पशुपति र स्वयम्भूका ९७% बाँदरमा क्यान्सर र एड्स, यसरी सर्न सक्छ मानिसमा
काठमाडौं, ३० फागुन – पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ ।
केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले यस्तो देखाएको खबर नयाँ पत्रिकामा अर्जुन अधिकारीले खबर लेखेका छन् |
३९ मध्ये ३७ बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण देखिएको थियो । विश्वविद्यालयले पहिलो समूहमा १२, दोस्रोमा ११ र तेस्रोमा १६ बाँदरमा अध्ययन गरेको थियो । जसअनुसार १७ भाले र २२ पोथी बाँदर थिए । अनुसन्धानकर्तालाई उद्धृत गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआइभी-एड्सको उच्च जोखिममा छ ।
‘नेपालको पशुपति र स्वयम्भूका बाँदर मान्छेदेखि डराउँदैनन् । उल्टै मानिसलाई आक्रमण गर्न आउँछन् । यस्तो अवस्थामा मानिसलाई चिथोर्यो वा उसको शरीरमा भएको रगत मानिसमा सर्यो भने कुनै न कुनै समयमा त्यस्तो मानिसमा क्यान्सर, एचआइभी-एड्सलगायतका अन्य रोग सर्न सक्छ,’ अनुसन्धानकर्ताको भनाइ उद्धृत गर्दै डा. पुनले भने ।