२०८१, २९ आश्विन मंगलवार

अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै, उद्धार कार्य सुरु ।

No photo description available.सुर्खेत: अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन। पुलमा अड्किएका खच्चडको उद्धार सुरु भएको छ । दुवै जिल्लाका प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले उद्धार थालेको स्थानीय भरत साउदले बताउनु भएको छ ।
पुलबाटै उद्धार सम्भव नभएकाले तार काटेर फसेका खच्चडलाई नदीमा खसाल्न थालिएको साउदले जानकारी दिए । ‘अहिलेसम्म ३ वटा खसालिएको छ । बाँकी खच्चड पनि खसाल्न तार काटिँदै छ’, उनले भने, ‘तल नदीमा डुंगा राखेर निकाल्ने काम भइरहेको छ । अरु उपाय सम्भव भएन ।’
साउदका अनुसार पुलमा ५ जना व्यापारीका १६ वटा खच्चड फसेका छन् । नजिकै पक्की पुल रहे पनि व्यापारीले झोलुंगे पुलबाट एकैचोटि धेरै खच्चड लैजान खोज्दा दुर्घटना हुन पुगेको स्थानीयले दाबी गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, दैलेखका निमित्त प्रमुख गणेशप्रसाद कोइरालाले आज बिहान करिब ९ बजे नै पुलको एकातर्फको लठ्ठा चुँडिँदा ती खच्चड तारमा फसेको जानकारी दिए।

उनका अनुसार १३ वटा खच्चड फसेकोमा एउटा चाहिँ नदीमै खसेको थियो। तर,सामान्य चोट लागेको र उद्धार गरिएको निमित्त प्रमुख कोइरालाले जानकारी दिए। उनका अनुसार अरू खच्चड भने पुलमै फसेका छन्।

उनले भने,‘हामीले चाही ११ बजे जानकारी प्राप्त भयो,फसेका खच्चडहरुको उद्धार गर्न सशस्त्र प्रहरी,स्थानीय लगायत खटिएका छन्,तर ठाउँ असहज भएकाले जटिल चाहिँ छ,उद्धार गर्ने प्रयास भइरहेको छ।’

जिल्ला प्रशासन कार्यालय दैलेखले अहिले पुलको लठ्ठा चुँडिएसँगै दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको जनाएको छ।