२०८०, १८ आश्विन बिहीबार

सुर्खेत जेलब्रेकको अन्तरकथा– योजना गोप्य राख्न बन्दीलाई नै बेहोस पारियो

‘आठ दिन लगाएर खनेको सुरुङको बाहिर निस्कने मुख खोल्न मात्र बाँकी थियो । त्यत्तिकैमा प्रमुख जिल्ला अधिकारीसहितको टोली जेल निरीक्षण गर्न आयो,’ झकबहादुर त्यसदिनको योजना गोप्य राख्न गरिएको प्रयत्न सम्झन्छन् र थप्छन्, ‘उनीहरुले भित्र आएर नै जाँच्न थाले, हामी योजना भताभुंग हुने डरमा थियौँ । तर, हामीले अनेकौँ प्रश्न तेस्याउँदै उनीहरुलाई भुलायौँ रसुरुङतिर आउन नदिई उतैबाट फर्कायौँ । त्यसदिन सिडिओेसित वैचिारिक बहस नगरिएको भए उनीहरुले खन्दै गरेको सुरुङ देख्थे ।’ राजनीतिक कार्यकर्ता रहेका मल्ललाई कर्मचारीहरुसँग बहस गर्न के गाह्रो हुन्थ्यो र ? राजनीतिक प्रशिक्षणले पोख्त उनी थप्छन्, ‘उनीहरुलाई आच्छु–आच्छु नै पारियो ।’

माओवादीले दाङ सदरमुकाम घोराहीमा आक्रमण गरेपछि तत्कालीन सरकारले २०५८ मंसिर ११ देखि देशमा संकटकाल लगाएको थियो । माओवादीविरुद्ध लागेको संकटकालले बाहिर बसेका मात्र होइन, जेलभित्र पनि माओवादी कार्यकर्तामाथिको निगरानी ह्वात्तै बढेको थियो ।

झकबहादुर त्यसदिनको घटना सम्झ्न्छन्, ‘जेल निरीक्षण गर्न आएको टोली जेल सुरक्षाका लागि भन्दै केही सुरक्षा सेन्ट्री पोस्ट थप्न लगाएर फर्के । एउटा पोस्ट त हामीले सुरुङको मुख निकाल्ले भनेकै ठाउँमा स्थापना भयो । त्यसपछि त्यत्रो जोखिम र मिहिनेत गरेर खनेको करिब ४० फिट लामो सुरुङबाट तत्काल बाहिर निस्कने हाम्रो योजना असफल भयो । सुरक्षा पोस्ट थपेपछि हामी सम्भावित अरु विकल्पको खोजीमा लाग्यौँ ।’ सुरुङ खन्दा निस्किएको माटो उनीहरूले सुत्ने विस्तारामाथि राखेका थिए । त्यसले झकबहादुरको योजना गोप्य राख्न सहयोग पुगेको थियो ।

जेलब्रेकको योजना, निर्माण र कार्यान्वयनमा समेत गलत चिन्तन, व्यवहार, प्रवृत्ति प्रसस्तै देखिएको स्मरण छ उनीसँग । ‘राजनीतिक आस्थाका बन्दीहरुमा समेत आत्मसुरक्षावादी चिन्तन देखिन्थ्यो । कतिपय साथीले त जेलब्रेक नै नगर्ने पक्षमा कुरा राख्नुहुन्थ्यो । तर, म त्यो हतासाबाट प्रभावित हुँदै भइनँ,’ उनले जेलभित्रकै संघर्षको कथा सुनाए । ‘बरु, मेरो मानसपटलमा महान् नेता लेनिनले ‘तिमीहरुको पर्खालबाहिर जतिसुकै डरलाग्दो देखिए पनि त्यो यसरी मक्किइसकेको छ कि, रुसी जनताले एकलात हान्नासाथ गल्र्यामगुर्लम्मै ढल्छ’ भनेको कुरा घुमिरहेको थियो । यही आशा र विश्वासका साथ म अगाडि बढिरहेको थिएँ र कमान्डरको नाताले हाम्रो योजनामा सहभागी साथीहरुलाई विश्वासमा लिइरहेको थिएँ ।

