२०८१, ८ बैशाख शनिबार

नयाँ जिसिअका नयाँ योजना

विद्यार्थी टिकाउने योजनादेखि शैक्षिक अन्तरक्रियासम्म

तस्बीर ः जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह ।
तस्बीर ः जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह ।

सुर्खेत, ।यही कात्तिकमा जिल्ला शिक्षा कार्यालय सुर्खेतमा सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले आफ्नो केही शैक्षिक योजनाहरु सार्वजनिक गरेका छन् ।

जिल्ला स्थिति पत्रकारहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना गरी जिल्ला शिक्षा अधिकारी शाहले केही योजनाहरु सार्वजनिक गरेका हुन् ।

सुर्खेत जिल्लाको शैक्षिक अवस्थालाई अझ गुणस्तरीय बनाउनका लागि भन्दै शाहले नयाँ योजनाहरु सार्वजनिक गरेका छन् ।

तत्काललाई केही योजनाहरु कार्यान्वयन गर्ने र बाँकी योजना तथा कार्यक्रमहरु सल्लाहा सुझावका आधारमा निर्माण गरी कार्यान्वयन गरिने शाहले बताएका छन ।

जिल्ला शिक्षा कार्यालयले अब समग्र जिल्लाको शिक्षा योजना बनाउने र सोही योजना अनुसार काम गर्ने छ ।

साथै कार्यालयको काम गर्न सहजहोस भन्ने हेतुले सबै कर्मचारीहरुको कार्यविभाजन पनि गरिएको छ । यसले गर्दा सेवाग्राहीलाई पनि सहज हुने उनले बताए ।

तत्काल नै जिल्ला शिक्षा कार्यालय सुर्खेतले शैक्षिक अन्तरक्रिया कार्यक्रमलाई व्यापाक बनाउने भएको छ ।

शैक्षिक गुणस्तर बढाउनका लागि अब शिक्षक,विद्यार्थीहरु र अभिभावकहरुबीच अन्तरक्रिया कार्यक्रम संचालन गरिने जिल्ला जिल्ला शिक्षा अधिकारी शाहले बताए ।

जसबाट कम्जोरी पत्ता लाग्ने र जसको कम्जोरी हो उसले कम्जोर सुधार गर्ने हुँदा शैक्षिक गुणस्तर बढ्ने उनले बताए ।

यसले गर्दा विद्यार्थीहरु आफैले योजना बनाएर पढ्ने वातावरणको पनि सिर्जना हुने उनको भनाई छ।

‘‘शैक्षिक गुणस्तरका लागि शैक्षिक अन्तरक्रिया कार्यक्रम सुरु गछौं,’ उनले भने–‘शिक्षक,अभिभावक र विद्यार्थीहरुबीच हुने अन्तरक्रियाबाट कम्जोरी कस्को हो भन्ने पत्ता लाग्छ,यसले विद्यालय तहको शिक्षा सुधार गर्न सहज हुनेछ ।’’

यस्तै तत्कालका लागि आफूले जिल्ला शिक्षा कार्यालयलाई सेवाग्राही मैत्री बनाउने उनले सुनाए ।

अहिले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षा तेस्रो तलामा रहेको भन्दै उनले मंसिर महिनाभित्र यसलाई अपाङगता मैत्री बनाउने बताए ।

हरेक सेवालाई मैत्री पूर्ण बनाउने भन्दै उनले सेवाग्राहीलाई सन्तुष्ट बनाउने प्रतिबद्धता जनाए ।

पत्रकारहरुसंगको कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी शाहले मंसिर महिनाको मसान्तसम्म विद्यालय व्यवस्थापन समितिको गठन गरिसक्न सबै विद्यालयलाई निर्देशन पनि दिएका छन् ।

मंसिर मसान्तसम्म विद्यालय व्यवस्थापन समिति गठन नभए सेवा सुविधाबाट बञ्चित गरिने भन्दै उनले तत्काल गठन गर्ने निर्देशन दिएका हन् ।

यस्तै प्रावि तहका विद्यार्थीहरुलाई मायाप्रीतिका गीतहरु गाउन लगाउने र त्यस्तै गीतमा नाच्न सिकाउने प्रबृत्तीको अन्त्य गर्ने योजना बनाएको उनले बताए ।

विशेष गरी बोर्डिङ स्कुलहरुमा साना बालबालिकाहरुलाई पनि यस्ता गीतमा मा नाच्न लगाउने हुँदा त्यसले नकरात्मक प्रभाव पार्ने भन्दै उनले यसलाई निरुत्साहित गर्ने बताए ।

यसका लागि त्यसो नगराउने निर्देशन दिनुका साथै त्यस्ता कार्यक्रममा सहभागी नै नहुने योजना बनाएको उनको भनाई छ ।

उनले नैतिक शिक्षा र अनुशासनलाई पनि विद्यालय शिक्षामा जोड दिनुपर्ने भन्दै त्यसतर्फ पनि ध्यान दिन विद्यालयका शिक्षकहरुलाई ध्यानाकर्षण गराउने बताएका छन् ।

यस्तै करार शिक्षकहरु नियुक्त गर्दा हुने चलखेललाई रोक्ने, विभिन्न बाहानामा शैक्षिक शुल्क असुल्ने सामुदायिक विद्यालयहरु र मनोमानी रुपमा संचालन भएका निजी स्कुलहरुलाई पनि व्यवस्थित गरिने शाहको भनाई छ ।

पत्रकारहरुले पनि नयाँ जिसिअ शाहलाई जिल्लाको शैक्षिक गुणस्तर बृद्धि गर्नुका साथै शैक्षिक समस्याहरुको समाधान गर्नका लागि साथ दिन भन्दै यहाँका समस्याका बारेमा जानकारी गराएका थिए ।

नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारतीले केही सामुदायिक विद्यालयहरुको आन्तरिक स्रोत अपारदर्शिक भएको भन्दै त्यसको पनि खोजि गर्न सुझाव दिए ।

यस्तै करार शिक्षक नियुक्ति,विद्यालय व्यवस्थापन समिति गठनमा हुने झमेला र भौतिक पूर्वाधार निर्माणमा हुने अनियमिततालाई पनि रोक्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय सुर्खेतका कर्मचारीहरु र जिल्ला स्थित पत्रकारहरुको सहभागिता रहेको थियो ।