२०८१, १ कार्तिक बिहीबार

प्रादेशिक शहीद पार्कको निर्माण शुरु

सुर्खेत । वीरेन्द्रनगरस्थित भैरम सामुदायिक वन क्षेत्रमा प्रादेशिक शहीद स्मृति पार्क तथा वनस्पति उद्यानको निर्माण शुरु भएको छ । वन तथा वातावरण निर्देशनालयको सहयोगमा निर्माण थालिएको पार्कको आज पूर्व सङ्घीय मन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले शिलान्यास गर्नुभयो ।

यस वर्ष रु.१ करोड २८ लाखमा निर्माण हुने उद्यानमा शहीद स्तम्भ, बाल उद्यान, वनस्पति उद्यान, वनभोज पार्कलगायतका संरचनाहरु रहनेछन् । पार्कको शिलान्यास गर्दै पूर्वमन्त्री कँडेलले पार्कको कामलाई कुनैपनि बहानामा बीचमा नरोक्न, अलपत्र नपार्न निर्माण कम्पनीलाई सुझाव दिनुभयो । प्रदेश राजधानीमा सहीदको स्मरणमा पार्क निर्माण हुनु गौरवको विषय भएको भन्दै उहाँले निर्धारित समयमै सम्पन्न गर्न सरोकारवालाले निगरानी गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

Bरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरपालिकाभित्र निर्माण हुने शहीद स्मृति पार्कले नगरको मात्र नभइ समग्र जिल्ला र प्रदेशको गरिमा बढाउने बताउनुभयो । वन तथा वातावरण निर्देशनालयका निर्देशक शिवराम अधिकारीले पार्क निर्माण कार्य गत वर्षदेखि नै शुरु हुनुपर्ने भएपनि कर्मचारी समायोजन, कार्यालय खारेजका कारण ढिलाइ हुन पुगेको प्रष्ट पार्नुभयो । क्रमागत रुपमा रु. ८ लाख बजेटमा पार्क निर्माण पुरा हुने निर्देशनालयले जनाएको छ ।