुने थियो कि ?’ उनी भन्छन्, ‘अपाङ्गता मैत्री सडकले मेरो जिवन सुरक्षीत हुने थियो ।’
दृष्टिविहिन बालिका मनिता विक पनि अपांगतामैत्री शैक्षिक पद्घतिको विकास भएको भए राम्रो हुने बताउँछिन् । सुन्दा सामान्य लाग्ने यो विषय बास्तवमै मार्मिक छ । तर समस्या उनिहरुले अवसर पाएनन भन्दा पनि उनीहरुले भनेका कुरा कसैले नसुन्ने नबुझ्ने नै हो भन्छन् राष्ट्रिय अपांग महासंघ कर्णालीका अध्यक्ष विष्णप्रसाद शर्मा ।
कार्यक्रममा सहभागि दुवै माननीयलाई पत्रकारले र सहभागिले प्रश्न सोधे, ‘तपाईहरुले केहि बुझ्नु भयो ?’ उनीहरुले नबुझेको बताए । तर अपाङ्गहरुले उल्टै जवाफ फर्काए मुख्य समस्या नै यहि हो । कहाँ गएर कसलाई कसरी बुझाउने ? यो कुरा त तपाईहरुले नै बुझ्नु पर्ने हो ? सहभागीहरुले प्रतिप्रश्न गरे ।
कार्यक्रममा सहभागि भइरहँदा दुवै जनालाई दोभाषे कोही भइदिएको भए भन्ने लागेको थियो । अरुकालागि भन्दा पनि आफ्नै लागि दोभाषेको आवश्यक परेको उनीहरुलाई भान भयो, महसुस भयो तर गर्ने कसले ? जनप्रतिनिधि नै अलमलमा परे ।
कार्यक्रममा विद्यार्थीहरुले बोलेका सबै कुरा नोट गर्दै गइरहेका योजना आयोगका सदस्य डा. रोकायाले उनीहरुको भनाईले मन छोएको बताए । नेताहरुले कार्यक्रममा बोल्ने यस किसिमको भाषण सामान्य हो । औपचारिकताका लागि बोल्नै पर्ने भएकोले उनिहरुले यति नबोल्दा कार्यक्रम नै खल्लो मानिनु प्रचलन नै छ ।
भलै काम होेस वा नहोस तर आयोगलाई भने राजनीतिसंग जोड्न नमिल्ने भएकोले समग्र प्रदेशको योजना निर्माण गर्ने, बनाउने जिम्मा पाएको आयोग भएकोले सहभागिहरु आयोगका सदस्यले बोलेको कुरामा ताली पिटदै थिए ।
अर्का अतिथि विधायन समितिका अध्यक्ष रोकायाले बढि समय सरकारको आलोचना गर्नमै केन्द्रित गर्दै खर्च गरे । उनले आफ्नो प्रतिवद्घता कम र सरकारको आलोचना बढी गरेका थिए । आफैँ समाजमा उपेक्षित भइरहेको समुदायको आवाज प्रदेश सरकार संग कसरी पुग्ला ? तर उनले सहजै भाषामा सरकारलाई झकझकाउन भने ।
तर कार्यक्रममो विषयवस्तु भने त्यो भन्दा फरक थियो । तर विद्यायन समितिको सभापति नै भएपछि केही ठोस प्रतिवद्घता आउछ कि भन्ने संकेत भने देखिएन ।
कर्णालीमा हाल ५० हजार अपाङ्गता भएका व्यक्तिहरु रहेको राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु प्रसाद सापकोटा बताउँछन । ‘कार्यक्रमको मुख्य उदेश्य बहिरा विद्यार्थीहरुको माग सम्वोधन गर्न सरकारका प्रतिनिधिले संसद र आयोगमा आवाज उठाइदेउन र बहिरा तथा दृष्टिविहिन बालबालिकाका लागि केहि सहयोग मिल्ला भन्ने अपेक्षा थियो ।’ उनी भन्छन, ‘कम्तिमा प्रदेश सरकारलाई दोभाषेको आवश्यकता पर्दोरहेछ भन्ने बताउन भन्न उहाँहरुलाई कार्यक्रममा सहभागि गराएका थियौं ।’ अध्यक्ष शर्माले कर्णालीमा एक जना पनि दोभाषे नरहेको बताए । ‘कर्णालीमा हाल एक जना पनि दोभाषे छैनन । कम्तिमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक जना दोभाषे राख्न पर्छ । बहिराहरुको मागहरुबारे सम्वोधन गर्न ।’ उनले भने, ‘सामान्य तालिम पनि तीन महिने कोर्ष गर्नुपर्ने भएकाले सरकारले कक्षा एक देखि नै पाठ्यक्रममा सांकेतिक भाषा पनि राख्न सकेको खण्डमा भविष्यमा बहिराले दुःख पाउने थिएनन्, लोकसेवा पास गरेका कर्मचारीहरुले पनि उनीहरुका कुरा बुझ्न, उनीहरुका माग सम्वोधन गर्न सजिलो हुने थियो ।’
सरकारका सामाजिक विकास मन्त्री दल रावलले बहिरा समुदायका कुरा बुझ्नका लागि मन्त्रालयले चार महिने सांकेतिक भाषा तालिम दिने बताए । ‘हामी उहाँहरुको मागमा सर्मथन गर्दै साँकेतिक भाषा सिकाइकालागि चार महिने तालिम दिने तयारी गरेका छौं ।’ मन्त्री रावलले भने, ‘त्यसकालागि प्रदेश सरकार यहि आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरि आवश्यक काम गर्न तयार छ ।’
अपाङ्गताको वर्गीकरण
शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा अपाङ्गता भएका व्यक्ति ।।
१. शारीरिक अपाङ्गता –
