२०८१, १ कार्तिक बिहीबार

कक्षाकोठामा वीरेन्द्रनगरका उपप्रमुख: विद्यार्थीका मागै माग, सम्वोधन गर्ने उपप्रमुखको भनाई

शेरबहादुर थापा ।
कर्णाली प्रदेशको एकमात्र सुगम नगरपालिकाको मान्यता पाएको वीरेन्द्रनगरपालिकाको वडा नं. ११ मा नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयमा कक्षा १० का छात्र हुन विनोद पौडेल । मंगलबार स्थानीय सरकारका उपप्रमुख मोहोनमाया ढकाल कक्षा कोठा अवलोकन तथा विद्यार्थीसँग साक्षात्कार गर्न उक्त विद्यालयमा पुगिन । उनी पुगेको देखेपछि पौडेललगायत सबै विद्यार्थीहरु उठे । शुभ विहानी भने । उपप्रमुखले पनि जवाफ फर्काइन । तर अधिकांश विद्यार्थीले भने नगरउपप्रमुखको रुपमा उनलाई चिनेका नै रहेनछन् । उनले आफ्नो परिचयका साथसाथै स्थानीय सरकारको बारेमा कक्षा नै लिएपछि विद्यार्थीहरु थप उत्साहित हुँदै बारम्बार स्थानीय सरकार तथा विकास निर्माणका सवालका बारेमा, व्यवस्थापकिय संरचनाका बारेमा प्रश्न सोध्ने र उपप्रमुखले जवाफ दिने क्रम झण्डै एक घण्टा नै चल्यो ।


‘पहिलोपटक नगर उपप्रमुखसँग खुलेर कुराकानी गर्न पायौं ।’ विद्यार्थी पौडेलले भने, ‘अहिलेसम्म हाम्रो कक्षामा कोही पनि आएका थिएनन् । हामीले त खुलेर नै कुरा राख्न पायौं । यसरी नै सधैं उहाँहरु विद्यालयमा आइदिएको भए हामी सबैको लागि उत्साह थपिन्थ्यो । अध्ययन गर्न र थप बाह्य कुरा सिक्न हामीलाई अवसर प्राप्त हुने थियो ।’


उपप्रमुख सुरुमा कक्षा एकमा गईन । त्यहाँ उनले विद्यार्थीलाई पढेर के बन्छौं भन्दा प्रहरी बन्ने र चोलाई समात्ने जवाफ आयो । करिब दुइ घण्टा विताएकी उपप्रमुख ढकालसँग विद्यार्थीहरुले धेरै मागहरु पनि राखेका थिए ।
‘तपाईहरुका नगरपालिकासँगका अपेक्षा के हुन ? के भएको भए तपाईहरुलाई अध्ययन गर्न थप सजिलो हुन्थ्यो ?’ उपप्रमुख ढकालले कक्षाकोठामा प्रश्न गरिन । उत्तर दिए धेरै विद्यार्थीले । ती मध्ये यस्ता समस्या थिए विद्यार्थीका ।

‘विद्यालयमा अतिरिक्त क्रियाकलाप निरन्तर गर्नुपर्ने, पुस्तकालयको व्यवस्था गरिनु पर्ने, कम्प्युटर ल्यावको व्यवस्था नभएकोले व्यवस्थागरिदिनुपर्ने माग राख्दछौं ।’ विद्याथीहरु टिपाउाँदै गए, उपप्रमुख व्हाइटवोर्डमा टिप्दै गईन, ‘स्वच्छ खानेपानीको व्यवस्था छैन । राम्ररी अन्य विषयको अध्ययन गर्ने वातावरण बनेको छैन ।विद्यालयमा स्वास्थ्य शिविरको आयोजना गरिदैन । छात्रामैत्री संरचना अभाव भयो । सेनेटरी प्याड पाएनौं ।’


विद्यार्थीहरुको मागहरु सुनेर उपप्रमुख ढकालले विद्यार्थीहरुका मागहरु क्रमागत रुपमा पुरा गर्ने प्रतिवद्धता जनाईन । ‘तपाईहरु देश बनाउने उच्च सोचका साथ पढिदिनुस, भौतिक संरचना देखि अन्य आवश्यक संरचना तथा व्यवस्थापन गर्छौं । बस तपाईहरु अध्ययन गर्नुस सबैभन्दा टप भइदिनुस ।’ उनले यसो भन्दा विद्यार्थीले ताली बजाएर उनको विदाई गरे ।
विना सूचना विद्यालयमा निर्वाचिन भएको करिब साढे दुइ वर्षपछि नगर उपप्मुख आएको देखेर शिक्षकहरु दंग परे । ‘उहाँ किन आउनु भएको हो, के कामले आउनु भएको हो ?’ शिक्षकहरुले पंिक्तकारसँग प्रश्न गरिरहेका थिए ।
‘उहाँले राम्रो अभियानको सुरुवात गर्नुभएको रहेछ । यस्ता अभियान हरेक विद्यालयमा गर्न जरुरी छ ।’ शिक्षक नवराज खड्काले भने, ‘उपप्रमुख नै कक्षा कोठामा आउँदा विद्यार्थीहरुमा सकारात्मक भावना पैदा हुने र राजनीति प्रति उनीहरुको आस्था बढने, उनीहरुको सोचमा परिवर्तन हुने, जननिर्वाचित प्रतिनिधिलाई नजिकबाट नियाल्न र कुरा गर्न पाउने हुँदा उनीहरुले राजनीतिक व्यवस्थाप्रति रुचिलिने सम्भावना बढि हुन्छ ।’ उनी भन्छन्, ‘उनीहरुको हौसला बढने, जनप्रतिनिधिको उपस्थितिले शिक्षकहरुको कर्तब्य प्रति थप दायित्व बढने र त्यसले सकारात्मक सन्देश तथा प्रतिफल दिनेछ ।’
उनले विद्यालयमा राजनीतिक आस्थाका आधारमा शिक्षक नियुक्त नगर्ने, क्षमता भएमात्रै नियुक्त गर्ने परिपाटी कायम गरिनुपर्ने, कामको मुल्यांकन तथा अनुगमन गर्ने र पुरस्कार तथा दण्डको व्यवस्था गर्नुपर्ने सुझाव नगरपालिकालाई दिए ।
यता, उपप्रमुख ढकालले आधारभूत शिक्षा स्थानीय सरकारको हेर्ने जिम्मेवारी भएको बताउँदै अहिले विद्यार्थीहरुले कस्तो शिक्षा खोजिरहेका छन्, उनीहरुका माग केहुन ? उनीहरुको क्षमता विस्तार गर्न के गर्न सकिन्छ जस्ता प्रश्नहरुको उत्तर खोज्न कक्षा कोठामा नै आएको बताईन । ‘विद्यार्थीहरुका स्थानीय सरकारसँग के अपेक्षा छन र ती अपेक्षालाई कसरी पुरा गर्न सकिन्छ भन्ने बारेमा जानकारी लिन र दिन यो अभियानको सुरुवात गरेकी हुँ ।’ उनी भन्छिन्, ‘सुखी नेपाली समृद्ध नेपाल बनाउन देश प्रति माया गर्ने सोच बढाई विद्यार्थीमा मेरो देश म बनाउँछु भन्ने भावनाको सञ्चार गराउन म कक्षा कोठामा आएकी हुँ ।’ उनले हरेक महिना वीरेन्द्रनगरको कुनै एक सामुदायिक विद्यालयमा आफ्नो उपस्थिति रहने र त्यहाँ रहेका विद्यार्थीहरुका अपेक्षा समाधान गर्ने सोच बनाएको जानकारी दिइन ।