२०८१, २३ माघ बुधबार

नेपाली हातले बनाएको फुरु चीनको तिब्बतमा लोकप्रिय

सुर्खेत : हिमाली क्षेत्रमा पाइने जंगली काठबाट बनाइने भाडा फुरु (कचौरा)को माग तिब्बतमा निकै बढेको छ । चीनमा काठको भाडाको माग उच्च रहेको कारणले माग बढेको हो ।
तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडालाई फुरु भनिन्छ । यो भाँडो तिब्बतमा काठको कपका रुपमा बिक्री हुन्छ । यहाँको विभिन्न जंगलमा पाइने सो काठबाट भाँडा निर्माण गरेर पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका तामाङ र लामा जातीले तिब्बतमा लगेर बिक्रि गर्दै आएका छन् ।
चिनको हिल्सा, ताक्लाकोट लगाएतका ठाउँमा काठको भाडाका माग उच्च रहेको र एउटै फुरुको पाँच हजारदेखि १५ हजार रुपैयाँसम्म मूल्य पर्ने गरेको एउटा व्यापारी हुम्ला नाम्खा गाउँपालिका–५ का कल्पना तामाङले बताइन् । ‘कृषि पेसा गर्न पर्याप्त जमिन नहुँदा फुरुकै आम्दानीले जीविकोपार्जन गर्दै आएको छौं ।’ उनले भनिन्,‘तिब्बतमा जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभकार्यमा शौख र शानको प्रतीकका रुपमा फुरुलाई लिने गर्दछन् ।’
पश्चिम नेपालका हिमाली जिल्लाहरु हुम्ला र बझाङ, मुग डोल्पा र दार्चुलाका स्थानीयले ताक्लाकोट लगाएतका तिब्बती बजारमा नेपालीहरुले वर्षौंदेखि फुरु, गलैँचा, जडीबुटीलगायत हस्तकलाका सामान बिक्री गर्दै आएका छन् ।
नेपालीहरुले चिनियाँ बजारमा दैनिक उपभोग्य सामान, चामल, मैदा र तयारी कपडा नेपालमा ल्याउने गरेका सीमावर्ती जिल्लाका बासिन्दा आफूहरूले उत्पादन गरेको कृषि, हस्तकला र पशुजन्य उत्पादनलाई तिब्बती बजारमा लिएर बेच्ने गरेको हुम्लाका सिमिकोट गाउँपालिका स्थानीय ग्याल्बो लामाले बताए । ‘नेपालीले चीनको तिब्बतमा फुरुको ब्यापार राम्रो छ । फुरु लगाएतका सहज पहुँचका लागि पहल गरिदिए आर्थिक रुपमा समृद्ध हुने आशामा छन्,’ उनले भने, ‘हिन्दू, बौद्ध र बोन्बो धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर ताक्लाकोट नजिकै पर्छ । त्यहाँ फुरुको धेरै ब्यापार हुने गरेको छ ।’
पहिला तिब्बती बजारमा नेपालबाट गएको फुरु बेच्न सजिलो थिएन । तिब्बतको स्थानीय सरकारले नेपाली हस्तकलाका सामानमा भन्सार तिर्न नपर्ने प्रावधान बनाएसँगै यसको कारोबार बढेको हुम्लाका कार्मा तामाङले बताए । ‘बार्षिक करोडौँ रुपैयाँ मूल्यको फुरु नेपालबाट तिब्बततर्फ निकासी भइरहेको छन् ।’ उनले भने,‘यार्सागुम्बा, वनलसुन, कटुकी, सतुवा, पाँचऔँले लगायतका जडीबुटी ठूलो परिमाणमा निकासी हुने गरेको छ ।’
