२०८१, २९ कार्तिक बिहीबार

द्वन्द्वपीडितहरु न्याय माग्दै प्रशासनमा

कालिकोट: पाखोबारीमा दिनभर हलो जोतेर घरमा सुतिरहेका खाडाचक्र–३ सियालवाडाका ४८ वर्षीय चक्रबहादुर शाहीलाई राति १ बजे तत्कालीन विद्रोही माओवादीले विस्ताराबाटै अपहरण गरे । घरमा कोलाहल मच्चियो । चप्पल पनि लगाउन नदिएर खाली खुट्टा तीन दिन हिँडाउँदै जुम्लाको पातरखोला पुर्रुयाएर तलमाथि धान कुट्ने मुसल हालेर पेले । २० वर्षअघिको त्यही चोटको असरले उनी अचेल काम गर्न सक्दैनन् ।

राज्यले आफूहरुलाई बेवास्ता गरेको भन्दै उनीहरु सरकारको ध्यानाकर्षण गराउन धाइरहेका छन् । यातनाकै कारण अपांगता भएर बाँच्नु परे पनि सरकारले घाइते र अपांगताको सूचीमा नराखेर अपहरणमा मात्रै राखेकोमा उनीहरु असन्तुष्ट छन् । खाडाचक्र– १ देखि ४ वडाका द्वन्द्वपीडित संगठित भएर मंगलबार नगरपालिका ज्ञापनपत्र बुझाउँदै आयआर्जनमा सघाउ पुग्ने कार्यक्रम माग गरेका छन् । सोमबार उनीहरुले जिल्ला प्रशासनमा ज्ञापन बुझाएका थिए । ‘लामो बाटो हिँडडुल गर्न पनि कठिन छ । बिनागल्ती अपांग भएको छु,’ सोमबार कालीकोट जिल्ला प्रशासनमा न्यायका लागि गएका शाहीले भने, ‘बिनागल्ती पीडा पाएका छौं, हामीलाई न्याय चाहियो ।’

०६१ जेठ २१ गते राति अपहरणमा परेर माओवादीको कुटपिटबाट अपांग भएका खाडाचक्र–१ मान्मका ६५ वर्षीय छत्रबहादुर शाहीले भने, ‘पीडा दिने हाम्रो आँखा अगाडि घुमिरहेका छन्, हामीले न्याय पाएनौं ।’ उनका दुवै खुट्टा माओवादीले मुसल हालेर पेले पछि निलो भएका छन् ।‘नातिनातिनीले हजुरबुवा तपाईंको खुट्टा के भएका हुन् ? भनेर सोध्छन्,’ प्रजिअ गणेश नेपालीसँग पीडा पोख्दै उनले भने, ‘द्वन्द्वका घाउ किन कोट्याउनु भनेर आगोले पोलिएका हुन् भन्छु ।’ बालबालिक ामा बदलाका े भाव नआओस् भनेर त्यसो भन्ने गरेको उनको भनाइ छ ।

माओवादीबाट पीडा पाएर अंगभंग भएको २० वर्ष पुगिसक्दा पनि राज्यबाट सुनुवाइ नभएपछि न्यायका लागि धाउनु परेको मान्मका नवराज शाहीले बताए । ‘माओवादीले हाम्रो गल्ती के थियो भनेर अहिलेसम्म पनि भनेका छैनन्’ प्रशासनमा ज्ञापनपत्र वाचन गर्दै शाहीले भने, ‘पीडकहरु जिल्ला समन्वय, नगरपालिकाको नेतृत्वमा छन्, हामीले न्याय पाएनौं ।’ गाउँमा हुड्के नाचेर परिवार पाल्ने कालीकोटको ताडी मान्म क्षेत्रकै चर्चित हुड्के भोटे दमाईको माओवादीको यातनाकै कारण बिरामी परेर ५ वर्षअघि मृत्यु भएको उनकी बुहारी नानीकोइला दमाईले बताइन् । ‘कसैको आँखामा हाले पनि नबिझाउने मेरो वृद्ध ससुरालाई अपहरण गरे,’ उनले भनिन्, ‘हामीले न्याय पाएनौं ।

२० वर्षअघि यहाँको मान्म, ताडी, भर्ता, सुकाटिया, मुग्राहा र गेलाबाट एकै रात अपहरण गरेर जुम्लाको पातर खोला पुर्याएर निर्घात कुटपिट गरिएका १ सय ५ जना पीडितहरुले ०६६ असोज ३० गते उपचार खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँ मात्र पाएको गुनासो पोखे । ‘त्यही यातनाले हामी अपांग भएका छौं । आम्दानी हुने केही काम गर्न सक्दैनौं,’ प्रत्येक वर्ष फिजियोथेरापी गर्न बुटवल पुग्दै आएका खाडाचक्र–४ का ४ वर्षीय दानबहादुर विश्वकर्माले भने, ‘न्याय नपाएरै ११ जना दाजुभाइको मृत्यु भइसक्यो । मैले पनि उपचार गर्न खेतपाखो सबै बेचे, खानबस्न पनि समस्या छ ।’ माओवादी अपहरण पछिको कुटपिटबाट घाइते भएर उपचारकै क्रममा खाडाचक्र–२ का भोटे दमाई, मन्दिरे कामी, रणबहादुर खड्का, कृष्ण विष्ट, चन्दे कामी, वडा ३ का रंगवीरे पाण्डे, ४ का सन्तोष विश्वकर्मा, देउसिंङ विश्वकर्मा, देवीलाल आचार्यलगायतको मृत्यु भइसकेको पातरखोला अपहरणपीडित समूहका अध्यक्ष नवराज शाहीले बताए । राज्यले अपहरणमा परेकाको सूचीमा मात्र राखेकोमा पीडितहरुको चित्त दुखाई छ । अपहरणको सूचीबाट हटाएर घाइते तथा अपांगको सूचीमा राखेर राहत र जीवन निर्वाह भत्ता पाउनुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ नेपालीले यहाँका पीडितलाई सम्बोधन गर्न राज्यबाटै नीतिगत निर्णय गर्नुपर्ने भएकाले प्रधानमन्त्री कार्यालयमा पठाइ दिने प्रतिबद्धता गरे । उनले स्थानीय तहले मेलमिलाप र आयआर्जनका लागि सहयोग गर्नुपर्ने बताए । कालीकोटमा सशस्त्र द्वन्द्वबाट ५ सय ५३ जनाले ज्यान गुमाएका छन् भने २८ जना अझै बेपत्ता छन् ।