२०८१, २० बैशाख बिहीबार

देश विविध कारणले अप्ठ्यारोमा परेको छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत। उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए ।

संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ, उनले भने,संविधानलाई भड्काउने कोसिस भएको सङ्केत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नु पर्दछ ।

काङ्ग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्त पछिको घमन्ड र अहङ्कारका कारणले कांग्रेसप्रति जनताको गुनासो बढेको बताए । त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक उनको भनाइ थियो ।

हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन् । मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्,उनले भने, पार्टी र भातृ संस्था सुधार गर्न आवश्यक छ । हामी सच्चिन आवश्यक छ ।

त्यस्तै, खड्काले राष्ट्रिय मगर सङ्घको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरेका थिए । कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर सङ्घको अधिवेशनबाट महत्त्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे ।