२०८१, ४ आश्विन शुक्रबार

वर्षात संगै आउने प्राकृतिक जोखिम :सम्पादकिय

सम्पादकिय :  नेपाल विविध खालको भौगोलिक बनावट भएको देशमा पर्ने हुँदा नेपालले विभिन्न समयमा मौसमी प्रकोपहरुको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी वर्षायाममा बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम बढी हुने गर्दछ भने खाद्यान्न अभाव, विभिन्न प्रकारका सरुवा रोगको प्रकोपको जोखिम पनि उत्तिकै छ । जलवायु परिवर्तन सँगसँगै त्यसका थुप्रै असरहरु नेपालमा पनि देखिएका छन्, यसमध्ये एउटा हो वर्षामा अनियमिता । समयभन्दा अगाडि नै वा धेरै पछाडीबाट वर्षायाम सुरु हुँदा कतै पानी परेको प¥यै हुन्छ भने त्यही समयमा कतै सुख्खा हुन्छ । यसरी लामो समय सुख्खा भएको जमिनमा निरन्तरको वर्षाले विभिन्न समस्याहरु आइरहेको छ ।

हाम्रो देशमा विकासको वैज्ञानिक मोडेल छैन । जहाँ मन लाग्यो, जसको स्वार्थले जित्यो त्यहीँबाट बाटो खन्ने । वातावरणीय प्रभावको मूल्याब्कन नगरी सानातिना बाटा, कुला पनि डोजर लगाएर खन्ने, खोलानालामा क्रसर उद्योगहरु मनपरी तरिकाले सञ्चालन गर्ने गर्दा अहिले प्राकृतिक प्रकोप झन् बढिरहेको छ । अहिले पनि ३÷४ दिनदेखि देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेको छ । यसले पहाडि भेगका विभिन्न ठाउँमा पहिरो गएर बाटोघाटो अवरुद्ध भएको छ । पहिरोले कसैको घर, जग्गा, पशुचौपाया बगाएको छ भने तराई भेगमा डुबानले गर्दा मानिसका घर, खेतीपाती डुबेर मान्छे समेत डुबानमा परेर नोक्सानी भइरहेको छ । बाढिपहिरो गएसँगै त्यस क्षेत्रमा खाद्यान्न अभाव हुन्छ । स्वास्थ्य जोखिम पनि बढ्छ । एकातिर बाढि पहिरोले धनजनको क्षति गरिरहेको छ भने अर्कोतिर त्यसपछि आउने रोगब्याधको प्रकोपले समस्या हुने गरेको छ । यस्तो बेलामा सबैले तेरो–मेरो नभनी आफ्नो तर्फबाट सकेको सहयोग, उद्धार गर्नुपर्छ । राज्यले विकासको नाममा विनास निम्त्याउने खालको विकास गर्नु हुँदैन । स्थानीय सरकार सञ्चालनको जिम्मा पाएका जनप्रतिनिधिहरुले सस्तो लोकप्रियता र अर्को पटकको चुनावमा भोट पाउनकै लागि तथा बजेट छर्ने र सकेसम्म त्यही बजेटभित्र आफू पनि चर्ने गरी बजेटको बाँडफाँड गर्नु हुँदैन ।

समय सँगै प्रविधिमैत्री विकास गर्नुपर्छ । यसो भन्दैमा भौतिक विकासलाई मात्र प्राथमिकतामा नराखेर त्यसले जनजीवनमा पार्ने प्रभाव हेर्नु पर्छ । आफ्नो देशको, गाउँको, टोलको माटो सुहाउँदो हुने गरी गुणस्तरीय र टिकाउ विकास गर्न सकेको खण्डमा वर्षायामसँगै आउने यस्ता प्राकृतिक जोखिमहरुको न्यूनीकरण गर्न सकिन्छ र प्रकोपबाट धनजनको क्षति हुनबाट रोक्नको लागि सबै आफ्नो ठाउँबाट मानसिक र शारीरिक रुपमा तयार भएर बस्न जरुरी छ ।