२०८१, ३० आश्विन बुधबार

शिक्षामा समिरको सुसाइडले दिएको सन्देश

जीतबहादुर शाह

 

 

 

 

कालीदेवी माध्यमिक विद्यालय, ललितपुरका कक्षा ५ मा अध्ययनरत एघार बर्षीय बालकले आफ्नो स्यूसाइड नोटमा देहायका कुरा लेखेर आफ्नो जीवन समाप्त गरे –‘मेरो नाम समीर लुङ्गवा हो ।

म कक्षा ५ मा पढ्छु । मेरो रोल नं. ५ हो । आज म केही कुरा भन्न चाहान्छु । म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैनन् । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने गरिन्छ । घरमा मलाई दाउजु–भाउजुले हेला गर्छन । केही सर र मिसले म विरामी हुँदा पनि विरामी भएको छैन भन्छन् ।

म जन्मेको कात्तिक १४ गते हो । हस् त, यति भन्दै म यो संसार छोडेर जाँदैछु ।’ बालक समीरको यो स्यूसाइड नोट पढिसकेपछि मनमा धेरै कुराहरु तरङ्गिए ।
शिक्षामा धेरै गरियो भन्नेहरुलाई यो घटना एउटा ठूलै झापट भयो कि झै महसुस भयो । बालबालिकाका लागि यो देशमा धेरै कुरा गर्न बाँकी रहेछ भन्ने कुराले यो मन झनै उद्वेलित भइरह्यो ।
बालक समीरले आफूले लेखेको छोटो स्यूसाइड नोटमा पनि धेरैलाई धेरै सन्देश दिएर भनेर गएको देखिन्छ । बालबालिकालाई मनमा जेजस्तो भए पनि ब्यवहारमा हेला, होचो–अर्घेलो र अपमानित गर्ने हाम्रो परम्परागत शैलीमा अझै पनि खासै परिवर्तन हुन नसकेको पुष्टि हुन्छ ।
कतिपय अवस्थामा त हामी त्या े सानो बालकलाई उ पनि हामी जस्तै मानिस हो र उसलाई पनि हामीलाई जस्तै माया र सम्मान चाहिन्छ, उसलाई पनि प्रशंसा र प्रोत्साहनले थप प्रगति गर्न उत्साहित गर्छ भने दण्ड, सजाय र अपमानले गरिरहेको कामप्रति मात्र होइन, जीवन र जगतप्रति नै वितृष्णा जगाउने काम गर्दछ भन्ने कुराको हेक्का हामीमा नहुँदो रहेछ ।

त्यसैले त भोलिका यो देशका आशाका धरोहर समीर जस्ता बालकहरु स्वाभाविक रुपले रमाएर बाँच्नका निम्ति यो धर्ति र यो समाज उर्वर र हराभरा हुन नसकेको रहेछ । बालकको समुचित बृद्धि र विकासका लागि घरपरिवार एउटा महत्वपूर्ण थलो हो । बालक जन्मदा उसको मन र मष्तिष्कमा जीवन र जगतप्रतिको धारणा र बुझाइ शुन्यप्राय हुन्छ ।
उसले घरपरिवार र आफ्ना ज्ञानेन्द्रीयहरुको सहयोगले जीवन र जगतको बारेमा क्रमशः धारणा बनाउने कामको थालनी गर्दछ । मनोबैज्ञानिकहरु भन्छन – ‘बालकको यतिबेलाको मष्तिष्क भनेको सेट भइनसकेको सिमेन्टको घोल जस्तै हो त्यसमा जस्तो वस्तुले स्पर्श ग¥यो, छाप पनि त्यस्तै र त्यसकै पर्न जान्छ ।’
यतिबेला परेको छापले बालकलाई जीवनभर प्रभाव पार्दछ । सानो छँदा भूत, प्रेतको कथा सुनेको मानिसले परिपक्व भएपश्चात यो कुरा गलत हो भन्ने बोध भए पनि अँधेरी रातमा एक्लै हिड्नु परेको अवस्थामा बाल्यकालको विस्मृतिमा रहेका त्यो सिकाइ र विषयवस्तु स्मृतिमा आउछ र भूतप्रेतको त्रासदीले मन भारि हुन्छ । यसकारण पनि भनिन्छ बालकको पहिलो पाठशाला भनेको उसको घरपरिवार हो ।

