२०८१, २० बैशाख बिहीबार

गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान गठबन्धनको सरकार कुनैपनि हालतमा नढल्ने बताएका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियानको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘कसैले पनि चुरीफुरी धेरै नगर्नुहोस् कोशी प्रदेशको विषयलाई लिएर गठबन्धन ढल्छ कि भन्ने लागेको छ भने त्यो भ्रम हो’, उनले भने ।

अध्यक्ष नेपालले न्यायका आवाज बुलन्द गर्दै एकीकृत समाजवादी जनताको बीचमा आएको बताए । उनले जनताकै बीचमा रहेर समाजवादीलाई बलियो पार्टी बनाइने बताए ।

नेपालमा भ्रष्टाचार व्याप्त रहेको छ । हामीले भ्रष्टाचारविरुद्धको आवाज लिएर पनि जनताको बीचमा आएका छौँ,उनले भने,देशमा भइरहेका बेथितिको विरुद्धमा अभियान चलाउँदै समाजवादी पार्टीलाई जनताको पार्टीका रूपमा स्थापित गराइने छ ।

नेपालले विभिन्न कालखण्डमा एमाले‌ पार्टी निर्माण गरिएको बताए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउनेदेखि राजाको शासनलाई ढाल्न ठूलो संघर्ष गरेको स्मरण गर्दै उनले भने,२०७४ मा दुई तिहाइको बहुमत आयो तर, जनताको भावना एमालेले बुझ्न सकेन । व्यक्तिगत अहंकारमा लागेर देशलाई दुर्घटनामा लाने काम भयो ।

 

सम्बन्धित समाचार