२०८१, २० बैशाख बिहीबार

सधै निर्यात घाटामा नेपाल

यो सामान्य प्रक्रिया हो कि आर्थिक विकासले गति लिँदै जाँदा बढ्दो मागको सम्बोधन घरेलु उत्पादन र आयातको सम्मिश्रणबाटै गरिन्छ । अझ विश्वव्यापीकरणले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाएको छ । अन्तर्राष्ट्रिय व्यापारले विशिष्टीकरणलाई मलजल गरिरहेको छ । संसारका मुलुकहरूले तुलनात्मक लाभका आधारमा वस्तु तथा सेवाको आयात र निर्यात गरिरहेका छन् । जुन वस्तुको उत्पादन देशभित्र हुदैँन, सो वस्तुको आयात गरी पूर्ति बढाउँछन् । आफ्नो देशमा जुन वस्तुको उत्पादन हुन्छ सो वस्तुको निर्यात गर्छन् । यो दोहोरो प्रक्रियाले अन्तर्राष्ट्रिय व्यापार सन्तुलनमा रहन्छ । विश्वव्यापीकरणका कारण आज संसारका सबै देशको उपभोग आयातित वस्तुमा निर्भर रहेको छ । तर, यो निर्भरता तुलनात्मक र पारस्पारिक लाभका आधारमा हुन्छ ।
विश्वका मुलुकहरूले कुनै न कुनै व्यवसायमा (कृषिउपज, सवारीका साधन, लत्ताकपडा, औषधि–उपचारका साधन, निर्माण सामग्री, कम्प्युटर, मोबाइल फोन, रेफ्रिजेरेटर, टिभी), पर्यटन, पेट्रिलियम, कोइला, हवाई यातायात, सेवा आदि क्षेत्रमा विशिष्टीकरण गर्न सफल छन् । यी मुलुकहरूले उपभोगका निमित्त जति आयात गर्छन् त्यति नै निर्यात पनि । यसले व्यापार सन्तुलित राख्न सहयोग गरेको छ । नेपालमा यो मान्यताले कार्य गरिरहेको छैन । उपभोगका निमित्त आयात गरिन्छ, तर निर्यातका निमित्त सम्भावित स्रोतको विकासका निम्ति कदम चालिँदैन । चुरे पर्वतमा रहेको ढुंगा, माटो र बालुवाको अन्धाधुन्ध दोहन गरी निर्यात गरिन्छ । भविष्यमा यसले पार्न सक्ने असरका बारेमा लेखाजोखा गरिँदैन । यही वर्षको मधेस डुबान हुनुमा अव्यवस्थित ढंगबाट दोहन गरिएको ढुंगा, माटो र बालुवाको निर्यात धेरै कारणमध्ये एक कारण हो भन्न सकिन्छ । मधेसका उर्वर जग्गाहरूमा प्लटिङ गरेर बझ्याइन्छ अनि चामलको आयात गर्ने गरिन्छ । नेपालमा निर्यातयोग्य स्रोतसाधनहरू पर्याप्त छन् । उदाहरणका निम्ति औषधि, उद्योग, जलविद्युत्, पर्यटन आदि । नेपालले यी क्षेत्रको विकास गरी विशिष्टीकरण गर्न सक्छ ।