२०८१, १ कार्तिक बिहीबार

अमेरिकी टोलीसँग सांसदको गुनासो– ट्याक्सी चढ्ने पैसासमेत छैन

सीमा विवाद र बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमण आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ । यसबाहेक, गोविन्द केसीको अनशन, मानव तस्करीलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उठाएका छन् ।

सांसद्हरूले अमेरिकी टोलीसँग ट्याक्सी चढ्ने पैसा नभएको भनेर गरेको गुनासोलाई आज राजधानीले छापेको छ । अमेरिकी अन्तर्राष्ट्रिय संस्था हाउस डेमोक्रेसी फ्रेन्डसिप (एचडीपी) को सहयोगमा संघीय संसद् सचिवालयले आयोजना गरेको अनुभव अदानप्रदान कार्यक्रममा सांसदहरूले आफूहरूसँग ट्याक्सी चढ्ने पैसा नै ननहुने गुनासो गरेका हुन् ।

नेपाली सांसदको अनुभव र भोगाइ सुनाउने क्रममा आफूहरूको अवस्था दयनीय रहेको नेपालका सांसदहरूले गुनासो गरेको समाचारमा उल्लेख छ । राजधानीका अनुसार, सांसद् माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसासमेत नहुने बताएकी थिइन् । यति मात्रै होइन, उनले सांसदलाई साधन स्रोत केही नभएको, अहिलेसम्म अमेरिका नदेखेकोजस्ता गुनासो पोखेकी थिइन् ।

त्यस्तै सांसद् लक्ष्मी परियारले नेपालमा प्रत्यक्ष निर्वाचित सांसदलाई सरकारले प्राथमिकतामा राखे पनि समानुपातिकलाई विभेद गरेको गुनासो गरेकी थिइन् ।

पुस्ता–पुस्तामा देखिएको सेल्फी मोह झल्किने तस्वीर छापेको कान्तिपुरले मलाबीमा बन्धक बनाइएका नेपालीबारे मुख्य समाचार बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा २५ तले भ्युटावर निर्माणमा सुरु भएको अर्को खबर पनि कान्तिपुरमा पढ्न सकिन्छ । संघीय सरकारअन्तर्गतको सघन सहरी विकास तथा भवन आयोजना कार्यालयले १ अर्ब ५४ करोड १४ लाख ३९ हजार १ सय ६४ रुपैयाँमा ठेक्का दिएर दमक नगरपालिका ३ दापगाछीमा टावर निर्माण अघि बढाएको हो ।