२०८१, ४ जेष्ठ शुक्रबार

कर्णाली विकासका लागि एकता आवश्यक : उपप्रधानमन्त्री खड्का

सुर्खेत ।  उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगरमा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता पनि उत्तिकै आवश्यक रहेको बताए ।

सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुन्छ,खड्काले भने, कर्णाली प्रदेशमा पर्यटनसहित सबै क्षेत्रमा अथाह सम्भावना रहेको भन्दै त्यसका लागि भौतिक पूर्वाधार निर्माणमा लाग्न जरुरी छ ।

भौतिक पूर्वाधार निर्माणमा ढिलाइ भएकै कारण कर्णाली प्रदेश पर्यटन विकास देखि सबै क्षेत्रमा पछि परेको भन्दै अब पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बेला आएको उनले बताए ।

भोटको राजनीतिका लागि विकास निर्माणलाई असर गर्न नहुनेमा जोड दिए । विकास निर्माणमा पछि परेको कर्णाली प्रदेशको तीव्र विकासका लागि तीनवटै तहका सरकार, राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजलाई समेत सँगसँगै लिएर जानुपर्ने उनको भनाइ रहेको थियो । कर्णालीको विकासमा देखिएका समस्या र समाधानका उपाय पत्ता लगाएर देखिएका कमी कमजोरी सच्याएर काम गरे अबको १०/ १५ वर्षमा कर्णालीलाई सम्पन्न प्रदेश बनाउन सकिने उल्लेख गरे।

वर्तमान परिप्रेक्ष्यमा विकास निर्माणमा असर पार्ने गरी कसैले राजनीति गरे त्यो राजनीति नभई जनतामाथिको बेइमानी हुने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।

प्रादेशिक औधोगिक ग्रामको कामलाई पनि चाँडै सुरूवात हुने समेत बताए । हालको सुर्खेत विमानस्थलले भविष्यको जनघनत्वको चाँप नधान्ने अवस्था रहेकाले बेलैमा नयाँ ठाउँमा ठूलो विमानस्थलका लागि अहिलेदेखिनै पहल गर्नुपर्ने आवश्कता औँल्याए ।

सम्बन्धित समाचार