‘हामी हरेक दिन पालैपालो सुरुङभित्रबाट बसेर प्रहरी आफ्नो पोस्टमा बसे–नबसेको र बाहिरको वातावरण हेथ्र्यौँ । सुरुङको मुख निकाल्ने ठाउँमा हामीले सानो प्वाल पारेका थियौँ र त्यहीँबाट हेर्ने गथ्र्यौँ,’ उनले त्यो वेलाको अनुभूति सुनाए, ‘त्यहाँबाट बाहिरी गतिविधि सबै थाहा हुन्थ्यो । बरु अक्सिजनको अभावले दुई घन्टा सुरुङमा बस्न सकिँदैनथ्यो । सास फेर्न पनि गाह्रो पो हुन्थ्यो । तैपनि हामीले बनाएको योजना सफल पार्न ती सबै चुनौतिको सामना गर्न हामी मानसिक रुपमा तयार थियौँ । कठीन घडीमा पनि नआँत्तिने कम्युनिस्टहरुको चरित्र नै हो ।’

जेलमा रहँदा भाग्नका लागि तीनवटा विकल्प सोचेको झकबहादुर सम्झन्छन् । एक, दुई, तीन गर्दै उनले सुनाउन थाले, ‘एक– ठूलो पानी परेको वेला प्रहरीको ड्युटी पोस्ट खाली हुन्थ्यो र त्यसै दिन दिन भाग्ने । दोस्रो– यो विकल्प पनि कहाँ कमजोर थियो र ? दोस्रो विकल्पमा थियो प्रहरीमाथि आक्रमण गरेर भाग्ने । यी दुवै विकल्प असफल भए पार्टी सम्पर्कमार्फत बाहिरवाट जेलमा आक्रमण गर्न लगाउने र भाग्ने तेस्रो विकल्प थियो ।’

मैले दोस्रो विकल्प सुन्नुबित्तिकै प्रश्न गरेको थिएँ– जेलभित्रै प्रहरीमाथि आक्रमण सम्भव थियो र ? तेस्रो योजना सुनाएपछि मात्र बल्ल मेरो प्रश्नको जवाफतर्पm लागे । ‘दोस्रो र तेस्रो विकल्प त्यति सहज थिएन, त्यसैले हामीले पहिलो विकल्पलाई नै जोड दियौँ । र, वर्षा हुने दिनको प्रतीक्षामा बस्यौँ । प्रतीक्षा गर्दागर्दै दुई साता बित्यो । त्यसै वेला अचानक समस्या आयो ।’

‘कस्तो समस्या ?’ मैले सोधिहाले । उनले तत्कालै सुनाए, ‘कडा सुरक्षा निगरानीबीच पनि ४० फिट लामो सुरुङ खनेर सकिनै लागेको थियो । हामी कुनै पनि बेला भाग्ने तयारी गरिरहेका थियौँ । त्यसै वेला एक बन्दीले अचानक योजनाहरु छताछुल्ल पार्न थाले । त्यसै दिन सुर्खेत जेलब्रेकको योजना तुहिनै लागेको थियो । एकाएक ती बन्दीलाई नै बेहोस बनाएर योजना सार्वजनिक हुनबाट बचायौँ ।’ सबैको सल्लाहमा ती बन्दीलाई बेहोस हुने औषधि खुवाएको, तर केही भइहाल्छ कि भनेर डराएको उनी सम्झन्छन् ।

को थिए ती बन्दी ? मेरो प्रश्न थपियो । ‘शेरबहादुर दर्लामी, उनी ज्यान मुद्दामा सजाय भोगिरहेका थिए । कुलबहादुर दर्लामी पनि ज्यान मुद्दाको सजाय काटेर उनीसँग एउटै कोठामा बस्थे । उनीहरुकै कोठाबाट जेलब्रेकका लागि सुरुङ खनेका थियौँ । राजनीतिक आस्थाका बन्दी नभए पनि हाम्रो योजनामा उनीहरु पूर्ण सहमत थिए,’ झकबहादुर जेलब्रेकको योजनामा दर्लामी बन्धुको योगदान सम्झन्छन्, ‘हामीले सुरुङ खनिसकेका थियौँ, तीन सातादेखि भाग्ने अनुकुल वातावरणको प्रतीक्षामा थियौँ । तर, २०–२२ दिनमा शेरबहादुरमा अचानक मानसिक समस्या देखियो । उनी चिच्याएर भकाभक जेलब्रेकका योजना सुनाउन थाले । जेलब्रेकमा लागेका अरु बन्दीहरू डराउन थाले । शेरबहादुरलाई कसरी कन्ट्रोल गर्ने ? त्यसैवेला एकजना बन्दीले आपूmसँग निद्रा लाग्ने औषधि भएको सुनाए । त्यही औषधि खुवाएर शेरबहादुरलाई बेहोस् बनाउने निर्णय गर्यौँ र खुवायौँ ।’ त्यस दिन शेरबहादुरलाई बेहोस नपारेको भए त्यसै दिन प्रहरीले सबै योजना थाहा पाउँथे र आपूmहरूको मृत्युसमेत हुन सक्ने उनले अड्कल काटे ।

