२०८३, १७ असार बुधबार

चुनावी एजेण्डा खै ?

चुनावी तयारीका लागि दलहरुसँग धेरै समय छैन । दलका शीर्ष नेताहरु देश दौडाहामा छन् । अधिकांश आफ्ना निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार सुरु भइसकेको छ । कतिपय दलले त वडास्तरमा समेत कार्यकर्ता खटाइसकेका छन् । सभा सम्मेलन र प्रशिक्षण दिनहुँ जसो भइरहेका छन् । तर नेताहरुको भाषणमा भने चुनावी एजेण्डा कमै छन् । वैचारिक बहस, नागरिकप्रतिको चिन्ता र मुलुक बनाउने एजेण्डा उनीहरुका प्राथमिकतामा छैनन् । नेताहरुले उल्टै एकले अर्काेलाई खुइल्याउने, गाली गरेर आत्मसन्तुष्टि लिने काम गर्ने गरेका छन् । आरोप प्रत्यारोपको भाषणले मुलुक बन्दैन । मुलुक बन्ने त दलका एजेण्डाले हो । चुनावी घोषणापत्र अनुरुप काम गरे देश बन्छ । बरु पाँच वर्षमा के–के गर्न सकिएन र के कति काम गरियो भन्ने कुरा दलका नेताका भाषणमा हुनुपर्ने हो । आगामी चुनावी एजेण्डा नेता कार्यकर्ता र जनताका बीचमा लैजानु पर्ने हो । तर नेताहरुले एक अर्कालाई खुइल्याउने गरेका छन् ।
विगतमा दलहरुले दिएका आश्वासन पूरा नभएकाले जनताको उत्साह त्यति देखिदैन । स्थानीय जनप्रतिनिधि त जनताका बीचमै खटिएका छैनन् । जनताकै काम गरेका छैनन् । उनीहरुप्रति जनताको विश्वास गुमेको छ । त्यसैले निर्वाचनमा विस्तारै जनतामा उत्साह आउने नै छ । तर प्रदेश र संघका नेताहरुले भने चुनाव आएपछि मात्रै जनताको घरदैलोमा पुग्छन् । अरुबेला जनताको सेवा खासै प्राथमिकतामा पर्दैन । करनी र कथनीमा मेल नखादा जनता त्यति उत्साहित नभएका हुन् । जनताको सहभागिता विनाको निर्वाचन परिकल्पना गर्न सकिंदैन । त्यसैले जनतालाई उत्साहित तुल्याउने भनेको एजेण्डाले हो । पाँच वर्षमा एउटा पालिकामा के के गर्ने भन्ने एजेण्डा दलहरुले जनताको बीचमा पेश गर्नु पर्ने हो । तर चुनावी भाषणमा एकले अर्काेलाई हिलो छ्याप्ने काम मात्र भएको छ । घोषणा पत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अल्मलिएका छन् । राम्रो नीति कार्यक्रम नभएपछि जनताले हराउलान भन्ने चिन्ता सबै दलहरुमा छ ।