यस्तै, निगालोबाट बनेका सामान, मह, घ्यू, छुर्पी, खुर्सानी लगायतका सामान पनि चौरी, भेँडा र खच्चरमार्फत ढुवानी गरी ताक्लाकोटमा बेच्ने गरिएको बझाङ् काँडा गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘बझाङ, दार्चुला र मुगुका वासिन्दाले समेत तिब्बततर्फ होजियारी, नेपाली गलैँचा, बाँस, निगालो, छाला र अन्य हस्तकलाका सामान ताक्लाकोट, लुक्पु, खोचेर, लुकोट लगायतका तिब्बती बजारमा बिक्री गर्दै आएका छन्,’ उनले भने,‘भारत, नेपाल र चीनको भूभागसँग जोडिएको यस क्षेत्रलाई पछिल्लो समय त्रिदेशीय व्यापारिक केन्द्रका रुपमा विकास गर्न चिनियाँ सरकारले अत्याधुनिक संरचना निर्माण गरिरहेको छ ।’
हुम्लाको हिल्सा, दार्चुलाको तिङ्कर र बझाङको उरै भञ्ज्याङ नाकालागएतका तिब्बतका बजारहरुमा भएर बर्सेनि अर्बौं आर्थिक कारोबार हुने गरेको छ ।
आम्दानीको स्रोत बन्न सक्छ फुरु
फुरुको प्रयोग पश्चिम नेपालका हिमाली जिल्ला साथै अति चिसो हुने तिब्बतमा अत्यधिक माग रहेको छ ।
यसैले पनि हुम्लाका फुरु ब्यापारीहरुले देश विदेशबाट यसको ब्यापारका लागि वर्षेनी करोडौं रकमको ब्यापार गर्ने गरेको, यो व्यवसायमा हुम्ला नाम्खा गाउँपालिका ८० प्रतिशत युवाहरु लागेका र यसैले पनि यिनीहरुको आम्दानीले गर्दा गाउँदेखि शहरसम्म राम्रो लगानी गर्न सफल भएको नाम्खा गाउँपालिका– ५ का जेष्ठ नागरिक छार्केप लामाले बताए ।
फुरु ब्यापारबाटै दैनिक एक लाख कमाई
कोरोना अघि ६ महिनाका लागि चीनको ताक्लाकोट जानु भएका हुम्लावासीको फुरु (काठको भाँडा) ब्यापार फस्टाउदै गएको पाईएको छ । कोरोनाको कारण हिल्सा नाका बन्द हुँदा अन्य ब्यापारी जान नपाउने र उता रोकिने ब्यापारी थोरै भएपछि फुरु ब्यापारबाट कमाई राम्रो हुने गरेको हो ।
दुई वर्षदेखि चीनको पुराङ काउण्टीको ताक्लाकोटमा फुरु ब्यापार गर्दै आएका ठोक्याल लामाले हाल दैनिक एक लाख रुपियाँको कमाई हुने गरेको बताए ।
२०७६ साल जेठ महिनामा उनी लगायतको टोली ताक्लाकोटमा ब्यापार गर्न गएको थियो । उक्तवर्ष कात्तिक महिनामै हिमपात भएको कारण हुम्ला फर्कन उनीलगायत १४७ जना हुम्लावासीले पाएनन् ।
त्यसपछि लगत्यै कोरोना कहर सुरु भएको थियो । उनले ताक्लाकोटबाट हुम्ला फिर्ता आउन नपाउने भएपछि फुरु ब्यापारतर्फ लागेको बताए । ‘एउटा राम्रो खाले फुरुको मुल्य १० देखि ४० हजारसम्म पर्छ । नाका बन्द भएपनि ब्यापार राम्रो भएकोले खुशीका साथ ताक्लाकोटमा बसेका हौं । अहिले ९८ जना हुम्लाका ब्यापारीले यो ब्यापार गर्दै आएका छन्,’ लामाले भने ।
लामाले सबैको ब्यापार जोड्दा दैनिक डेढ करोड रुपियाँसम्म कमाई हुने गरेको पनि बताए । उनले सबैको कमाई राम्रो भएको कारण सिमकोटदेखि सुर्खेत र काठमाडौंमा घरघडेरीको ब्यवस्था गर्न ब्यापारी सफल भएको बताए ।
ताक्लाकोटमा रोकिएका मध्य ४९ जनाले भने मजदुरी काम गर्दै आए छन् । दुई वर्षयता नाकाबन्द रहेकोले अन्य हुम्लावासी भने रोजगारीका लागि ताक्लाकोट जान पाएका छैनन् । नाकाबन्दी अघि वर्षमा दुई हजार हुम्लावासी ब्यापार तथा रोजगारीका लागि ताक्लाकोट जाने गर्दथे ।