२०८१, २९ आश्विन मंगलवार

राउटेले तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएनन्

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएका राउटेले तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट जिल्ला र सुदुरपश्चिमको अछाम जिल्लामा बसाइसराई गर्ने राउटे जातीले तीन महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
जाजरकोटको छेडागाड नगरपालिका–२ सुयडापछि एक हप्ताअघि दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघरचौर पुगेका राउटेलाई दैलेखको गुराँस गाउँपालिकाले विगतमा सामाजिक सुरक्षा भत्ता दिदैँ आएको थियो ।
राउटेका ४६ परिवारका १ सय ४४ जनाले वैशाख, जेठ र असार महिनाको सामाजिक सुरक्षा भत्ता नपाएको राउटे समुदायका महामुखिया महिनबहादुर शाहीले बताए । ‘महिनैपिच्छे दिइनुपर्ने सामाजिक सुरक्षा भत्ता तीन महिनासम्म पाएका छैनौं ।’ उनले भने,‘सामाजिक सुरक्षा भत्ता नपाउँदा मेरो जनताले दुःख पाएका छन् ।’
करार कर्मचारीको आन्दोलनका कारण राउटेलाई भत्ता वितरणमा ढिलाई भएको गुराँस गाउँपालिका वडा नम्बर ८ का सचिव सुस्मिता खड्काले बताइन् । ‘२०७४ असारदेखि गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो ।’ उनले भनिन्,‘उनीहरु जहाँ पुग्छन् त्यही गएर भत्ता वितरण गर्न गरेका छौं ।’
घट्दो जनसंख्या
जंगलमा फिरन्ते जीवन बिताउने राउटेहरुको जनसंख्या घट्दो अवस्थामा रहेको छ । २०५८ सालको जनगणनामा १८० जना जनसंख्या रहेको राउटे जातीमा हाल १४४ जना रहेका छन् । २०६८ सालको जनगणनामा १६६ जना जनसंख्यामा रहेकोमा २०७४ सालमा गुराँस गाउँपालिकाले तथ्याङ्क संकलन अनुसार १४९ जना रहेकामा अहिले १ सय ४४ जनामा जनसंख्या झरेको छ ।

किन एकै ठाउँमा बस्दैनन
फिरन्ते जीवन बिताउन थालेका राउटे हरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिड्ने संस्कारले गर्दा उनीहरू एकै ठाउँ बस्दैनन् ।
मान्छे मर्नेबित्तिकै त्यस ठाउँलाई अशुभ ठानेर उनीहरू नयाँ ठाउँको खोजीमा हिड्ने गरेको राउटेसँग काम गरिरहेका दैलेखका पत्रकार भक्तबहादुर शाह बताउँछन । ‘नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छ ।’ उनी भन्छन्,–‘राउटे बास सरेपछि अर्को ठाउँको अध्ययन गरी उपयुक्त ठाउँको छनोट गर्दैनन् । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठान्छन् ।’
रितिरिवाज
राउटे पुरुषले टोपी, फेटा, लंगौटी, कछाड, साडीको गादो लगाउने गर्दछन् भने महिलाहरूले चोली, फरिया, गादोका साथै फलाम र पित्तलका गहना पनि लगाउँछन् ।
उनीहरु बिषेश गरेर देवतामा मस्टो र भुयार कुलदेवताको पूजा गर्ने गरेको हिन्दु धर्म मान्ने गरेका, माघी र दशैँ मान्ने गरेको दैलखका पुराना राजनीतिज्ञ भत्तबहादुर शाहले बताए ।
राउटेको मुख्य मान्छे मुखिया
राउटे समुदायमा मुख्य मान्छेलाई मुखिया भन्निछ । उनीहरु मुखियाको निर्देशनमा चल्ने गरेका छन् । पहिले एक जना मात्र मुखिया हुने गरेमा अहिले राउटेहरुको प्रचलित थरहरू चाहिँ ‘कल्याल’, ‘रास्कोटी’, ‘सोवंशी’का फरक फरक ३ जना मुखिया र एक मुख्य मुखिया रहेका छन् । मुख्य मुखिया ऐनबहादुर शाहीको गत माघमा दैलेखको डुगेश्वरमा भीरबाट लडेर मृत्यु भइसकेको छ भने अहिले जातीका आधारमा सूर्यनारायण शाही, वीरबहादुर शाही र डिलबहादुर शाहीले मुखिया रहेका छन् ।