२०८२, २ बैशाख मंगलवार

मौन अवधिः शुरु हुनुभन्दा अगाडी दलहरु भोट तान्ने चुनावी सभा

सुर्खेत : मौन अवधि शुरु हुनभन्दा अगाडी दलहरुले मतदाता रिझाउनका लागि चुनावी सभाहरु गरेका छन् । कर्णालीका प्रदेशका बिभिन्न ठाउँमा दलहरुले चुनावी सभा गरेका हुन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु भएको थियो । त्यसभन्दा अगाडी दलहरुले चुनावी सभा गरेका हुन् ।
निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घन्टालाई स्थिर समय भनिएको छ । स्थिर समय अर्थात् मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइनेछैन ।
४ मंसिर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । उनका अनुसार मौन अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नपाइने आयुक्त रामप्रसाद भण्डारीले बताए ।
कुनै पनि विधिबाट मत माग्ने र निर्वाचन प्रचार गर्न पाइनेछैन । मतदानस्थलअघि राखिएका दल तथा उम्मेदवारका प्रचारप्रसार सामग्री सम्बन्धित दल तथा उम्मेदवारले पूर्ण रूपमा हटाउनुपर्नेछ ।
आयुक्त भण्डारीले उम्मेदवार, दल, भ्रातृ संगठनको सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताए । सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत पोस्ट, सेयर, लाइक र कमेन्ट गर्न पनि नपाइने उनको भनाइ छ ।
आयोगले मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नका लागि मतदानको मितिभन्दा ४८ घन्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मदिरा निषेध गराउन तथा सूक्ष्म अनुगमन गर्न सिडिओ, प्रहरीलाई निर्देशन दिइएको छ भने मदिरा व्यवसायीसँग सहयोग मागिएको छ ।
प्रवक्ता पौडेलले मौन अवधि कार्यान्वयन गराउन बिहीबार राति १२ बजेदेखि नै नेपाल भारत सीमानाका बन्द गरिने बताए । यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरिएको छ । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् ।
निर्वाचन आयुक्त भण्डारीले मतदानको तीन घन्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा खटिएका व्यक्ति वा कर्मचारीलाई बाधा हुने गरी कुनै काम गर्न नपाइने बताए ।
‘मतदान केन्द्र रहेको घर, भवन वा सो स्थलवरिपरि असर पर्ने गरी शान्ति भंग गर्ने वा भय, त्रास पैदा हुने गरी निर्वाचन वातावरण बिथोल्न पाइँदैन । मतदानस्थलवरिपरि साउन्ड सिस्टम राख्ने, ठूलो स्वरले बजाउन पाइँदैन । बाजागाजा बजाउने, नाचगान, भोजभतेर गर्ने, जुलुस प्रदर्शन, जुनसुकै किसिमको सभा, समारोह गर्न, हुलहुज्जत, होहल्ला गर्न पाइँदैन,’ उनले भने ।
आचारसंहिताविपरीतका यी गतिविधि गरेमा निर्वाचन कसुर सजाय ऐनअनुसार कारवाही हुनेछ ।
आयुक्त भण्डारीले आचारसंहिता पूर्ण पालना गराउन निर्वाचन अधिकृत, मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, प्रहरी प्रशासन सबैलाई निर्देशन जारी गरिसकेको बताए । मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही हुने उनले चेतावनी दिए । निर्वाचन कसुर सजाय ऐनमा अधिकतम दुई लाखसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
निर्वाचनको तयारी पूरा
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन आयोगले बिहीबार पत्रकार सम्मेलन गर्दै निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भन्दै बिहीबार राति १२ बजेदेखि चुनावी प्रचार गर्न नपाइने जानकारी दिएको छ ।
निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । पत्रकार सम्मेलनका क्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थापलियाले समानुपातिकबाहेक प्रतिनिधिसभातर्फ २ हजार ४ सय १२ र प्रदेशसभातर्फ ३ हजार २ सय २४ जनाको उम्मेदवारी परेको बताए ।
निर्वाचनका लागि कूल ८ करोड पतपत्र छापिएको जानकारी दिए । उनले ७ हजार २ सय १९ जनाले निर्वाचनको पर्यवेक्षण गर्ने भन्दै १८ कूटनीतिक नियोगले अनुगमन गर्ने बताए । मतदान केन्द्रमा ३ घेराको सुरक्षा व्यवस्था प्रदान गर्नेगरी २ दिनभित्र केन्द्र निर्माण गरिने समेत उनले बताए ।
व्यस्थापकीय काम सकिएको र सुरक्षा व्यवस्था पनि मिलाइसकिएको आयोगले जनाएको छ ।
मौन अवधिमा के के गर्न पाइदैन्
निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानुनमा उल्लेख छ ।
– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने ।
– मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।
– एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।
– अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।