चुनावी एजेण्डा नभएपछि गाली गलौजमा दलहरु
प्रादेशिक र संघीय प्रतिनिधिसभाको निर्वाचनलाई महा गालीपर्वका रूपमा मनाइँदै छ । नेताको विचार, कार्यशैली र सोच पनि समसामयिक नेपाली राजनीतिक बजारमा तुरिन थालेको अनुभूति भैरहेको छ । वर्तमान समयमा सबैभन्दा शक्तिशाली तर सबैभन्दा बढी अस्थिर नेताहरु रहेका छन् । यो कुरा अहिले विकसित भएका केही राजनीतिक घटनाक्रमहरूले समेत देखाइरहेका छन् । यहाँनेर उठाउन खोजिएको कुरो के भने, पुराना पार्टीका पुराना नेताहरूले जुन तबरले एक–अर्का पार्टीका नेता र उनीहरूले गरेका कामलाई लक्षित गरी गालीगलौजको भाषामा चुनावी सभामा भाषण गरिरहेका छन् त्यसले झन्झन् युवा मतदाताहरूलाई बिच्क्याउने काम गरेको छ । हामीले यो कुरा स्थापित नेताहरूलाई बुझाउन सकेनौं कि युवा मतदाताहरू तरल सोचका र परिवर्तनका लागि झट्टै प्रभावमा आउने हुन्छन् ।
वास्तवमा सचेत मतदाताहरूलाई समेत इमोसनल ब्ल्याकमेलिङ गरेको अवस्था हो । पढेलेखेकी नेताले यस्तो प्रकारको घटिया सोच राखेर चुनावमा मतदातालाई झुक्याउने गरेको योभन्दा अघि शायदै कहिल्यै देखिएको थियो ।
अहिले सत्तामा रहेका वा हिजो कुनै पनि बेला सत्ताको तर मार्न पल्केका बूढा नेताहरूले चुनावलाई सिर्जनात्मक बनाउने ह्याउ र हुती राख्न सकेनन्, यो गम्भीर सत्य हो । चुनावैपिच्छे मतदाताका अभिलाषा र जनताका सपनाहरू नयाँ–नयाँ शैली र ढंगले बढेका बढ्यै छन् तर हाम्रा नेताहरू भने उही पुरातन तालमै भ्यागुताले आफू बसेको आहाललाई नै संसार ठानेर मख्ख परेझैँ परेका छन् । यो उनीहरूको आत्मरति हो । सपना देख्ने नेताहरूचाहिँ कम भएका तर आत्मरतिमा रमाउने नेताहरू ज्यादा भएको देश हुनाले नै यो मुलुकले नराम्ररी दुःख पाएको हो ।