२०८३, १७ असार बुधबार

एसियाकै उत्कृष्ट नगर वालिङ

स्याङ्जा  ।  फोहरलाई मोहरमा परिवर्तन गरी नगरपालिकाको आयमा टेवा पुर्‍याएको भन्दै स्याङ्जाको वालिङ नगरपालिकालाई उत्कृष्ट नगर घोषणा गरिएको छ ।

एसिया प्यासिफिक क्षेत्रका संयुक्त नगरहरूको स्थानीय सरकारहरूको समूह(युसिएलजी–एसियाप्यासिफिक)बाट वालिङ उत्कृष्ट नगरको रूपमा सम्मानित हुने भएको छ ।

एसियाप्यासिफिकले पाँच हजार डलर बराबरको ‘एसिया प्यासिफिक स्यानिटेशन एक्सिलेन्स अवार्ड २०२३’ बाट वालिङ नगरपालिकालाई सम्मान घोषणा गरेको अक्टोबर ६ मा युसिएलजी–एसिया प्यासिफिकका महासचिव डा बेर्नाडिया इरावती टीजन्द्रावतीले यसबारे नगरपालिकालाई जानकारी दिएको हो ।

दिसाजन्य लेदोको उत्कृष्ट प्रशोधन गरी मल र शुद्ध पानी बनाउने काम गरेको मुल्यांकन गरी युसिएलजी–एसियाप्यासिफिकले अवार्डबाट सम्मान गरेको नगरप्रमुख कृष्ण खाँणले बताए । नगरप्रमुख कृष्ण खाँणले एसिया प्यासिफिक क्षेत्रका नगरपालिकाहरु मध्ये वालिङ उत्कृष्ट नगरपालिकाको रूपमा घोषित हुँदा खुशी भएको बताए ।

नगरप्रमुख खाँणले नगरपालिकाले नगरभित्र उत्सर्जन हुने विभिन्न प्रकृतिका फोहोर मैला सही व्यवस्थापन गरी फोहोरलाई मोहरमा रूपान्तरण गर्ने अभियानले सार्थकता पाएको उल्लेख गरे ।

पुरस्कार यही २०२३ नोभेम्बर १३–१५ मा चीनको यीवु सहरमा वितरण हुनेछ ।