२०८०, २८ चैत्र बुधबार

पढाई सीप विकासका लागि सन्दर्भ सामग्री वितरण सुरु अब एकदेखि तीनसम्म कक्षामै पुस्तकालय

deeo

सुर्खेतका हरेक सामुदायिक विद्यालयका कक्षा एकदेखि तीन कक्षासम्म अब कक्षा पुस्तकालय हुने भएको छ ।
विद्यार्थीहरुको लेखाई र पढाईको सीप विकास गर्नका लागि सुर्खेतका सामुदायिक विद्यालयहरुका कक्षा कएदेखि तीनसम्म कक्षा मै पुस्तकालय स्थापना गर्न लागिएको हो ।

‘विद्यालय क्षेत्र सुधार कार्यक्रम’ ले प्राथमिक तहका सिकाई कमजोर हुनुमा आधारभूत रुपमा पढाई र सीमको कमजोरी भएको निष्कर्ष निकालेपछि कक्षा एक–तीन लाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको ‘राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम’ सुरु भएपछि सुर्खेतका सामुदाियक विद्यालयका कक्षा एकदेखि तीनसम्म पुस्तकालय स्थापना हुने भएको हो ।

यूएसएआइडिको आर्थिक सहयोग तथा रिसर्च ट्रयाङगल इन्स्टिच्यूट (आरटीआई) इन्टरनेशनलको प्राविधिक सहयोगमा सुर्खेत सहित देशभरका अन्य १६ जिल्लाहरुमा पनि यो कार्यक्रम सञ्चालन भएको छ ।

यो कार्यक्रम अन्तर्गत सुर्खेतमा रहेका पाँच सय ११ सबै सामुदायिक विद्यालयका कक्षा एकदेखि तीन कक्षासम्म कक्षा पुस्तकालय स्थापना गरिने छ । पहिलो चरणमा विद्यालयहरुलाई सन्दर्भ पुस्तक वितरण गर्ने कार्यक्रम रहेको छ । पुस्तक वितरण कार्यक्रम पनि दुई चरणमा राखिएको छ ।

पहिलो चरणमा एउटा विद्यालयमा एक सय ९८ का दरले पुस्तक वितरण गरिनेछ भने दोस्रो चरणमा २ सय ४० का दरले सन्दर्भ पुस्तकहरु वितरण गरिने आरटीआई र युएसएआइडि अन्तर्गत यस कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक नरेशविक्रम ढकालले जानकारी दिए ।

त्यसपछि कक्षामा पुस्तकालय स्थापना गर्ने, प्राथमिक तहका सबै शिक्षकहरुलाई सन्दर्भ पुस्तक तथा सामग्रीहरुको प्रयोग सम्बन्धी तालिम दिने र कक्षा कोठा व्यवस्थापनका लागि आर्थिक सहयोग समेत उपलब्ध गराइने कार्यक्रम संयोजक ढकालले जानकारी दिए ।

यस्तै अभ्यास पुस्तिका, शिक्षक सहयोगी सामग्रीहरु, विद्यार्थी पठन सामग्रीहरु पनि वितरण गरिनेछ । ‘‘यो कार्यक्रम अन्तर्गत एक देखि तीन कक्षासम्म सन्दर्भ पुस्तक वितरण गर्ने काम सुरु भएको छ,’ उनले भने–‘त्यसपछि शिक्षकहरुलाई तालिम र कक्षा कोठा व्यवस्थापनका लागि आर्थिक सहयोग समेत उपलब्ध गराउने कार्यक्रम छ ।’’

नेपाल सरकारसंगको समन्वयमा सन् २०२१ सम्म सञ्चालन हुने यो कार्यक्रम अन्तर्गत सुर्खेतमा पहिलो चरणको कार्यक्रम सुरु भएको छ । एक देखि तीन कक्षासम्म बालबालिकाहरुलाई पढाई सीपको विकास गर्नका लागि सोमबारदेखि सन्दर्भ पुस्तक वितरण सुरु गरिएको छ ।

यहाँको वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सन्दर्भ पुस्तकहरु वितरण गरिएको हो । कार्यक्रममा यहाँका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले विद्यालयका प्राध्यानाध्यापक शान्ता केसीलाई सन्दर्भ पुस्तक र तीन थान ह्याङगर हस्तान्तरण गरेका थिए ।

सन्दर्भ पुस्तक वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तर्गत सोमबार जिल्लाका करिब दश विद्यालयहरुमा एक सय ९८ का दरले पुस्तक वितरण गरिएको छ । सोमबार श्री कृष्ण संस्कृती तथा साधारण उच्च मावि, नेरा निमावी चिसापानी, भैरव उमावि भैरभस्थान लगायतका विद्यालयमा पनि सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी शाहले सन्दर्भ सामग्रीहरुको शिक्षकहरुले उचित प्रयोग गराउन सके सरकारले गरेको अपेक्षा पुरा हुने बताए । सोही कार्यक्रममा जिल्ला शिक्षा अधिकारी शाहले आफूले शिक्षा ऐन अनुसार काम गर्न प्रतिवद्ध रहेको र सबैले सोही अनुसार काम गरे सुर्खेतको शैक्षिक गुणस्तर बृद्धिमा सहयाृेग पु¥याउने बताए ।

कार्यक्रममा राष्ट्रिय प्रारम्भीक पढाई कार्यक्रमका फोकल पर्सन तथा विद्यालय निरीक्षक गजेन्द्र जि.सी, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक बलवीर सुनार लगायतको सहभागिता रहेको थियो । पहिलो चरणको पुस्तक वितरण कार्यक्रम डिसेम्बरको अन्तिमसम्ममा सम्पन्न हुने जनाइएको छ ।

यो कार्यक्रम अन्तर्गत जिल्लाका एक हजार ६४ जना शिक्षा सरोकारवालाहरुलाई तालिम पनि दिइसकिएको छ । अब कार्यक्रमलाई सफल पार्न परिवार तथा समाजलाई बालबालिकाको पढाई सीप विकास गराउन सामाजिक परिचालन अन्तर्गत गैरसरकारी संस्था छनौट गरिने छ । त्यससंगै २८ जना सामाजिक परिचालक गैसस अन्तर्गत र २८ जना पढाई उत्पे्ररक जिल्ला शिक्षा कार्यालयका तर्फबाट नियुक्त गरिने छ ।

१६ जिल्लामा सञ्चालन भएको यो पाँच वर्षे कार्यक्रमका लागि ७०.७६ करोड अमेरिकी डलर अर्थात ६ अर्व ७२ करोड २५ लाख २० हजार नेपाली रुपैयाँ बजेट रहेको छ ।