स्नायु, मासंपेशी र जोर्नी तथा हड्डीको बनावट एवं सञ्चालनमा समस्या भएको कारणबाट कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या (जस्तैः बाल पक्षघात (पोलियो), शारीरिक अङ्गविहीन, कुष्ठ प्रभाव, मांसपेशी विचलन (मस्कुलर डिस्ट्रोफी), जोर्नी र मेरूदण्ड सम्बन्धी स्थायी समस्या, क्लवफीट पैँताला फर्केको, रिकेट्स हड्डी सम्बन्धी समस्याका कारण उत्पन्न अशक्तता) तथा सोह्र वर्ष उमेर पुगेको व्यक्तिमा उमेर बमोजिम हुनुपर्ने औसत उचाइभन्दा ज्यादै कम उचाइ भएको व्यक्ति ।
२. दृष्टि सम्बन्धी अपाङ्गताः दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने,
(क) दृष्टि विहीनता – औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि दुबै आँखाले हातको औँला दश फिटको दूरीबाट छुट्टाउन नसक्ने वा स्नेलेन चार्टको पहिलो लाइनको अक्षर (३–६०) मा पढ्न नसक्ने व्यक्ति ।
(ख) न्यून दृष्टियुक्तः औषधि, शल्यचिकित्सा, चस्मा वा लेन्सको प्रयोगबाट पनि बीस फिटको दूरीबाट हातको औंला छुट्याउन नसक्ने वा स्नेलेन चार्टको चौथो लाइनको अक्षर (६–१८) मा पढ्न नसक्ने ।
(ग) पूर्ण दृष्टिविहीन – पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्ति ।
३. सुनाइ सम्बन्धी अपाङ्गताः सुनाइका अङ्गको बनावट एवं स्वरको पहिचान, स्थान, उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने व्यक्ति
(क) बहिराः असी डेसिबलभन्दा माथिको ध्वनि सुन्न
नसक्ने वा सञ्चारका लागि साङ्केतिक भाषा प्रयोग गर्नुपर्ने व्यक्ति ।
(ख) सुस्तश्रवणः सुन्नलाई श्रवण यन्त्र राख्नुपर्ने वा पैँसठीदेखि असी डेसिबलसम्मको ध्वनि सुन्न सक्ने व्यक्ति ।
४. श्रवण दृष्टिविहीन अपाङ्गताः सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ।
५. स्वर र बोलाइ सम्बन्धी अपाङ्गताः स्वर र बोलाइ सम्बन्धी अङ्गमा उत्पन्न कार्यगत सीमितताका कारण तथा बोल्दा स्वरको उतार चढावमा कठिनाइ, बोली स्पष्ट नहुने, बोल्दा शब्द वा अक्षर दोहोर्याउने व्यक्ति ।
६. मानसिक वा मनोसामाजिक अपाङ्गताः मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना, अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणनाजस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थाको व्यक्ति ।
७. बौद्धिक अपाङ्गताः उमेरको बृद्धिसँगै बौद्धिक सचेतनाको विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थाको व्यक्ति । (जस्तोः डाउन्स सिन्ड्रोम समेत)
८. अनुवंशीय रक्तश्राव (हेमोफिलिया) सम्बन्धी अपाङ्गताः अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थाको व्यक्ति ।
९. अटिज्म सम्बन्धी अपाङ्गताः जन्मजात नशा वा तन्तुको विकास र सोको कार्यमा आएको समस्या भएको व्यक्ति । (जस्तोः सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाई हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु, अस्वभाविक प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहोर्यारहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्ने व्यक्ति
१०. बहुअपाङ्गतास् एउटै व्यक्तिमा माथि उल्लिखित दुई वा दुईभन्दा बढी प्रकारका अपाङ्गताको समस्या भएको व्यक्ति ।
अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण
(१) पूर्ण अशक्त अपाङ्गता – आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति ।
(२) अति अशक्त अपाङ्गता – वैयक्तिक क्रियाकलाप सम्पादन गर्न तथा सामाजिक क्रियाकलापमा संलग्न हुन निरन्तर रुपमा अरुको सहयोग लिनुपर्ने अवस्थाको व्यक्ति ।
(३) मध्यम अपाङ्गता – भौतिक सुविधा, वातावरणीय अवरोधको अन्त्य, शिक्षा वा तालिम भएमा अरुको सहयोग लिई वा नलिई नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
(४) सामान्य अपाङ्गता– सामाजिक तथा वातावरणीय अवरोध नभएमा नियमित रुपमा आफ्नो दिनचर्या र सामाजिक क्रियाकलापमा सहभागी हुन सक्ने अवस्थाको व्यक्ति ।
अपाङ्गता भएका व्यक्तिको पिडा छ छदैछ । अपाङ्ता भएका विद्यार्थीलाई पढाउने शिक्षकको पनि पिडा आफ्नै छ ।
शिक्षक धन प्रसाद चौलागाईले भने दृष्टिविहिनलाई विभेद गरेको अशैय भएको भन्दै आफुले राजीनामा दिएको बताए
। प्रदेश सरकारले भने समृद्घि कर्णाली सुखी कर्णाली वासिको नारा लगाईरहदा अपाङ्गहरुको सवाल भने ओझेलमा पर्दैन भन्नेमा सरोकारवाला निकाय आशा वादि देखिन्छन ।