परिवार समेतको कुरा उल्लेख गर्दै समीरले आफूले कसैबाट माया नपाएको र दाजुभाउजुले त झन् हेला गरेको कुरा स्यूसाइड नोटमा लेखेको छ । हरेक सिकाइको आधारस्तम्भको रुपमा काम गर्ने घरपरिवारबाट नै बालकको जीवनमा माया र सम्मानको खडेरी पार्ने काम भयो भने उसको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास प्रभावकारी रुपमा हुन सक्दैन ।
परिवारमा बालकले भोगेको नकारात्मक कुराले उसको यो दुनियाँलाई हेर्ने दृष्टिकोण नै नकारात्मक हुन्छ । दुनियाका जे कुरा देखे पनि उसमा माया र ममताको भाव पलाउन सक्दैन । सके विद्रोही भएर अघि बढ्छ, नसके निराशा र कुण्ठाको सिकार भएर आफैले आफैलाई समाप्त गर्दछ समीरले जस्तै ।

समीरले उल्लेख गरे जस्तै उसको अवसानमा परिवारको सदस्यहरुको पनि ब्यावहारिक र मनोबैज्ञानिक रुपमा हात रहेको देखिन्छ । किनभने माथि उल्लेख गरे जस्तै हरेक बालकलाई प्रथम पटक सुम्सुम्याउने हात, माया गर्ने मुटु र नजर लगाउने आँखाहरु परिवारकै हुने गर्दछन् । समीरको स्यूसाइड केसबाट यो पनि प्रष्ट हुन्छ कि हामी भन्दा बालबालिकाहरु बढि भावनात्मक हुन्छन् ।

उनीहरुलाई कुनै कुराले उतिबेलै रुवाउछ भने अर्को कुनै खुशी दिने कुरा भयो भने पुरानो पीडाको घाउ पुरिएर उतिबेलै खुशी पनि बनाउछ । हामी परिपक्व मानिसलाई जस्तो विहानमा भएको कुनै घटनाले दिनभरि असर पार्दैन । हामी प्रौढहरु एकैछिन अघि रोएर त्यसको केही छिन पछि हाँस्न सक्दैनौं । तर बालकले त्यस्तो गर्न सक्छ । तथापि त्यही दुःख दिने कुरा बारम्बार दोहोरिरहयो भने त्यसको प्रभाव भने दीर्घकालीन हुन जान्छ ।

अन्ततः बालकले उसको निम्ति खुशीको संसार असम्भव रहेछ भन्ने निष्कर्षमा पुग्दछ । समीरको निष्कर्ष यस्तै भएको कारण उ अहिले हामीसँग हुन नसकेको यो पङ्तिकारलाई अनुभूत भइररहेको छ । उत्तरबाल्याबस्थाका बालबालिकाका लागि उसको परिवारका साथै साथीसँगी र विद्यालयको वातावरणले समेत जीवनसम्बन्धी उसको धारणा निर्माण गर्नमा सहयोग पुग्दछ । त्यसैले बालबालिकाको विकासमा विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरुले बालबालिकालाई प्रत्यक्ष रुपमा असर पार्ने कुराहरुलाई गम्भीर रुपमा ख्याल गर्नु जरुरी छ ।

