२०८१, २० बैशाख बिहीबार

प्रचण्डले जुम्ला, हुम्ला र कालीकोटको चुनावीसभालाई सम्बोधन गर्ने

सुर्खेत : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले साविक माथिल्लो कर्णालीका ३ जिल्लाका चुनावीसभामा सम्बोधन गर्ने भएका छन्।

प्रचण्डले मंगलबार एकै साथ ३ जिल्लामा गठवन्धनको  आम चुनावी सभा सम्बोधन गर्ने भएको माओवादी पार्टी स्रोतले जानकारी दिएको छ।

त्यस्तै नेकपा माओवादीका नेता मनऋषि धितालका अनुसार माओवादी केन्द्रका अध्यक्ष जुम्ला, कालीकोट र हुम्लामा आई चुनावीसभा सम्वोधन गर्नेछन्। नेता धितालका अनुसार  प्रचण्ड मंगलबार बिहान ९ बजे सुर्खेत आउनेछन्। सुर्खेतबाट जुम्लामा ९:५० बजे आउने भएका छन्। यसैगरी माओवादी अध्यक्ष प्रचण्डले जुम्लामा गठवन्धनको चुनावीसभा सम्वोधन गरेपछि हुम्लाको सर्केघाटमा १०:१० मा जाने तालिका छ, यसैगरी सर्केघाटबाट हुम्लाको सदरमुकाम सिमीकोट हुँदै दिउँसो १२:३० मा कालीकोट उड्ने तालिका छ।

जुम्लामा गठवन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका केन्द्रीय सदस्य  गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेशसभापति ललितजंग शाही र प्रदेश (ख)मा समाजवादीका पदम रोकाया उम्मेदवारको रुपमा छन्।