२०८०, १६ मंसिर शनिबार

भद्रबहादुरका पीडा : न घर रह्यो नत परिवार

सुर्खेत । “मध्यरातमा भूकम्पले घर भत्कायो । घरसँगै आफन्तको बियोगले मुटु चिरा चर्कियोे । दाइ भाउजु रहेनन् छोरा रहेनन् यो कस्तो विपत्ति आइलाग्यो”, चिरा परेको घरलाई हेर्दै टोलाउदै बर्बराइरहन्छन् भद्रबहादुर ।

जाजरकोटको नलगाड नगरपालिका १ चिउरीका भद्रबहादुर विकलाई ठुलो विपत्ति आइलाग्यो । कार्तिक १७ गते गएको भूकम्पमा परेर दाई भाउजु र छोरा गुमाए । भूकम्पमा परेका दाईभाउजुले बचाउ बचाउ भनेको आवाज भद्रबहादुरका मानसपटलमा अहिले पनि ताजै बनेर गुन्जिरहन्छ । भूकम्पमा परेर छापिएका दाइभाउजुलाई उद्धार गर्दा गर्दै बचाउन सकेनन् । जस्ले उनी भक्कानिदै डाको छोडेर रुन्छन् ।

भूकम्पले गर्दा भारतको हिमाचल प्रदेश र भारतका अन्य विभिन्न गल्लिहरुमा ज्याला मज्दुरी गरेर वर्षौ लगायर बनाएको घर भूकम्पले चिरा चिरा भएर ढलेपछि अब कसरी बाच्ने भन्ने पीरमा छन् । “भूकम्पले मर्नेहरु त मरिहाले हामी बाँचेकाहरुको जिउँदै मरु भएको छ” भद्रबहादुरले भने । देशमा रोजगारी छैन उत्पादनको आशछैन,”उनले भने, “खुल्ला आकाशमूनी बास भएको छ वर्षौसम्म भारतमा हात नङ्रा खियाएर बनाएको घर पनि रहेन अब कसोगरी बाच्ने ?”
नेपालमा रोजगारी छैन । देश दिनहुँ दिन गरिब बन्दैछ,”भद्रबिरले भने, “नेपालमा कुनै कुराको आशा गर्नु भनेको आकाशको फल आँखातरी मर भन्नुजस्तै हो । यस्तो विपदको समयमा त यहाँ राहत पाउन सकिएको छैन अरु के कुराको आश गर्नु ?”

भारतमै दुःख सुख गरेर परिवार पालनपोषणका लागि भद्रबिरका दाई ५५ वर्षिय हिरे विक भारतको हिमाचलबाट दशैँ मनाउन घर फर्किएको केही दिन मात्र भएको थियो । वर्षौ देखि हिमाचलमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए । दुई वर्षअघि मात्र मजदुरीको पैसाले गाउँमै दुई तलाको घर ठड्याएका थिए । तर वर्षौ देखि आफुले दुःख गरि बनाएको त्यही घरमा पुरिएर उनीसहित परिवारका चार जनाले ज्यान गुमाए ।

कात्तिक १७ गते गएको भूकम्पमा हिरेले ज्यालामजदुरी गरेर बनाएको घर भत्कियो । त्यसैमा परेर उनीसहित वर्ष ३९ श्रीमती चन्द्रकली विक, वर्ष १४ को माइलो छोरा विमल र वर्ष १२ को कान्छा छोरा सुनिलले ज्यान गुमाए । ९ वर्षीया छोरी प्रेमकलीलाई भने काका भद्रवीरले भग्नावशेष ठाउँबाट उधिनेर बचाउन सफल भए ।

जब गाउँमा कोलाहल मच्चियो……..

राति भूकम्प गएको बेला हिरेका भाइ भद्रवीर तरकारीमा पानी लगाउन बारीतिर गएका थिए । अचानक जमिन हल्लिन थालेपछि उनी अक्क न बक्क भए । एकैछिनमा छरछिमेकीको कोलाहल सुने

। “गाउँमा कोलाहल रुवाबासी चल्यो । परिवार चिच्याउन थाले । घर हेर्दाहेर्दै ढल्यो । पछि बच्चाबच्चीले ठूलाबुवाहरू पुरिए भनेपछि हतारहतार दाइभाउजु सुतेको घरमा गयौँ,” भद्रवीरले भने ।

भद्रवीरको पनि घर भत्किएको छ । त्यहाँ कोही पुरिएको थिएन। उनकी छोरी रूपा भने दाई हिरेको घरमा सुतेकी थिइन । भद्रवीरको घरदेखि हिरेको घर करिब ५० मिटरको दूरीमा छ ।
“दाइ भाउजूले आधा–एक घण्टासम्म ‘बचाउ बचाउ’ भनिरहेका थिए,” उनले भने, “ । माथिल्लो तलामा छोरीका खुट्टा देखिए । दुवै छोरीलाई बचाउन सफल भयौँ । दाइ भाउजू भुईं तलमा सुतेका रहेछन, बचाउन सकिएन ।”

