२०७९, १८ मंसिर आईतवार

अर्थमन्त्री जर्नादनका विगतमा प्रतिस्पर्धी, अहिलेका चुनावी कमाण्डर

सुर्खेत : अर्थमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा विगत तिन दशकदेखिका चुनावी प्रतिस्पर्धी अहिले चुनावी कमाण्डर बनेका छन् । अर्थमन्त्री शर्मा र नेपाली कांग्रेसका नेता गोपालजीजङ्ग शाह २०४८ सालमा पहिलो पटक भिडेका थिए । त्यो बेला राष्ट्रिय जनमोर्चाका उम्मेदवार रहेका शर्मालाई शाहले पराजित गरे ।
शर्मा लामो समय माओवादी जनयुद्ध सामेल शान्तिकालमा आएपछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादी नेता शर्माले कांग्रेसका प्रेमप्रकाश ओलीलाई पराजय गरे । पुनः शर्माका ०७० को दोस्रो संविधानसभा र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनका मुख्य प्रतिस्पर्धी गोपालजीजंग शाह रहे । दुबै पटक शाहलाई पराजित गरे । रुकुमपश्चिमबाट ‘ह्याट्रिक’ विजयी भएका शर्माका अहिलेका चुनावी कमाण्डर बनेका शाह ।
विगतमा एकअर्काका चर्को आलोचना गर्ने शर्मा र शाह अहिले एउटै मञ्चबाट चुनावी प्रचार गर्न थालेका छन् । पाँच दलिय गठबन्धनबाट शर्मा उम्मेदवार बनेपछि विगतका तितो सम्बन्ध रहेका कांग्रेसका शाह अहिले चुनावी कमाण्डर बनेर शर्मालाई मत मागिरहेका छन् । शाह पनि उम्मेदवारका आंकाक्षी रहेका थिए । तर, गठबन्धनको भागमा माओवादी केन्द्रको परेपछि शर्मा रुकुमपश्चिमको प्रतिनीधिसभाको उम्मेदवार बने भने शाह त्यसको चुनावी कमाण्डर ।
शाह चुनावी कमान्डर
२०४८ सालदेखि प्रतिस्पर्धा गर्दै आएका शर्मा र शाहबीचको सम्बन्ध निर्वाचनमा मात्र होइन अन्य समयमा पनि खास राम्रो हुन सकेको थिएन । सार्वजनिक कार्यक्रममा एक अर्काप्रति खरो प्रतिवाद गर्ने उनीहरु अहिले एक अर्काको प्रशंसा गरेर नथाक्ने अवस्था रहेका छन् ।
राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र नहुने र हिजो एकअर्कालाई हराउन लागे पनि आज म शर्मालाई जिताउन लागिपरेको शाहले बताए । ‘प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा रुकुमपश्चिममा पहिलो पटक नेपाली कांग्रेस उम्मेदवारविहीन भएको छ ।’ उनले भने,‘मैले शान्तिका लागि पनि माओवादीका उम्मेदवार शर्मालाई जिताउनका लागि चुनावी प्रचारको कमाण्डर बनेको हुँ ।’
विगतमा कांग्रेस र माओवादीबीच तित्तता भएपनि अहिलेको आवश्यकताका, शान्तिका लागि माओवादी र कांग्रेस पार्टीले चुनावी गठबन्धन बनाउन परेको शाहले बताए । ‘शान्ति वार्ता नेपाली कांग्रेसका स्वर्गिय सभापति गिरीजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच समझदारीले बनेको थियो ।’ उनले भने,‘शान्तिको सन्देश दिन पनि कांग्रेस र माओवादी पहिलो पटक एकै ठाउँमा उभिएका हुन् ।’
विगतमा मित्र अहिलेका प्रतिस्पर्धी
२०७४ सालको निर्वाचनमा रुकुमपश्चिमबाट शर्माले एमालेको सहयोगमा विजयी भएका थिए । अहिले एमालेका उम्मेदवार रहेका नन्दराम देवकोटाले शर्मालाई जिताउनका लागि सहयोगीको भूमिका निर्वाह गरेका थिए । तिनै देवकोटा अहिले शर्मा बिरुद्ध उम्मेदवारी दिएर चुनावी मैदानमा उभिएका छन् ।
यस्तो छ स्थानीय तहको चुनावको अंकगणित
स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा माओवादीसँग ३६ हजार दुई सय ९० मत छ भने कांग्रेसको मत २६ हजार ६ सय १९ मत रहेको छ । एमालेले ६ हजार ९१ मत पाउँदा राप्रपाको मत एक सय आठ मत छ । एकीकृत समाजवादीको मत एक सय ३० मात्र छ । गठबन्धनको कुल मत ६३ हजार ३९ पुग्दा एमालेको मत ६ हजार ९१ मात्र छ ।
रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेका छन् ।