उनीहरुलाई सानो–सानो कुराले पनि ठूलो–ठूलो नकारात्मक असर पार्छ भन्ने कुरा विर्सनु हुदैन । समीरले लेखे झै त्यही काम गर्दा केटा भएको नाताले कुटाइ खानु पर्ने र केटी भएको नाताले कुटाइबाट मुक्त हुनु पर्ने कुराले समेत न्याय पाउने सवालमा बालकलाई नकारात्मक हुन प्रेरित गर्दछ ।
यस्तो अवस्थामा बालकले आफूलाई अपमानित भएको अनुभूत गर्दछ । त्यसकारण पनि बालबालिकालाई जे गरे पनि हुन्छ भन्ने हाम्रो सोच र चिन्तनलाई चटक्कै त्याग्न सकेनौं भने समीरजस्ता भविष्यका सुन्दर सपनाहरुलाई गुमाउदै जाने काम रोकिन्छ जस्तो मलाई लाग्दैन । बालबालिका हामी भन्दा सत्य बोल्छन । क्रमशः हामी ठूला भनाउदाको सङ्गतमा परे भने मात्रै झुटो बोल्न सिक्ने हुन्छन् ।

सत्य बोलेको अवस्थामा पनि झुटो बोल्यो भन्ने ब्याख्या आफैलाई शिक्षा दिने शिक्षकबाट गरियो भने एउटा बालकको निम्ति त्यो भन्दा दुखद अरु केही हुदैन होला सायद । दुखाइको त्यही गहिराइको कारणले गर्दा समीरले आफूलाई अविश्वास गर्ने त्यस्ता शिक्षकहरुको अनुहार कहिल्यै नहेर्ने गरी ओझेल पर्ने किसिमले निर्मम निर्णय गर्न बाध्य बनायो । यसकारण पनि बालबालिकालाई विश्वासको आँखाले हेर्न बानीको विकास गर्नुपर्दछ, त्यो पनि उसलाई शिक्षा दिनका लागि जिम्मेवारी पाएको शिक्षकले ।

एउटा वालक असीमित सम्भावना र क्षमताले भरिएको हुन्छ, त्यसको खोजी गरी उपयोग गर्नका लागि क्षमता हामीसँग हुनु आवश्यक छ । त्यसका लागि बालबालिकाप्रति पर्याप्त सकारात्मक सोच र आशाबादिता हुनु पर्दछ । समीरको स्यूसाइडले दिएको यो एउटा महत्वपूर्ण सन्देश हो । सारमा, हाम्रा विद्यालयहरु बालबालिकाको मनोभावनालाई बुझेर तदनुसार अघि बढ्ने क्षमताका हिसावले असमर्थ देखिन्छन् ।

यसरी सक्षम बनाउनका लागि कहि कतै पहल भएको पनि देखिदैन । शिक्षकहरुलाई मनो–सामाजिक परामर्शको हिसावले दक्ष बनाउने किसिमको कार्यक्रम पनि देखिदैन । न त विद्यालयहरुमा मनोपरामर्शदाताको ब्यवस्था गर्ने सोच नै कसैको देखिन्छ । त्यसैले पनि बालबालिकाहरु पीडाको भवसागरमा डुविरहेका झै लाग्छन् । एउटा समीरले पीडा सहन गर्न नसकेर सवैका ध्यानाकर्षण गराउदै आफ्नो अवसानको घोषणा ग¥यो ।

मलाई त लाग्छ, आफ्नो अवसानको घोषणा गर्न नसकी मरेर पनि बाँचिरहेका जस्ता देखिने लाखौं समीरहरु हाम्रा घर र विद्यालयहरुमा बग्रेल्ती छन् भन्दा अन्यथा नहोला । यसका साथै अभिभावक शिक्षा र विद्यार्थीको खुशीलाई हामीले उच्च प्राथमिकता दिनु आवश्यक छ । बालबालिकाको शिक्षाका लागि अभिभावकले के गर्नु हुन्छ र के गर्नु हुदैन भन्ने कुराको स्पष्ट आधार किटान ँ गरेर तदनुरुप अभिभावकहरुलाई हिडाउन सक्नुपर्दछ ।

शिक्षक र अभिभावकले गर्ने क्रियाकलापहरुले बालबालिकाको खुशी लुट्नु हुदैन भन्ने कुरामा सम्बन्धित पक्ष सदैव गम्भीर हुनुपर्दछ । खुशी गुमाएर आर्जन गरेको शिक्षाले त्यो खुशी भन्दा ठूलो चिज अरु के दिन सक्ला र ? मलाई त चेतना छैन, सवैलाई चेतना भया ।