२०८१, १ कार्तिक बिहीबार

पानीट्यांकीका लागि आएको साढे ६ लाख बजेट कामै नगरी हिनामिना, प्रमुख प्रशासकीयसहित आठविरुद्ध मुद्दा

 

सुर्खेत । खानेपानी ट्यांकी निर्माणका लागि आएको साढे ६ लाख बजेट कामै नगरी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हुम्लाको चंखेली गाउँपालिका– २ मा खानेपानीको ट्यांकी निर्माणका लागि आर्थिक वर्ष ०७७÷७८ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित रकममा भ्रष्टाचार भएको हो ।
ट्यांकी निर्माण आयोजनामा काम नै नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ताको बिलमा चढाई बढी मूल्यांकन गरी भुक्तानीका लागि स्वीकृत गरेर ६ लाख ४८ हजार सात सय ८६ भ्रष्टाचार गरिएको अख्तियारको दाबी छ ।

भ्रष्टाचारमा संलग्न भएको आरोपमा अख्तियारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई पूरा अनियमितता भएकै अंकमा बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ ।
गाउँपालिकाका इन्जिनियर मानबहादुर ऐडी र प्राविधिक सहायक (सबइन्जिनियर) गोभधन बोहोरालाई त्यति नै बिगो कायम गरिएको छ। लेखापाल नवीन रेग्मीविरुद्ध पनि सोही अंकमा बिगो मागदाबी गरिएको छ ।

वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्यायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटा (धिताल)विरुद्ध ६ लाख ४८ हजार सात सय ८६ बिगो दाबी गरिएको छ ।