घर ढलिहालेपछि उद्धारको लागि सरसामान पुरियो जस्ले गर्दा उद्धार गर्न निकै असहज भएको थियो,”उनले भने, “उद्धार गर्ने सामाग्री भएको भए दाइ भाउजु र दुइ छोरालाई पनि उद्धार गर्न सकिन्थ्यो । दाइले चाँडो निकाल मलाई जुवाले च्यापेको छ चाँडो तान भन्दै भन्दै आत्तिनुभएको थियो । हातले नै माटो उधिनेर फल्दा फल्दै दाइको श्वास रोकियो । लास निकाल्दा निकाल्दै बिहानको ५ बजिसकेको थियो ।”

रूपा र प्रेमकलाको उद्धार गर्न उनीहरूलाई आधा घन्टा लागेको थियो । तर तल्लो तलासम्म माटो पन्छाउन पाँच घण्टा लाग्यो । एक घण्टासम्म पनि ‘माटो पन्छाउ, मलाई निकाल’ भन्ने दाइ हिरेको आवाज सुनिरहेको भद्रवीर बताउँछन् । त्यसपछि भने आवाज सुनिन बन्द भयो । “नानीहरू माथिल्लो तलामा रहेछन, छिट्टै भेटिए । दाइहरू तल सुतेका रहेछन । एक घण्टासम्म बोलिरहेका थिए, पछि श्वास गइसकेछ ।”

हिरेकी छोरी प्रेमकला चिउरीकै नेरा प्राविमा कक्षा ३ मा पढ्छिन् । उनी घाइते भएकी छन । माटोमा पुरिएपछि पनि आफ्नो बुवा, दाइ र आमाले ‘बचाउ, बचाउ’ भनेको उनले सुनिरहेकी थिइन् प्रेमकला भन्छिन, “अंकलले दिदी र मलाई निकाल्नुभयो । पछि केही थाहा पाएनौँ । पहिला त आमा, बुवा र दाइले ‘बचाउ’ भन्नुभएको थियो ।”

पुरिएकाहरूको तत्कालै उद्धार गर्न भद्रवीर र उनका छोरा अभिलालसँग कुनै औजार थिएन। हातैले भग्नावेशेष कोट्याएर प्रेमकला र रूपालाई बचाएको अभिलाल विक बताउँछन । उनी भन्छन्, “पहिला रूपाको खु्ट्टा देखियो । उनलाई निकाल्न आधा घण्टा लाग्यो । ठूलोबुवा (हिरे) ‘जुवाले च्यापेको छ,तान’ भन्दै हुनुहुन्थ्यो । प्रेमकलाको केही देखिएको थिएन । पछि दुई फिटसम्म माटो तानेपछि मात्रै उनी भेटिइन्। नाकमुख सबैमा माटो थियो। माटो निकालेपछि श्वास आयो ।”

चिउरी गाउँमा मात्र भूकम्पबाट १३ जनाले ज्यान गुमाएका छन । सामान्य घाइतेको विवरण संकलन गरिएको छैन । वडा कार्यालयका अनुसार १५ जना गम्भीर घाइते छन । यो गाउँका मात्र ५६ घर ध्वस्त भएका छन । बाँकी घर पनि बस्न नमिल्ने अवस्थामा छन ।

चिउरीका स्थानीयले भर्खरै मात्र अन्नबाली भित्र्याएका थिए । अन्न सबै पुरिएको स्थानीय तिलक विक बताउँछन । अहिले उनीहरू गहुँबारीमा खुला आकाशमुनि रात बिताइरहेका छन । उनीहरूको पुकारा छ, ‘हे ईश्वर, पानी नआइज । पानी परेपछि त हामी बाँच्दैनौँ ।’ चिउरी गाउँमा मात्र तिलकजस्तै १६८ परिवार खुला आकाशमुनि छन ।

नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर वडामा बजेट नभएको कारण पीडितको व्यवस्थापन गर्न कठिन भएको बताउँछन ।

अहिलेसम्म नलगाड–१ को चिउरीमा १३ जना, पालीमा ७ र कल्पतमा पाँच गरेर २५ जनाले ज्यान गुमाएका छन । यो वडाका सबै गाउँमा गरेर ७०० घर छन । तीमध्ये अधिकांश क्षतिग्रस्त भएको महर बताउँछन ।

चिउरी गाउँमा मृत्यु भएका १३ जनाको आइतबार भेरी नदीमा एकैपटक अन्त्येष्टि गरिएको थियो । वडाध्यक्ष महरका अनुसार शव व्यवस्थापन र उद्धारमा दुई दिन बितिसकेको छ । त्यसमा समय लागेको कारण घर भत्किएकालाई बास व्यवस्थापन गर्न नपाएको उनको भनाइ छ ।