२०८१, १८ भाद्र मंगलवार

सम्पादकिय: विद्युतको पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी

सम्पादकिय: कर्णालीमा पछिल्लो समय विद्युत आपूर्तिमा धेरै समस्या देखिन थालेको छ । झ्याप्प–झ्याप्प बत्ती जाँदा उपभोक्तालाई निकै मार परेको छ । विद्युत उत्पादनसँगै बढ्नु राम्रो पनि हो तर बढ्दो विद्युत उत्पादनको परिमाण र बढिरहेको माग धान्न सक्ने गरी आवश्यक पूर्वाधार नहुनु हाम्रा लागि ठूलो समस्याको विषय नै बनेको छ । माग बढेअनुसार आपूर्ति गर्न प्रसारण लाइन र वितरण लाइनलगायतका पूर्वाधारको क्षमता कमजोर हुँदा लाइन जाने समस्या हुन थालेको छ । प्रसारण लाइन र सबस्टेशनले विद्युतको लोड धान्न नसक्दा समय–समयमा बत्ती जाने समस्या देखिएको विद्युत प्राधिकरणको भनाइ छ ।

नेपालमा जलविद्युतको क्षेत्रमा उल्लेख्य उपलब्धि भइरहेको छ । केही वर्षअघिसम्म दैनिक १८ घण्टासम्म लोडसेडिब हुने देशले अहिले सांकेतिकरुपमा भए पनि विद्युत निर्यातको चरणमा पुगेको छ, यो निकै महत्वपूर्ण परिवर्तन हो । नेपालले आगामी दश वर्षभित्र भारतमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता पनि गरिसकेको छ । यी सबै सकारात्मक सूचकका बीच विद्युत आपूर्तिमा जुन समस्या देखिन थालेको छ, यसले पक्कै पनि राम्रो नतिजा दिंदैन । अहिले पनि धेरै मानिसले देशभित्र विद्युत नपु¥याएर विदेश निर्यात गर्ने ? भनेर प्रश्न गर्न थालेका छन् ।

यथार्थ कुरा त विद्युत उत्पादन बढेरै निर्यात थालिएको हो तर भएको विद्युत आपूर्ति गर्ने पूर्वाधारको अभावमा सेवाग्राहीले राम्रो सेवा पाउन सकेनन् भने यो निश्चिय नै घातक हुनेछ । त्यसैले अब विद्युत सम्भावित माग धान्ने गरी दीर्घकालीन योजनाका साथ पूर्वाधार निर्माणमा जोड दिनु आवश्यक छ । सबै पूर्वाधार एकैपटक बनाउन नसकिए पनि जुन क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भइरहेको छ, त्यस क्षेत्रमा लक्षित गरी सरकार र प्राधिकरण दुबैको साझेदारीमा अत्यावश्यकीय पूर्वाधार निर्माण गर्दै अघि बढ्नु उपयुक्त हुनेछ । अब विद्युतका पूर्वाधार तयार गरेर विद्युतको नियमित आपूर्ति गर्न जरुरी छ । जसले गर्दा सर्वसाधारण जनताको दैनिकी सहज बन्न सकोस् ।