२०८१, ७ बैशाख शुक्रबार

बनाई नसक्दै भत्कियो सुर्खेतको नाला

सुर्खेत : वीरेन्द्रनगर नपा-१२ मा निर्माणाधीन नाला काम नसकिँदै भत्किएपछि स्थानीय बासिन्दाले आक्रोश पोखेका छन्।

स्थानीय बासिन्दाले सरकार‚ निर्माण कम्पनी र पूर्वाधार विकास निर्देशनालयको लापर्वाहीले कमजोर निर्माण भएको बताएका छन्।

हटलाइन सडकअन्तर्गत औद्योगिक क्षेत्र टोलदेखि नेवारेसम्म निर्माणाधीन करिब ५ सय मिटरमध्ये ५० मिटरभन्दा बढी नाला बुधवार भत्किएको हो।

नाला भत्किएपछि निर्माण कम्पनी तथा ठेकेदार र सरकारी प्राविधिकप्रति विभिन्न आरोप लगाउँदै आलोचना बढेको छ।

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही र भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले भत्किएको नालाको शुक्रवार निरीक्षण गरेका छन्।

नाला भत्किनुको कारण पत्ता लगाई निर्माणमा कमी कमजोरी गर्ने ठेकेदार र प्राविधिक दुबैलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ।

नाला निरीक्षणका क्रममा भौतिक पूर्वाधार मन्त्रालयका सचिव प्रेमदत्त भट्टले निर्माण कम्पनीले आफूखुसी काम गरेकाले नाला भत्किन पुगेको तर्क गरे।

निर्माण कम्पनीका साइड म्यानेजिङ डाइरेक्टर रामलालनाथ योगीले प्राकृतिक प्रकोपका कारण नाला भत्किए पनि सरकारी प्राविधिकको दबावमा काम गर्नुपर्दा स्टमेटभन्दा बाहिर जाँदा नाला भत्किएको स्विकारेका छन्।

आरसीसी नाला बनाउनुपर्ने प्लम नालाको ०.५ मिटर स्टमेट गरिएको र त्यही पनि सरकारी प्राविधिकको दबावमा सडक लेभलमा नाला बनाउन खोज्दा समस्या आएको निर्माण कम्पनीका सुपरभाइजर शालिकराम आचार्यले बताए।

उनका अनुसार पूर्वाधार विकास निर्देशनालय सुर्खेतको ६ वटा प्याकेजअन्तर्गत करिब १ करोड लागतमा विद्या एण्ड कालिका निर्माण सेवाले ठेक्का लिएको हो।

चैतबाट निर्माण शुरु भएको उक्त नाला असार मसान्तमै सम्पन्न हुनुपर्ने थियो। मापदण्ड नपुर्‍याएका कारण नाला बीचैमा भत्किएको पूर्वाधार विकास निर्देशनालय सुर्खेतका इन्जिनियर सूर्य शाहीले बताए।