आठ घन्टापछि शेरबहादुरको होस खुल्यो । त्यसपछि उनले त्यस्तो हर्कत कहिल्यै देखाएनन् । ‘तैपनि हामी डराएका थियौँ, चिन्तित थियौँ,’ झकबहादुर भन्छन् ।

आफ्नै घरको मकैवारीबाट विद्यार्थी नेता बिन्दमान विष्टसँगै गिरफ्तारमा परेका मल्ल त्यतिवेला २२ वर्षका मात्र थिए । २५ दिन हिरासतमा बिताए । त्यसपछि अवैध हतियारको मुद्दामा जेल चलान भए । जेलमा कानुनले दिएको सुविधा नपाएको भन्दै जेल प्रशासनविरुद्ध आमरण अनशनसमेत बसे । ‘कम्युनिष्टहरु जेललाई संघर्षको टेन्चका रुपमा लिने गर्छन् । यो कुरा मलाई राम्ररी थाहा थियो । त्यसैले त जेलभित्रका पंखालगायतका फलामे छड नै सुरुङ खन्ने औजारका रुपमा प्रयोग गर्यौँ,’ चालीस फिट लामो सुरुङ खन्ने औजारबारे खुले उनी ।

झकबहादुर भन्छन्– यस्ता रहे जेलब्रेकपूर्वका केही घन्टा

‘शेरबहादुरको समस्या हल भएपछि हामी अनुकुल वातावरणको प्रतीक्षामा थियौँ । यस्तैमा पुसको अन्त्यतिर हाम्रो योजनामा नयाँ मोड आयो, तर सकारात्मक,’ झकबहादुर त्यो शुभ समाचार खोल्छन्, ‘हाम्रा हरेक आन्दोलनको विरोध गर्ने जेलका नाइके पुनाराम घर्ती पनि त्यस दिन हामीप्रति सकारात्मक भए । उनले अन्तिम समयमा निर्णायक भूमिका खेले । उनले समर्थन जनाएपछि हाम्रो योजना सफल हुनेमा झन् ढुक्क भयौँ । केही बन्दीचाहिँ आतंकित नै थिए ।’

नाइके घर्तीले त्यसवेला हामीबारे अरु बन्दीहरुसँग भनेका थिए, ‘यिनीहरु व्यक्तिगत स्वार्थका लागि होइन, देश र जनताका लागि लडेका छन् । यिनीहरु गएका कारणले दुःख भयो भने म जिम्मा लिन्छु ।’ नाइकेले यति भनेपछि सबै बन्दीले हामी भाग्ने वेलासम्म कुनै सूचना बाहिर नलैजाने सहमति गरेका थिए । तर, आफ्नो कैद सकिन दुई महिना मात्र बाँकी रहेकाले नाइके घर्र्तीले आफूचाहिँ नभाग्ने बताएका थिए ।

‘जेलमा ६० जना बन्दी थियौँ र तीमध्ये ३० जना मात्र जेलबाट भाग्न तयार थिए । जसमध्ये १५ जना हामी राजनीतिक आस्थाका बन्दी थियौँ र अरु १५ जना विभिन्न मुद्दामा जेल परेका थिए,’ उनले जेलभित्रको बन्दीको अवस्थाबारे बताए । राजनीतिक आस्थाका बन्दी सबै भाग्ने पक्षमा नै थिए ।

‘०५८ माघ २ गते बिहानदेखि ठूलो पानी परेको थियो । हामीले बिहानै जेलको मूलगेटमा गएर हेर्यौँ । झरी परिरहेकै थियो । त्यस दिन जेलब्रेकको साइत जुर्ला जस्तो लागेको थियो,’ जाडो महिनाको सुनसान साँझको स्मरण गर्दै उनी थप्छन्, ‘साँझसम्म नै पानी पर्यो । झिमझिम पानी र बादलको कारण प्रहरीहरु ड्युटी पोस्ट छाडेर अन्यन्त्र सुत्न गएका रहेछन् । प्रहरी पोस्टमा नभएपछि हामी खुसी भयौँ । ड्युटी पोस्टमा प्रहरी बस्न बिछ्याएको कपडा उठाउँदै गरेको देख्यौँ । र आज सम्भावना बढ्यो भनेर आकलन गर्दे रातको प्रतीक्षा गर्यौँ ।’

