२०८१, २२ बैशाख शनिबार

राजमार्ग ठप्प : जुम्लामा हेलिकप्टरबाट राहत वितरण

जुम्ला : बाढीपहिरोले कर्णाली राजमार्ग बन्द भएपछि बाढीपीडितलाई राहत दिन सकस भएको छ। बाढी पहिरोबाट प्रभावित घरपरिवारलाई कर्णाली प्रदेश सरकारले हेलिकप्टरबाट राहत वितरण गरेको छ।

जिल्ला विपत् व्यवस्थापन समितिको पहलमा कर्णाली सरकारले जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट अत्यावश्यक सामग्री वितरण गरेको हो।

नेपाली सेनाको अगष्टा हेलिकोप्टरमा त्यस क्षेत्रमा केही राहत पुर्‍याइएको नेपाली सेनाले जानकारी दिएको छ। नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाको हेलिकप्टरले हिमा, सिंजा र कनकासुन्दरीमा केही राहत पुर्‍याएको हो।

त्यस्तै नेपाली सेनाको २४ नम्बर बाहिनीका अनुसार २६ गते कनकासुन्दरी गाउँपालिका सुन्दरीमा ४ वटा चिनियाँ पाल, ४० वटा कम्बल र एक कार्टुन डिटोल साबुन वितरण गरिएको छ। सिंजा गाउँपालिकामा २५ वटा त्रिपाल, २५ वटा कम्बल, २५ वटा प्लाष्टिक पाल पुर्‍याइएको छ। हिमा गाउँपालिकामा २५ वटा कम्बल, २५ त्रिपाल र १ कार्टुन डिटोल साबुन दिइएको छ।

त्यसैगरी असोज २७ गते हिमा गाउँपालिकामा ६० वटा त्रिपाल, एक सयवटा कम्बल‚ एक सय पाल, एक कार्टुन डिटोल साबुन पुर्‍याइएको छ। हेलिकप्टरले गते २४ गते कनकासुन्दरी र हिमाका घाइतेको उद्धार गरेको जानकारी दिइएको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले अनुसार शुक्रबार पनि हिमा र सिंजामा हेलिकप्टरले राहत पुर्‍याएको छ। उनले भने, ‘कर्णाली प्रदेश सरकारको सहयोगमा  खाद्यान्न ल्याइएको छ।’ प्रजिअ केसरीले कति संख्यामा वितरण भयो भन्ने यकिन आउन विवरण बाँकी रहेको बताए।

त्यस्तै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले निरन्तरको प्रयासले प्रदेश सरकारको सहयोगमा तत्काल हिमाका ७ वटा वडामध्ये ४, ५, ६ र ७ का लागि हिजो २५ गते कालिकाखेत्तुमा र असोज २८ गते शुक्रबार १, २ र ३ नं. वडाका लागि देवारगाउँ टापुमा हेलिकप्टरद्वारा राहत सामग्री उपलब्ध गराइएको बताए।

गत असोज १९ गतेबाट २५ गतेसम्म परेको अविरल वर्षाले हिमा गाउँपालिकामा ३८६ घर पूर्ण क्षति भएको गाउँपालिकाले जानकारी दिएको छ। यसैगरी सिंजा गाउँपालिकामा ५१ घर क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

त्यस्तै यता कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्यले पहिरोले ८ जनाको मृत्यु भएको र घरको क्षति कति भयो भन्ने तथ्यांक संकलन भइरहेको बताए।