जल प्रतियोगितामा हुँदै, जित्नेले २० लाख अनुदान पाउने
सुर्खेत : विश्व पानी दिवसको अवसर पारी यूएसएआईडी कर्णाली जल परियोजना ले ‘कर्णाली जल प्रतियोगिता’ आव्हान गरेको छ । कर्णाली प्रदेशको भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको सहकार्यमा घरायसी तथा कृषि कर्मको तहमा जल सुरक्षा र जल–उपयोग सबलतामा नवीनता उत्प्रेरित र प्रोत्साहित गर्न जल प्रतियोगिताको आयोजना गरेको हो ।
जल प्रतियोगितामा विजयी भएका दुई वा तीन वटा अवधारणालाई आगामी १२ महिना भित्र कार्यान्वयन गर्ने गरी २० लाख बढी राशीको अनुदान दिईनेछ । प्रतियोगितामा गैरसरकारी संस्थाहरु, समुदायमा आधारित संस्थाहरु र अन्य गैर नाफा मूलक प्रतिष्ठानहरुले भाग लिन पाउनेछन् ।
घरायसी र उत्पादनमूलक दुवै प्रयोजनका लागि जल सुरक्षा र जल–उपयोग सबलता सम्बन्धी नवीनतम उपाय र प्रविधिहरू पहिचान गर्न, प्रस्ट नतिजा देखिएका भरपर्दा अभ्यासहरू र तरिकाहरूको खोजी गर्न जसले एउटा देखिने नतिजा दिने र उपभोक्ता, सेवा प्रदायक, नवीनताकर्मी र अरू जल सुरक्षा र जल–उपयोग सबलताका सरोकारवालाहरू बीचको ज्ञान आदान–प्रदानलाई प्रोत्साहित गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
घरायसी प्रयोगका लागि जल–सबल प्रविधिहरू, कृषि–कर्म र सिँचाइका लागि स्मार्ट–कृषि र सबल प्रविधिहरू, जलवायु उत्थानशील र जलवायु अनुकूलन प्रविधिहरू, जलाधार संरक्षण र व्यवस्थापन, जल नियमन र क्षमता अभिवृद्धि, पानीको स्रोत संरक्षण, पुर्नस्थापना र पुनर्भरण जस्ता अवधारणा जल प्रतियोगितामा पेश गर्न सक्नेछन् ।
यस्तै खेर जाने पानी व्यवस्थापन, जमिन मुनिको पानी संरक्षण र घरायसी तथा संस्थागत तहमा मलमूत्र व्यवस्थापन, जल चापीय क्षेत्रहरूमा नवीनता (जस्तै, वर्षा÷हिउँ÷कुहिरो पानीको भण्डारण, पानी जतन गर्ने प्रविधि र औजारहरू, पानी लिप्टिङ) घरायसी तहमै पानीको गुणस्तर जाँच्ने तथा शुद्ध पार्ने (स्थानीय ज्ञान समेत), आदिवासी ज्ञान र राम्रा अभ्यासहरू, जल सुरक्षाका लागि सामाजिक व्यवहार परिवर्तन सञ्चार, लैङ्गिक तथा सामाजिक समावेशी विधिहरू र पूर्वाधार च्यालेञ्जले समेट्ने मुख्य प्राथमिकताका विषयहरू हुन ।
कर्णाली जल प्रतियोगिताले देशव्यापी आवेदन स्वीकार गर्ने भए पनि कर्णाली जल परियोजना सँग सान्दर्भिक भएका चुनौतीहरू र अवसरहरूमा केन्द्रित हुनेछ । परियोजनाले भौगोलिक रूपमा कर्णाली नदी जलाधार क्षेत्रका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पर्ने रारा खत्याड, तिला, मध्य कर्णाली र तल्लो कर्णाली जलाधार क्षेत्रका २९ वटा पालिकाहरूलाई समेट्छ । कानुनी रूपमा दर्ता भएका, स्थानीय गैरसरकारी संस्थाहरू र गैर नाफा मूलक संस्थाहरूलाई आवेदनका लागि प्रोत्साहित गरिन्छ ।
विजेताले तयार गरेका नवीनतम समाधानहरूलाई यूएसएआडी कर्णाली जल परियोजनाले यूएसएआईडीका कार्यक्रमहरू सहित वृहत् विकास साझेदारहरूको समुदाय, सरकार र अरू विकास साझेदारहरू सम्म प्रचार र बजारीकरण गर्न पनि सहयोग गर्नेछ । छनौट नभएका अवधारणाको लागि परियोजनाले बजारीकरणको एउटा प्याकेज तयार गर्नेछ र अरू संस्थाहरूमा रोस्टर तयार गरी सम्भावित सहकार्यका लागि समन्वय गर्नेछ ।