२०८१, ६ जेष्ठ आईतवार

भेरी–बबई डाइभर्सन विवाद, हामीले बिजुली उत्पादन गर्न पाउनैपर्छ : ज्वाला

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशको स्रोत अरुले लिएपनि त्यसको लाभ भने पाउनुपर्ने बताएका छन् । शेयर किनबेच गर्ने कम्पनी इम्पेरियल सेक्युरिटिजले कर्णाली प्रदेशमै पहिलो शाखा कार्यालय उद्घाटनपश्चात् पत्रकारसँग गरिएको अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै मन्त्री ज्वालाले भेरी– बबई आयोजनाका कारण कर्णालीमा विवाद हुन सक्नेतर्फ संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भेरी–बबई डाइभर्सन आयोजनाको स्रोत बाँडफाँडमा कर्णाली सरकारले संघीय सरकारसँग स्पष्ट धारणा राखेको बताएका छन् । ‘‘हाम्रा लागि राष्ट्रिय गौरवको आयोजना हो भनेर छातीसम्म फुलाउन सकिने अवस्था छ ।’’ उनले भने, ‘‘छाती फुलाएर मात्रै हामी समृद्ध हुन सक्दैनौं । पानी लैजाउन् तर बिजुली उत्पादनको जिम्मा हामीलाई मन्त्रालयले देओस् ।’’

यसबारेमा प्रधानमन्त्री, मन्त्रीसँग आफूहरुले बारम्बार कुरा गरिरहेको बताए । मन्त्री ज्वालाले कर्णाली प्रदेशका जनताको श्रोत लगिए पनि लाभ भने यहाँका जनताले नै पाउनुपर्नेमा जोड दिए । ‘‘बाँधको मुहानमा १२ मेघावाट बिजुली निकाल्न सकिने कुरा आएको छ ।’’ उनले भने, ‘‘त्यसका लागि हामी आपसी गृहकार्य बनाइरहेका छौँ ।

हामी त्यो आयोजना निर्माण गर्नेछौँ ।’’ उनले संघीयता कर्णालीका जनताका लागि, सिंहदरबार नदेखेका जनताका लागि आएको दाबी गरे । ‘‘हामीसँग धेरै विद्युत आयोजनाहरु छन् । जसका लाईसेन्स विभिन्न नीजि तथा सरकारी संघसंस्थाले लिएका छन् । र काम अघि बढाएका छैनन् ।’’ उनले भने, ‘‘हामी स्थानीय तहसँग मिले र भएपनि एक जल िवद्युत्त आयोजना बनाउने गरी अघि बढेका छौँ ।’’ उनले राजस्वको बाँडफाँडमा जनसंख्यालाई मात्रै हेर्ने कुरा गलत भएको बताए ।

सरकारले कर्णालीलाई विशेष क्षेत्र घोषणा गरेर बढीभन्दा बढी पुँजी दिनुपर्ने र बाँडफाँडको मुख्य आधार भूगोल बनाउनुपर्ने माग गरे ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले संयुक्तरुपमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिजले कार्यालय उदघाटन गरेसँगै दोस्रो बजार सातै प्रदेशमा पुगेको अध्यक्ष कार्कीले बताए ।

शाखा कार्यालय उद्घाटनसँगै कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका उपस्थितिमा धितोपत्र बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत भएको छ ।

अन्तरक्रिया कार्यक्रममा अध्यक्ष कार्कीले नेपालको धितोपत्र बजारको सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन् ।

कार्यक्रममा दोस्रो बजार तथा अनलाइन प्रणालीका बारेमा जानकारी दिइएको छ । इम्पेरियलले यसअगाडि नेपालगञ्जमा शाखा कार्यालय सञ्चालनमा ल्याएको थियो ।