त्यही राति ८ बजेबाट सुरुङ सफा गर्न थालेको र ११ बजेतिर सुरुङभित्र पसेको उनले सुनाए । ‘सुरुङको मुख खोल्ने ठाउँको माटो प्रहरी बस्दा–उठ्दा चट्टान जस्तो भएको रहेछ, मुख खोल्न निकै गाह्रो भएको थियो,’ झकबहादुरले भने, ‘राति ११ बजेबाट सुरुङको बाहिरी मुख खोल्न सुरु गरेको, सवा एक बजे मात्रै सकियो । निकै हतारमा काम गर्नुपर्यो । त्यस दिन ढिला हुँदा जेलब्रेकको सपना त्यहीँ तुहिन सक्थ्यो ।’

सुरुङको मुख खोल्ने काम सकिएपछि स–साना सामान मात्र लिएर पालैपालो बन्दीहरू बाहिर निस्किए । जेलमा बस्दा लेखेका रचना मात्र सँगै लिएर निस्किएको उनले सुनाए । ‘सुरुङ सानो भएकाले ठूला सामान निकाल्न पनि मुस्किल पथ्र्यो,’ सुरुङबाट घस्रँदै निक्लँदाको अनुभूति उनले यसरी सुनाए, ‘राति एक बजेर २५ मिनेटमा बाहिर निस्कन सुरु गरेका थियौँ, १० मिनेटमै ३० जना बन्दी बाहिर निस्कियौँ । माघको चिसोमा मस्त निद्रामा रहेका प्रहरीले हामी निस्केको सुइँको समेत पाएनन् ।’

हुन त २ पुसमै सुरुङ खनिसकेका थिए । तर, सुरुङमाथि नै सुरक्षा पोस्ट भएकाले अनुकूल अवस्था पर्खन एक महिना कुर्नुपरेको झकबहादुर सम्झन्छन् । २ माघको दिन पनि ठूलो पानी परेको वेला सेन्ट्री नबसेको मौकामा जेल तोडेर निस्किएको उनले बताए ।

पालैपालो निस्किएका उनीहरू जेलको बाहिरी पर्खालमा भेला भए । सबैजना जम्मा भएपछि मात्र पूर्वयोजनाअनुसार एकैपटक दौडिए ।

उनीहरू निस्किएको एक घन्टापछि भित्रै रहेका बन्दीहरुले जेल प्रशासनलाई खबर गरेछन् । त्यो पनि झकबहादुरहरुकै योजनामा थियो । खबर सुन्नासाथ प्रहरीले अँध्यारोमा अन्धाधुन्ध गोली चलाउन थाल्यो । त्यतिवेलासम्म एक किलोमिटर टाढा पुगिसकेका झकबहादुरहरुले सतर्क भएर भाग्न थाले ।

‘प्रहरीको गोली आएपछि बन्दीहरु अलि हतारमा भागे र त्यति वेला दुईजना साथी त हाम्रो समूहबाट छुटेछन्,’ उनले त्यतिवेलाको अवस्था समेट्न थाले र भने, ‘तर कोही गिरफ्तारीमा परेनन् । सकुसल बाहिरी घेरा पनि तोडियो र अर्को दिन बिहानै पार्टी सम्पर्कमा पुग्यौँ । जेल परेको १७ महिनापछि छुट्यौँ ।’ जेल तोड्ने दुईजनाको युद्धकालमै मृत्यु भयो ।

शेरबहादुरबारे

मैले सोधेँ, ‘शेरबहादुर कहाँ छन ?’

‘हामीले जेलब्रेक गरेको अर्को दिन शेरबहादुर घर पुगेछन् । घरमा त उनी आएको देखेर मानिसहरु अचम्ममा परेछन्,’ झकबहादुरले भने, ‘ज्यान मुद्दामा जेल परेको मान्छे कसरी आयो भन्दै घरका मान्छे डराएछन् र भागेछन् । जेल तोडेर आएको बताउँदा पनि घरका मान्छेले विश्वास गरेनछन् । यो समाज कस्तो छ है ? घटना विवरण जान्न पनि खोज्दैनन् ।’

श्रीमतीको हत्या गरेको आरोपमा शेरबहादुर जेल परेका थिए । जेलपरेको मान्छे अचानक आउँदा घरका मान्छे र गाउँले डराएर ऊनजिक परेनछन । उनीसँग कुरा गर्न पनि मानेनछन् । ‘के सोचे ! घर पुगेको अर्को दिन आत्महत्या गरेछन्,’ झकबहादुर भावुक भए ।