पर्यटन क्षेत्रमा लगानी बढाउँ
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रुपमा विश्वमा चित्रित छ । त्यसैमा कर्णालीलाई भर्जिन ल्याण्डका रुपमा व्याख्या गरिन्छ । यही अद्वितीय प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेको छ । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावटजस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । नेपालको परम्परागत सांस्कृतिक, ट्रेकिङ र पर्वतीय पर्यटनलाई कसरी दिगो र थप आकर्षक बनाउनु भनेको साँच्चिकै चुनौतीपूर्ण छ । संघीय संरचनामा पर्यटन क्षेत्रको विकास र विस्तार गर्नका लागि साझा एजेन्डा तय गरेर अगाडि बढ्नुपर्ने हुन्छ । तर, अहिले तीनै तहका सरकारबाट पर्यटन क्षेत्रमा लगाइने दोहोरो शुल्कका कारण पर्यटन उद्योग बढी नै मात्रामा प्रताडित हुँदै आएको छ । यसको व्यवस्थापन र रोयल्टीको बाँडफाँड तथा लगानी व्यवस्थापनको विषय चुनौतीपूर्ण छ । सेवा, सुविधा र प्याकेज रेटमा समेत एकरूपता छैन । निजी क्षेत्रबाट भएको लगानीलाई एकीकृत र सरकारी प्राथमिकताका आधारमा लगानी गर्ने कार्य अर्को जटिल विषय बनेको छ ।
पर्यटन क्षेत्रमा खपत भइरहेको खाद्यान्नलगायतका सामाग्रीहरू आयातित नै भएको हुँदा आशातीत रूपमा फाइदा लिन सकिएको छैन । पर्यटन क्षेत्रको विकासमा साहसिक खेल बन्जी जम्पिङ, हाइकिङजस्ता खेलको प्रयोग गरी पर्यटन आकर्षण गर्न सकिएन । पर्यटन क्षेत्रका साझेदारहरू एवं लगानीकर्ताहरू पर्यटन विकासभन्दा प्रवद्र्धनात्मक कार्यमा संलग्न हुँदा यस क्षेत्रको विकास हुन सकेन, स्थानीय निकायको संलग्नतामा पर्यटनसम्बन्धी नीति तय गर्न नसक्दा स्थानीय निकायले पर्यटनसम्बन्धी बन्ने नीतिमा अपनत्व भएन र प्रभावकारितामाथि प्रश्न उठ्यो, पूर्वाधार निर्माणमा प्रत्यक्ष संलग्न निकायहरू सडक, विद्युत्, सञ्चार, खानेपानीसँग समन्वयात्मक रूपमा क्रियाकलाप सञ्चालन हुन सकेन ।
पर्यटन उद्योगको विकास र विस्तार गर्न नयाँ गन्तव्य स्थलको खोजी गरी त्यसको विकास र विविधिकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्न यस क्षेत्रमा लगानी बढाउने, पर्यटन उद्योगलाई ग्रामीण तहसम्म विकास र विस्तार गर्नुपर्छ ।